खिम्ती-२ जलविद्युत आयोजनाको सेयर व्‍यवस्थापन नागरिक लगानी कोषले गर्ने

बिजमाण्डू
२०८१ जेठ ३१ गते १२:५७ | Jun 13, 2024
खिम्ती-२ जलविद्युत आयोजनाको सेयर व्‍यवस्थापन नागरिक लगानी कोषले गर्ने


काठमाडौं । पिपुल्स इनर्जी लिमिटेडले सेयर प्रत्याभूति व्यवस्थापन कार्य गर्न नागरिक लगानी कोषलाई प्रत्याभूतिकर्ता नियुक्त गरेको छ। सर्वसाधारणमा जारी गर्न लागिएको धितोपत्रको सार्वजनिक निष्काशनका लागि कोषलाई प्रत्याभूतिकर्ता नियुक्त गरिएको हो।

Tata
GBIME
NLIC

सम्झौतापत्रमा कोषका तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र पिपुल्स इनर्जी लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष कृष्णप्रसाद आचार्यले हस्ताक्षर गरेका छन्।

पिपुल्स इनर्जीले रामेछापको खिम्ती खोलामा निर्माण गरिरहेको ४८.८ मेगावाटको खिम्ती-२ जलविद्युत आयोजनाको जारी पूँजी ३ अर्ब ३० करोड रुपैयाँमध्ये २० प्रतिशतले हुन आउने ६६ लाख कित्ता साधारण सेयरमध्ये सर्वसाधारण, आयोजना प्रभावित क्षेत्रका बासिन्दा, सामूहिक लगानी कोषका लगानीकर्ता र कम्पनीका कर्मचारीलाई छुट्याइएको छ। प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरले उक्त सेयरको मूल्य ६६ करोड रुपैयाँ छ।

निजी क्षेत्रको लगानीमा निर्माणाधीन सो आयोजनाको ७५ प्रतिशत काम सम्पन्न भइसकेको पिपुल्स इनर्जीका कार्यकारी अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए। ८.३५ किलोमिटर लामो सुरुङ निर्माणको काम अन्तिम चरणमा पुगेको तथा हेडवक्स वेयर र इलेक्ट्रो मेकानिकलको काम बाँकी रहेको जानकारी उनले दिए।

पिपुल्सका कम्पनी सचिव जनार्दन अर्यालले आगामी एक वर्षभित्र आयोजनाको काम सकेर बत्ती बाल्ने तयारी रहेको बताए। आयोजनाबाट उत्पादित बिजुली गज्य्राङ- खिम्ती सबस्टेशनमा जोडिनेछ। आयोजनामा सानिमा बैंकको नेतृत्वमा विभिन्न ८  वटा वाणिज्य बैंकले ऋण लगानी गरेका छन्। आयोजनाबाट वार्षिक करिब २६ करोड युनिट विद्युत उत्पादन हुनेछ।

आयोजनाको वार्षिक कूल अनुमानित आम्दानी पहिलो वर्ष १ सय ४० करोड रुपैयाँ र वार्षिक ३ प्रतिशतका दरले ८ पटकसम्म वृद्धि हुँदा नवौं वर्षमा १ सय ७४ करोड रुपैयाँ पुग्ने अनुमान कम्पनीको छ।