
काठमाडौं। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आफूले जस लिन नियमित प्रक्रियामा हुने कामलाई नै उपलब्धि देखाएका छन्। मन्त्रालयको कार्यभार सम्हालेको १०० दिन पुगेका अवसरमा प्रगति विवरण सार्वजनिक गर्दै मन्त्री भण्डारीले नियमित विषयलाई नै उपलब्धिका रूपमा सामेल गरेका छन्। उपलब्धिमा उनले कानुन सुधारलाई मुख्य प्राथमिकतामा राखेका छन्।
सार्वजनिक विवरणमा सबै पुराना काम र नियमित प्रक्रियामा हुने काम समावेश छन्। उनले प्रस्तुत गरेको प्रगति विवरणको ९० नम्बरमा विभागबाट ७२८ वटा क्यालिब्रेसन सेवा प्रदान गरिएको उल्लेख गरेका छन्। जुन विभागले नियमित गर्ने काममा पर्छ।
उद्योग प्रशासनलाई संघीय ढाँचा अनुरूप कार्यान्वयनमा लैजान कोशी र गण्डकी प्रदेशका कर्मचारीको क्षमता अभिवृद्धि एवम् ज्ञान हस्तान्तरण कार्यक्रमलाई पनि उनले उपलब्धिमा समेटेका छन्। नेपालले विश्व व्यापार संगठनको सदस्यता प्राप्त गरेको २० वर्ष पुगेको अवसरमा सरकारी तथा निजी क्षेत्रका पदाधिकारी/प्रतिनिधिहरूसँगको अन्तर्क्रियालाई पनि उनले उपलब्धि विवरण भनेका छन्।

मन्त्रालयबाट सम्पादित नियमित प्रशिक्षण पनि मन्त्रीको उपलब्धि सूचीमा छ। दमक उद्योग वाणिज्य संघसँगको सहकार्यमा सञ्चालित जुत्ता, खेलौना, किरिङ, क्याट हाउसजस्ता बस्तु उत्पादन तथा डिजाइनसम्बन्धी १५ दिने तालिम पनि मन्त्रीको उपलब्धिको सूचीमा छ। गजुरी नगरपालिकाको समन्वयमा सञ्चालित अल्लो, केरालगायतका प्राकृतिक रेसाबाट वस्तु उत्पादनसम्बन्धी १५ दिने तालिम पनि मन्त्री भण्डारीको प्रगति विवरणमा समावेश छ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले गरेका हाते कागजबाट बनाइने डायरी, फोटो प्रेम, फाइल, पेन होल्डर, ज्वेलरी बक्स आदिको डिजाइनसम्बन्धी तालिम पनि उनको उपलब्धिमा उल्लेख छ। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानबाट सम्पन्न उद्यमशीलता विकाससम्बन्धी १५ दिनको प्रशिक्षक प्रशिक्षण (टीओटी) तालिमलाई उपलब्धि सूचीमा छ।
गुणस्तर परीक्षणका लागि ९८५ वटा नमुना सङ्कलन तथा विश्लेषण गरिएको, रासायनिक तथा भौतिक जाँच विश्लेषणजस्ता नियमित कामलाई पनि भण्डारीले आफ्नो कार्यकालको उपलब्धि मानेका छन्।
कानुन निर्माणलाई उनले प्राथमिकतामा राखेको जनाएका छन्। उपलब्धि विवरणमा उनले नवप्रवर्तनकारी एवम् सृजनशील सोचमार्फत उद्यमशीलता विकास गर्न राष्ट्रिय स्टार्टअप उद्यम नीति, २०८१ स्वीकृतलाई राखेका छन्। लगानीको वातावरणलाई सहज बनाउन विभिन्न ८ वटा कानुन समावेश गरिएको केही नेपाल ऐन संशोधन, अध्यादेश २०८१ जारीलाई पनि उपलब्धिमा समावेश गरिएको छ। नौ वटा रुग्ण सार्वजनिक संस्थानको सञ्चालनका विकल्प पहिचान गरिएको दाबी पनि उपलब्धिमा छ।

नेपाली उत्पादन र उपभोग अभिवृद्धि गर्न प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८१ स्वीकृत, भूकम्पीय जोखिम न्यूनीकरण गर्ने उद्देश्यले नेपाल सरकार र चीन सरकारबिच हुने समझदारी पत्र स्वीकृत, स्थानीय तहमार्फत सीप विकास तथा प्रविधि हस्तान्तरणका कार्यक्रमहरू कार्यान्वयन गर्न लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन तथा प्रविधि हस्तान्तरण कार्यविधि, २०८० मा संशोधन गरी कार्यान्वयनलाई पनि भण्डारीले उपलब्धिमा राखेका छन्।
सार्वजनिक निकायमा स्वदेशी उत्पादन प्रवर्द्धन गर्ने कार्यविधि, २०८१ मन्त्रिपरिषद्मा पेस, वाणिज्य नीति, २०८१ को मस्यौदा तयार, स्टार्टअपलाई सहयोग गर्न व्यवसाय संवर्द्धन केन्द्र (इन्क्यूवेशन) सञ्चालन कार्यविधि, २०८१ को मस्यौदा तयार, औद्योगिक ग्राम घोषणा तथा सञ्चालन कार्यविधि, २०८१ को मस्यौदा तयार पनि उपलब्धि सूचीमा छन्।
कच्चा पदार्थ खपत निर्धारण तथा पुनरवलोकनसम्बन्धी मापदण्ड, २०८१ को मस्यौदा तयार, नेपाल पेट्रोलियम सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकको मस्यौदा, व्यावसायिक सामाजिक जिम्मेवारीसम्बन्धी कार्यविधिको मस्यौदा तयार गरिएको पनि उपलब्धिमा उल्लेख छ।