
काठमाडौं। चालु वर्ष १० महिनामा ११ खर्ब ९८ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको छ। यो गत वर्षकोे तुलनामा १९.२ प्रतिशतले धेरै हो।
अघिल्ला केही महिनाको तुलनामा वैशाखमा भने रेमिटेन्स घटेको छ।
चैतमा १ खर्ब २१ अर्ब र फागुनमा १ खर्ब २२ अर्ब रुपैयाँ भित्रिएकामा वैशाखमा १ खर्ब ११ अर्ब रेमिटेन्स आएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
अमेरिकी डलरमा रेमिटेन्स १७.१ प्रतिशतले बढेर ९ अर्ब २ करोड पुगेको छ।
यो वर्ष वैदेशिक रोजगारीमा जान ३ लाख ७४ हजार ८८७ जनाले अन्तिम श्रम स्वीकृति र २ लाख ३७ हजार ७२१ जनाले पुनः स्वीकृति लिएका छन्।
यो संख्या पोहोरको सोही अवधिको तुलनामा कम हो। पोहोर वैशाखसम्म ४ लाख २१ हजार २७९ जनाले अन्तिम श्रम स्वीकृति र २ लाख ३८ हजार ९७६ जनाले पुनः स्वीकृति लिएका थिए।