तेस्रो संस्करणको महालक्ष्मी कर्पोरेट क्रिकेट लिगमा प्राइम बैंक विजयी, आइसीएफसी फाइनान्स दोस्रो

बिजमाण्डू
२०८१ जेठ २७ गते १५:२३ | Jun 9, 2024
तेस्रो संस्करणको महालक्ष्मी कर्पोरेट क्रिकेट लिगमा प्राइम बैंक विजयी, आइसीएफसी फाइनान्स दोस्रो

काठमाडौं। महालक्ष्मी विकास बैंकको ३०औँ वार्षिकोत्सवका अवसरमा आयोजित महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४- संस्करण ३ को उपाधि प्राइम कमर्सियल बैंक लिमिटेडले जितेको छ। आइसीएफसी फाइनान्स लिमिटेडले द्वितीय स्थान हासिल गरेको छ। प्रतियोगिताका विजेता र रनरअपलाई शुक्रबार पुरस्कार वितरण गरिएको छ।

Tata
GBIME
NLIC

प्रतियोगिता जेठ २२ देखि २४ गतेसम्म इमाडोलस्थित बलपार्क स्पोर्ट्स इभेन्ट्स एण्ड एकेडेमीमा भएको थियो। उक्त प्रतियोगितामा विभिन्‍न बैंक तथा वित्तीय संस्थाका १६ टिमले सहभागिता जनाएका थिए।

नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बम बहादुर मिश्रको प्रमुख आतिथ्यतामा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा विजेता प्राइम कमर्सियल बैंक र द्वितीय हुने आइसीएफसी फाइनान्सलाई पुरस्कार दिइएको छ। त्यस्तै, उत्कृष्ट फिल्डर प्राइम बैंकका विवेक डाली, उत्कृष्ट विकेट-किपर माछापुच्छ्रे बैंकका निशेस के.सी, उत्कृष्ट बलर एभरेष्ट बैंकका रोशन महत, उत्कृष्ट ब्याटर एनएमबी बैंकका अनिल बर्तौला, उत्कृष्ट खेलाडी आइसीएफसी फाइनान्सका सुरज तिमिल्सिनालाई पनि ट्रफी प्रदान गरिएको छ।

पुरस्कार वितरण कार्यक्रममा डेपुटी गर्भनर मिश्रले यस क्रिकेट लिग लगायत अन्य सामूहिक खेलले बैंक तथा वित्तीय संस्थाहरूबीच भाइचारा, आत्मियता, सद्भाव, मित्रता बढाउन थप सहयोग पुग्ने बताए। कर्मचारीहरूलाई बैंकिङ गतिविधिमा मात्रै सीमित नराखी उनीहरुलाई मनोञ्जन प्रदान गर्न र उत्पादनशीलतामा वृद्धि गर्न यसले मद्दत पुग्ने उनको भनाइ थियो। नेपाली क्रिकेटको विकासका लागि सम्पूर्ण संस्थाले आफ्नो क्षेत्रबाट योगदान पुर्‍याउन समेत उनले आग्रह गरे।

कार्यक्रममा महालक्ष्मी विकास बैंक तथा उक्त कार्यक्रमका अध्यक्ष राजेश उपाध्यायले खेलमा हार र जित स्वभाविक प्रक्रिया रहेको बताए। यस्ता खेलहरूले कर्मचारीहरूमा समूह निर्माण गर्न, समूहमा नेतृत्वदायी भूमिका निर्वाह गर्न, कार्यकुशलतामा अभिवृद्धि गर्न मद्दत पुर्‍याउने हुँदा समय-समयमा यस्ता गतिविधि संचालन गर्न जरुरी रहेको उनले बताए।