नारायणगढ-मुग्लिन सडक : २५ ठाउँमा पहिरोको जोखिम, जुनसुकै बेला भूक्षय हुन सक्ने

बिजमाण्डू
२०८१ जेठ ३१ गते १०:२६ | Jun 13, 2024
नारायणगढ-मुग्लिन सडक : २५ ठाउँमा पहिरोको जोखिम, जुनसुकै बेला भूक्षय हुन सक्ने


चितवन। नारायणगढ-मुग्लिन सडकको २५ ठाउँका पहिरोको जोखिम रहेको यहाँस्थित डिभिजन सडक कार्यालयले जनाएको छ।

Tata
GBIME
NLIC

उक्त कार्यालयका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार तीमध्ये ४ स्थान उच्च र ७ ठाउँ कम जोखिममा छन्। मौरी पुल, नाम्सी पुल, कालीखोला र तुइन पुल क्षेत्रमा पहिरोको उच्च जोखिम छ।

सडकको नाम्सी, कालीखोला र तुइन खोलाको पहिरो नियन्त्रणका लागि ५२ करोड रुपैया खर्च हुने अनुमानित लागत छ। ती ठाउँमा ‘स्लोप स्टेवलाइजेसन’ र ‘रक नेटिङ’को काम गर्नुपर्नेछ।

यसैगरी, पहिरोको कम जोखिम भएका गाईघाट, डुम्रे पुल, घुमाउने, सिमलताल, जलवीरे र ५ किलोमा पनि सडक व्यवस्थापन गर्नुपर्नेछ। विसं २०८० को वर्षामा यो सडकमा ३० र २०७९ मा ३६ पटक भूक्षय हुँदा पटक-पटक सवारी आवागमन अवरुद्ध भएको थियो।

कार्यालयका इञ्जिनियर सागर कार्कीले पानी परेपछि जुनसुकै बेला भूक्षयको जोखिम रहेकाले सेती दोभान, मौरी पुल र चार किलोमा उपकरण तम्तयार गरिने बताए। हेटौँडास्थित हेवी इक्युप्मेन्ट डिभिजन र डुम्रेको यान्त्रिक कार्यालयबाट पनि उपकरणको प्रबन्ध गरिनेछ।

सोही सडक खण्डको केराबारीमा नेचरबेस सोलुसन नामको संस्थाले बायो इञ्जिनियरिङ प्रविधिबाट पहिरो नियन्त्रण अध्ययन गरिरहेको छ। सोही सडकका खहरे खोला, भतेरीको ओरालो, गाईघाट, सेतीदोभान, जलवीरे, २६ किलो र ४ किलो क्षेत्रका ११ ठाउँमा अध्ययन गर्न उक्त संस्थाले सडक विभागलाई पत्राचार गरेको छ। रासस