काठमाडौं। तत्कालीन सेन्चुरी कमर्सियल बैंकले प्रवाह गरेको ऋणमा कैफियत रहेको राष्ट्र बैंकको अनुसन्धानले देखाएपछि प्रहरीले थप अनुसन्धान थालेको थियो- त्यही अनुसन्धानअन्तर्गत सोमबार तत्कालीन अध्यक्षसहित ८ जना पक्राउ परेका हुन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले फागुन तेस्रो साता बैंकरलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको थियो। अनुसन्धान नगरी बैंकरलाई पक्राउ गरेको भनेर चौतर्फी आलोचना भएको थियो।
धितो भ्यालुएसन पद्धतिबारे अवगत नभई बैंकर पक्राउ गरेको भन्दै नेपाल बैंकर्स संघले विरोध जनाएको थियो भने राष्ट्र बैंकले पनि असन्तुष्टि जनाएको थियो। त्यसपछि सीआइबीले अनुसन्धानमा राष्ट्र बैंकको सहयोग मागेको थियो।
राष्ट्र बैंकले अनुसन्धानका लागि चार्टर्ड एकाउन्टेन्ट जगदीश कुमारको नेतृत्वमा एउटा टोली खटाएको थियो।
करिब एक महिनासम्म राष्ट्र बैंकको टोलीले अनुसन्धान गरेर प्रहरीलाई प्राविधिक पक्षका बारेमा जानकारी दिएको थियो। जसमा राष्ट्र बैंकले कसको पालामा कसरी कति ऋण प्रवाह भएको भन्ने देखाएको थियो।
त्यसपछि प्रहरीले यस घटनामा थप अनुसन्धान थालेको थियो। हाजिरी जमानीमा छुटेका बैंकरसँग पुन: बयान लिइएको थियो।
‘हाम्रो अनुसन्धान पहिले पनि ट्र्याकमा नै थियो। राष्ट्र बैंकको रिपोर्टले सकारात्मक संकेत गरेपछि थप अनुसन्धानमा लागेका थियौं,’ अनुसन्धानमा खटिएका एक प्रहरीले भने।
सीआइबीले तत्कालीन सेन्चुरी कर्सियल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीइओ) तुलसीराम गौतम, तत्कालीन सीइओ मनोज न्यौपाने (हाल प्रभु बैंकका डेपुटी सीइओ) सहित ११ जनालाई फागुन १५ गते पक्राउ गरेको थियो।
बिरामी परेका कारण एक जना त्यही बेला छुटेकी थिइन्। बाँकीलाई भने तेस्रो पटक म्याद थप गरेर हिरासतमा राखी दुई सातापछि हाजिरी जमानीमा रिहा गरिएको थियो।
उनीहरुको बयान र राष्ट्र बैंकसँग समन्वय गरेर सीआइबीले तत्कालीन सेन्चुरी बैंकका अध्यक्ष राजेश श्रेष्ठसहित ८ जनालाई पक्राउ गरेको हो। प्रहरीले सोमबार पक्राउ गरेकाहरुमा सञ्चालक समितिका सदस्यहरु सुनिल कुमार न्यौपाने, प्रा. डा. गीताभक्त प्रधान, रमेश कुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेश कुमार दली, उमाकुमारी श्रेष्ठ र सीडीए सेक्सन चिफ शिव गोपाल रिसाल छन्। त्यस्तै प्रहरीको पक्राउ सूचीमा मनबहादुर राई पनि छन्।
१ अर्ब १४ करोड २३ लाख ८४ हजार २५८ रुपैयाँको धितो भ्यालुएसन गरी २ अर्ब ११ करोड ६५ लाख ५५ हजार ७३१ रुपैयाँ ऋण प्रवाह गरिएको भन्दै सीआइबीले बैंकरलाई पक्राउ गरेको हो।
ठूलो मात्रमा ऋण प्रवाह गर्न बोर्डबाट स्वीकृति गराउनुपर्ने हुन्छ। त्यसमा बोर्डको स्वीकृति भएकाले अध्यक्षसहित ८ जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। यसअघि नै प्रहरीले अध्यक्ष श्रेष्ठलाई पक्राउ गर्ने तयारी गरेको थियो।
अनुसन्धान जारी रहँदा सीआइबी प्रमुख समेत फेरिए। एआइजी किरण बज्राचार्यको नेतृत्वमा सेन्चुरीको फाइल खोलिएको थियो। बज्राचार्य सुन प्रकरणको अनुसन्धानमा विवादित भएर सरुवामा परेपछि एआइजी श्याम ज्ञवाली सीआइबीको नेतृत्वमा छन्।
बढी कर्जा लिने देउराली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रवीन्द्र चौलागाईंमाथि बचतकर्ताको रकम हिनामिना गरेको अभियोग छ। गत कात्तिक १७ गते पक्राउ परेका उनी अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा छन्।
चौलागाईंका चारवटा संस्थाले बैंकका कर्मचारीसँगको मिलेमतोमा कम भ्यालुएसन भएको धितो देखाएर बढी ऋण लिएको प्रहरीको आरोप छ।
पक्राउ परेकाहरुसँग बयान गरेपछि फाइल सरकारी वकिल कार्यालयमार्फत अदालतमा बुझाउने सीआइबीको तयारी छ।
‘अब पक्राउ परेकाहरुको बयानपछि हामी फाइल बुझाउँछौं,’ सीआइबी प्रमुख एआइजी श्याम ज्ञवालीले भने।