प्रभु बैंकका कर्मचारी र ग्राहकले सौराहाका विभिन्न होटल तथा रेष्टुरेन्टमा विशेष छूट पाउने

बिजमाण्डू
२०८१ जेठ २७ गते १६:३६ | Jun 9, 2024
प्रभु बैंकका कर्मचारी र ग्राहकले सौराहाका विभिन्न होटल तथा रेष्टुरेन्टमा विशेष छूट पाउने

काठमाडौं। प्रभु बैंकका कर्मचारी तथा ग्राहकले सौराहाका विभिन्‍न होटल तथा रेष्टुरेन्टमा विशेष छूट पाउने भएका छन्। भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गर्दै बैंकले सौराहाका होटल तथा रेष्टुरेन्टसँग विभिन्‍न सेवामा विशेष छूट दिने सम्झौता गरेको छ।

Tata
GBIME

छुट्टाछुट्टै समारोहका बीच सम्झौतामा प्रभु बैंकका तर्फबाट बागमती प्रदेश, चितवन क्लस्टरकी प्रमुख सांग्रीला श्रेष्ठ र सौराहाका शाखा प्रबन्धक मणि मानन्धरले हस्ताक्षर गरे। सम्झौता अनुसार बैंकका कर्मचारी तथा ग्राहकहरूले बैंकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरूमा विशेष छूट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

सो सम्झौता बमोजिम ग्राहक तथा बैंकका कर्मचारीहरूका लागि आवासमा ८ प्रतिशतदेखि १५ प्रतिशत तथा खाना तथा पेय पदार्थमा १० प्रतिशतदेखि १५ प्रतिशतसम्म छूटहरू प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ। बैंकले होटल आइकावा इन (चार तारे), सपना भिलेज लज, सिद्धार्थ विलास वनबास, चितवन (होटल वनबास चितवन), होटल वाइल्डलाइफ क्याम्प, पार्क सफारी रिसोर्ट, चौतारी गार्डेन रिसोर्ट, राइनो लज एन्ड होटल, होटल रोयल सफारी, द पार्क सेन्चुरी होटल (भिलेजियो रेस्टुरेन्ट एन्ड होटल), ट्राभलर्स जंगल क्याम्प, होटल मिराज, ओपन सेकुवा कर्नर, रिभर भ्यू जंगल क्याम्प, हिमालयन इन, जंगल सफारी लज, रोयल टाइगर लक्जरी होटलसँग सम्झौता गरेको हो।

प्राकृतिक, साँस्कृतिक, धार्मिक तथा मनोरञ्जनात्मक गतिविधिहरूले भरिपूर्ण चितवन रमणीय पर्यटकीय स्थलका रुपमा चिनिन्छ। सौराहा, मेघौली, कसरा, देवघाटधाम जस्ता रमणीय एवंम धार्मिक क्षेत्रको भ्रमण गर्नेहरुका लागि चितवन उपयुक्त गन्तव्य का रुपमा लिन सकिन्छ।

देश तथा विदेशबाट यस स्थानमा पर्यटकहरुको आगमन हुने गर्छ। विश्वमै अति दुर्लभ एक सिङ्गे गैँडा, विभिन्‍न प्रजातिका चराचुरुङ्गी, मृग जस्ता जङ्गली जनावरहरू अवलोकनका निम्ति यहाँ जिपसफारी, हात्तीसफारी सेवा उपलब्ध छ।

थारु समुदायको बाहुल्यता रहेको यस नगरीमा उनीहरुको साँस्कृतिक, पुरातात्विक एवं मौलिक किसिमको नृत्य पर्यटकहरूका लागि मुख्य आकर्षणको केन्द्र हो।

हालसालै ‘बैंक अफ द इयर २०२३’को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएमका साथै ७० एक्सटेन्सन काउन्टर छन्।