
टक्सार। भोजपुरको उत्तरी क्षेत्र र सङ्खुवासभा जोड्ने अरुण नदीको सतिघाटमा संचालित फेरी आजदेखि बन्द भएको छ। मनसुनसँगै अरुण नदीमा पानीको बहाव बढेकाले फेरी संचालन बन्द गरिएको हो।
भोजपुरको उत्तरी क्षेत्रलाई तराईसँग सिधा जोड्ने षडानन्द नगरपालिका वडा नम्बर ६ र खाँदबारी नगरपालिका वडा नम्बर ९ सतिघाटस्थित अरुण नदीको फेरी संचालन गरिएको थियो। षडानन्द नगरपालिकाले सूचना जारी गर्दै अर्को सूचना जारी नहुञ्जेलसम्म फेरी संचालन नहुने जनाएको हो।
अरुण नदीमा पक्की पुल नहुँदा भोजपुरको उत्तरी क्षेत्रका लागि सवारीसाधन, दैनिक उपभोग्य वस्तु तथा यात्रु तार्ने एकमात्र माध्यम फेरी बनेको छ। फेरीले एकैपटकमा ४ वटासम्म साना सवारीसाधन तार्ने गरेको छ।
अरुणमा संचालनमा रहेको फेरीले आवतजावतमा सुविधा हुँदै आएको बताउँदै षडानन्दका नगरप्रमुख सुरेन्द्रकुमार उदासले वर्षात्को समयसँगै खोलामा पानीको बहाव बढेकाले फेरी बन्द गर्न लागिएको बताए।
सङ्घीय सांसद क्षेत्र विकास कोषबाट ७५ लाख रुपैयाँ, प्रदेश सांसद क्षेत्र विकास कोषबाट ७५ लाख रुपैयाँ र नगरपालिकाको ५५ लाख रुपैयाँ लागतमा फेरी निर्माण गरिएको हो। फेरीबाट दैनिक १ सय बढी साना ठूला सवारीसाधन तार्ने गरिएको छ। रासस