‘जीकर’ ल्याउन ठूला घरानाबीच प्रतिस्पर्धा, चौधरी र शारडा ग्रुप ‘सर्ट लिस्टेड’

शुक्र गिरी
२०८१ जेठ ३१ गते ०९:२९ | Jun 13, 2024
‘जीकर’ ल्याउन ठूला घरानाबीच प्रतिस्पर्धा, चौधरी र शारडा ग्रुप ‘सर्ट लिस्टेड’

काठमाडौं। जिली अटोमोबाइल होल्डिङको इभी ब्राण्ड ‘जीकर’का गाडी नेपाली बजारमा ल्याउन ठूला घरानाबीच प्रतिस्पर्धा भएको छ। जिली विश्वप्रसिद्ध धेरैवटा बहुराष्ट्रिय कम्पनीसँग ज्वाइन्ट भेञ्चरमा सवारी उत्पादन गरिरहेको चिनियाँ कम्पनी हो। चिनियाँ इभी बजारमा प्रभावशाली बनेको ‘जीकर’ यसको आफ्नै ब्राण्ड हो।

Tata
GBIME

नेपाली अटोमोबाइल बजारमा गाडी बिक्री गर्दै आइरहेका घरानाहरू यतिबेला जिकरको आधिकारिक बिक्रेता बन्न दौडधुप गरिरहेका छन्। पछिल्लो समय उनीहरूले उत्पादक कम्पनीसँगको भेटघाटलाई तीव्र पारेका हुन्। यसका लागि गत अप्रिलमा बेइजिङमा भएको ‘बेइजिङ अटो शो २०२४’मा नेपाली अटो व्यवसायीका समूह पुगेका थिए।

जसमा निसान, ओमोडा गाडी बिक्री गरिरहेको शारडा ग्रुप, नेटा, आयोन, हिरो बिक्री गरिरहेको चौधरी ग्रुप, हुन्डाई गाडी बिक्री गरिरहेको लक्ष्मी ग्रुप, फोर्ड बिक्रेता गोल्छा अर्गनाइजेसन, एमएडब्लु ग्रुप र टीभीएस र प्रोटोन ब्रान्ड बिक्री गर्दै आइरहेको शंकर ग्रुप यसका लागि इच्छुक थिए।

मिलेर जीकर ब्राण्ड भित्र्याउन खोजेका गोल्छा र शारडा ग्रुपका प्रतिनिधिहरूले उत्पादक कम्पनीसँग धेरै चरणमा वार्ता गरिसकेका थिए। यी घरानाहरूले आफ्नो व्यावसायिक योजना उत्पादक कम्पनी समक्ष पेस गरेका थिए। उनीहरूको बिजनेस प्लान आफ्नो नेटवर्किङ र नेपालमा उक्त गाडी वार्षिक रुपमा कति युनिटसम्म बिक्री गर्न सकिन्छ भन्नेमा धेरै केन्द्रित थियो।

यस्तै, एमएडब्लु ग्रुप बिजनेस प्लान पेस गर्नु अगाडि नै पछि हट्नु परेको थियो। ‘चीनमा चांगन र जिली जीकर प्रतिस्पर्धी ब्रान्ड भएकाले नेपालमा दुवै ब्रान्ड एउटै घरानालाई नदिने जिकरको अडान थियो,’ ती व्यवसायीले भने, ‘यो स्वाभाविक पनि हो। बीवाइडी बिक्री गरिरहेको घरानालाई टेस्लाले आधिकारिक बिक्रेता बनाउने काम गर्दैन। किनभने उनीहरू अहिलेको इभी बजारमा दुई ठूला प्रतिस्पर्धी ब्रान्ड हुन्। जीकर र चांगनमा पनि त्यस्तै भइरहेको छ। जसका कारण एमएडब्लु ग्रुप यसबाट सुरुमा नै आउट हुनु परेको थियो।’

यसमा अन्य घरानाले त्यही अनुसार आफ्नो स्ट्रेन्थ उत्पादक कम्पनीलाई देखाएका थिए। जसमा चौधरी र शारडा ग्रुप ‘सर्ट लिस्ट’मा परेका ती व्यवसायीले बताए। जीकर ल्याउन आवदेन दिएका एक व्यवसायीका अनुसार अहिले कम्पनीले इच्छुक मध्येबाट ‘सर्टलिस्ट’ गरेको छ। जसमा लक्ष्मी ग्रुप, एमएडब्लु र शंकर ग्रुप आउट भएका छन्।

‘जीकरले नेपालमा कसलाई बिक्रेता कम्पनी बनाउने भन्ने छनोट अन्तिम चरणमा पुर्‍याएको छ,’ ती व्यवसायीले भने, ‘जसअनुसार निवेदन दिएकामध्ये दुई घराना चौधरी ग्रुप र शारडा ग्रुपलाई सर्टलिस्टमा राखेको हो।’

ती व्यवसायीका अनुसार यसमा चौधरी ग्रुप अलि बलियो देखिएको छ। ‘जीकरको आधिकारिक बिक्रेता पनि चौधरी ग्रुपले पाउने लगभग फाइनल जस्तो नै कुरा भएको खबर आएको छ,’ उनले भने, ‘तर शारडा ग्रुप पनि एक बलियो दाबेदार हो। पछिल्लो समय यो ग्रुप पनि ओमोडा ब्रान्ड ल्याएर राम्रो सफलता हात पारेको कम्पनी हो।’

