ठूला वायुसेवा कम्पनीबाट धमाधम बाहिरिंदै पाइलट, एक दर्जनभन्दा बढी एयर इण्डिगो जाँदै

वसन्तराज उप्रेती
२०८१ जेठ ३० गते १९:५८ | Jun 12, 2024
ठूला वायुसेवा कम्पनीबाट धमाधम बाहिरिंदै पाइलट, एक दर्जनभन्दा बढी एयर इण्डिगो जाँदै

काठमाडौं। निजी क्षेत्रका एयरलाइन्समा पाइलटहरुले राजीनामा दिने लहर चलेको छ। बुद्ध, यती र श्री एयरलाइन्समा कार्यरत पाइलटले धमाधम राजीनामा दिन थालेका हुन्।

Tata
GBIME

भारतको लो कस्ट एयरलाइन्स एयर इण्डिगोले ५० प्रतिशतभन्दा बढी पारिश्रमिक दिने भएपछि पाइलटहरु एक्जिट हुने प्रक्रियामा लागेको वायुसेवा कम्पनीले जनाएका छन्।

एयर इण्डिगोले मासिक १० हजार अमेरिकी डलर अर्थात १३ लाख ७० हजार रुपैयाँ पारिश्रमिक दिने अफर गरेको छ।

वायु सेवा प्रदायक नेपाली कम्पनीले हाल सुगम गन्तव्यतर्फ उडान गर्दै आएका पाइलटलाई मासिक करिब ८ लाख रुपैयाँ दिने गरेका छन्।

बुद्ध एयरका आधा दर्जन वरिष्ठ पाइलट एयर इण्डिगोमा जाने तयारीमा छन्। बुद्ध एयरका प्रवक्ता रुपेश जोशीले एयर इण्डिगोले आकर्षक पारिश्रमिक प्रस्ताव गरेकाले केही पाइलटहरु कम्पनीबाट बाहिरिने क्रममा रहेको बताए।  

‘यहाँ पाइरहेको भन्दा इण्डिगोले ५० प्रतिशतभन्दा बढी पैसा दिने अफर गरेकाले आधा दर्जन पाइलट बाहिरिने निश्चितजस्तै भएको छ,’ उनले भने।     

भारतमा एयर इण्डिगोको बजार हिस्सा ६० प्रतिशतभन्दा बढी छ। यो वायुसेवाले ३५० वटा जहाजमार्फत दैनिक २ हजार उडान अवतरण गर्दै आएको छ।

कम्पनीले आन्तरिकतर्फ ८८ वटा र अन्तर्राष्ट्रियतर्फ ३४ वटा गन्तव्यमा नियमित व्यावसायिक उडान गर्दै आएको छ। एयर इण्डिगोले नेपाल-भारतमा मात्र सातामा ४८ उडान गर्दै आएको छ।

आधा दर्जन पाइलट बाहिरिए पनि कम्पनीलाई फरक नपर्ने जोशीले बताए। ‘केही पाइलटले राजीनामा दिए पनि हामीलाई फरक पर्दैन। हामीले वार्षिक रुपमा पर्याप्त पाइलट उत्पादन गर्दै आएका छौं,’ उनले भने।

३ वटा एटीआर-४२ र १४ वटा एटीआर-७२ जहाज मार्फत उडान गर्दै आएको बुद्ध एयरमा हाल १६० जना पाइलट कार्यरत छन्।

बुद्ध एयरबाट यसअघि कोभिड सुरु हुनु पहिले एक दर्जनभन्दा बढी पाइलट राजीनामा दिएर बाहिरिएका थिए। त्यतिखेर ती पाइलट विदेशी एयरलाइन्समा गएका थिए।

यती एयरलाइन्सका केही पाइलट पनि जागिर छोड्ने तयारीमा छन्। एयरलाइन्सका उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले केही पाइलट इण्डिगो एयरमा जाने तयारीमा रहेको बताए।

‘पाइलटहरुले राजीनामा त दिइसकेका छैनन्। तर, केही पाइलटले इण्डिगोमा जाने तयारी गरिरहेको बुझिएको छ,’ प्रवक्ता बर्तौलाले भने, ‘इण्डिगोले मासिक १० हजार डलरको अफर राखेको छ। हामी त्यो स्तरको पारिश्रमिक दिन सक्ने अवस्थामा छैनौं।’

उनले भने विदेशी कम्पनीको आकर्षक प्रस्तावले नेपाली कम्पनीमा पाइलटको अभाव खड्किन सक्ने जोखिम देखेका छन्।

श्री एयरलाइन्सका प्रवक्‍ता अनिल मानन्धरले पनि आफ्नो कम्पनीका केही पाइलट इण्डिगोमा जाने तयारीमा रहेको बताए। ‘इण्डिगोले हाम्रा केही पाइलटलाई पनि प्रस्ताव गरेको सुन्नमा आएको छ,’ उनले भने, ‘हामी विदेशी कम्पनीसँग प्रतिस्पर्धा गरेर पारिश्रमिक दिन सक्दैनौं। त्यसैले रोक्न सक्ने स्थिति छैन।’   

आफूखुशी राजीनामा दिन नपाइने

पाइलटहरु आफूखुशी राजीनामा दिएर हिंड्न भने पाउँदैनन्। कार्यरत संस्थासँगको समझदारीमा मात्र अलग हुन पाउने नेपाल नागरिक उड्डयन प्राधिकरणको नियम छ।

‘छोड्न चाहने पाइलटले आफू कार्रत वायुसेवा कम्पनीलाई एक वर्ष अगाडि नै जानकारी गराउनुपर्छ। आफूखुशी राजीनामा दिन पाइँदैन,’ बुद्ध एयरका बिक्री तथा बजार निर्देशक जोशीले भने, ‘तर, कम्पनीसँगको समझदारीमा भने पाइलट जतिखेर पनि निस्किन सक्छन्।’

वायु सेवा प्रदायक कम्पनीहरुले पाइलटको क्षमता वृद्धिमा पनि राम्रै रकम खर्च गर्ने हुनाले समझदारीविना छोड्न नपाइने नियम बनाइएको हो। हतारमा राजीनामा दिएर अलग हुन चाहनेले कम्पनीलाई तोकिएको रकम बुझाउनुपर्छ।

वायुसेवा कम्पनीहरुका अनुसार हाल मुलुकमा पाइलट अध्ययन गरेका ४५० हाराहारी युवा बेरोजगार छन्।