सीजीले लगभग आधा दर्जन चिनियाँ इभी ल्याउने गरी यसअघि नै धेरै कम्पनीसँग सम्झौता गरिसकेको छ। जसमा एक्सपेङ, अवातार, स्मार्ट, दायुन, लोटस र राडर जस्ता ब्रान्ड ल्याउन सम्झौता गरिसकेको छ। जसमा लोटस र राडर जिली होल्डिङ्स ग्रुप अन्तर्गतकै कम्पनी हुन्। त्यसैले यो ब्रान्ड पनि चौधरी ग्रुपले पाउने सम्भावना बलियो भएको ती व्यवसायीको भनाइ छ।

यस्तै, पछिल्लो समय शारडा ग्रुप पनि इभीमा फोकस भएको छ। ड्याट्सन र निसान ब्रान्डको गाडी बिक्री गर्दै आएको कम्पनीले निसानको लीफ इभीका साथै चेरीको सब ब्रान्ड ओमोडा इभी भित्र्याएको छ। ओमोडा एक महिनामै १५० युनिटभन्दा धेरै बिक्री भएको कम्पनीले जनाएको छ। कम्पनी अन्य इभी ब्रान्ड भित्र्याउने कसरतमा लागिरहेको छ।

सरकारी नीति र ग्राहकको रोजाइका कारण अटो बजारमा टिक्नका लागि इभी भित्र्याउनु कम्पनीहरुका लागि अनिवार्य आवश्यकता जस्तै बनेको छ।

राइट ह्यान्ड ड्राइभमा बन्न थाल्यो, जसले गर्दा नेपाल ल्याउन सहज

जीकर राइट ह्यान्ड ड्राइभमा समेत आइसकेको छ। जसले गर्दा उक्त ब्रान्ड नेपाल ल्याउन सहज भएको छ। केही समय अगाडिसम्म यसको राइट ह्यान्ड ड्राइभ नहुँदा नेपाल ल्याउन कम्पनीहरूमा त्यति चासो थिएन।

अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न कम्पनीले गाडीको एक्स मोडलमा राइट ह्यान्ड ड्राइभ दिएर उत्पादन सुरु गरेको हो। सो नयाँ इभी अष्ट्रेलिया हुँदै थाइल्यान्ड र अन्य मुलुकमा समेत निर्यात हुनेछ। त्यसपछि नेपालमा पनि यसै वर्षदेखि ल्याउने तयारी भइरहेको छ।

गत मार्चमा थाइल्यान्डमा आयोजना भएको बैंकक इन्टरनेशनल मोटर शोमा प्री-अर्डर खुल्ला गरिएपछि यो ब्राण्ड राइट ह्यान्ड ड्राइभमा आउने पक्कापक्की भएको थियो। त्यसपछि नेपालका थुप्रै व्यवसायी जीकरलाई नेपाल ल्याउन दौडधुप गरिरहेका थिए।

यो नयाँ कारको रियर ह्‍वील ड्राइभ भर्सनमा २०० किलोवाट क्षमताको मोटर जडान गरिएको छ। कम्पनीले हालै यसको २०२४ मोडललाई अल ह्‍वील ड्राइभ भर्सनमा समेत उतारेको छ। जसअनुसार अल ह्‍वील ड्राइभअन्तर्गत यसको फ्रन्ट एक्सलमा ११५ किलोवाट क्षमताको अतिरिक्त मोटर राखिएको छ।

कारमा ६६ किलोवाट आवरको सीएटीएल ब्याट्री जडान गरिएको छ। जसलाई फुल चार्ज गर्दा सिंगल मोटर भर्सनले ५६० किलोमिटर र अल ह्‍वील ड्राइभ भर्सनले ५०० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ।

कारमा १४.६ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ८.८ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट प्यानल र हेड अप डिस्प्ले लगायत फिचर पाउन सकिन्छ। चिनियाँ बजारमा यसको मूल्य २७ हजार ६०० देखि ३० हजार ४०० डलरसम्म निर्धारण गरिएको छ।

कस्तो कम्पनी हो जीकर?

यो कम्पनी जिली होल्डिङ्स ग्रुपको अन्तर्गतको सब-ब्रान्ड हो। यो कम्पनीले भोल्भोदेखि प्रोटोनसम्ममा धेरै ब्रान्डमा लगानी गरेको छ। जसमा जिली अटो, ल्यांक एण्ड को, जीकर, जियोमेट्री, भोल्भो कार, पोलस्टार, लोटस, लन्डन इलेक्ट्रिक भेहिकल कम्पनी, फरीजोन अटो, राडर अटो रहेका छन्। यसमा जीकर यो ग्रुपको नयाँ लक्जरी इभी ब्रान्ड हो।

यसको रिसर्ज एण्ड डेभलपमेन्ट सेन्टर स्वीडेनको गोथेन्वर्गमा छ। जसलाई चाइना युरोप भेहिकल टेक्नोलोजी एबी भनिएको छ। यो सन् २०१३ मा स्थापना भएको थियो। यो सेन्टरले भेहिकलको आर्किटेक्चर, कम्प्याक्ट मोडुलर आर्किटेक्चर (सीएमए), डिजाइन, ड्राइभिङ सिस्टम र टेक्नोलोजीको बारेमा काम गर्छ। यसको कम्प्याक्ट मोडुलर आर्किटेक्चर प्लेटफर्मबाट जीकर र वेमो गाडी एकै साथ लन्च गरिएको थियो।

यसको कटिङ एज टेक्नोलोजीलाई विश्वको सबैभन्दा वर्ल्ड क्लास क्वालिटीका रुपमा हेरिएको छ। कम्पनीसँग अहिले ५ वटा मोडल जीकर एक्स, जीकर ००७, जीकर ००९, जीकर ००१ एफआर र जीकर मिक्स छन्। कम्पनीले २०२३ मा १ लाख १८ हजार ६८५ युनिट गाडी बिक्री गरेको थियो। यो वर्ष २ लाख ३० हजार जिकर गाडी बिक्री गर्ने लक्ष्य राखेको छ।