काठमाडौं । सार्थक कार्कीद्वारा लिखित आख्यानत्मक कृति ‘इजाजतपत्र’ सार्वजनिक भएको छ। बिहीबार साङ्ग्रिला बुक पब्लिकेसनले पुस्तक बजारमा ल्याएको हो।
किताबमा राज्य नागरिकको अभिभावक हो कि साथी? शासक हो कि सेवक? यिनै मुख्य विषयलाई समेटिएको छ। त्यस्तै प्रजातन्त्र र व्यक्तिगत स्वतन्त्र साधन होइन साध्य हो भन्ने देखाउन खोजिएको लेखक कार्कीले जानकारी दिए।
रुसो भन्छन् सोसल कन्ट्राक्टको आधार नै समाजभित्रका व्यक्तिहरुको सुरक्षाको सुनिश्चितता एवम् हित प्रवर्धन हो। तसर्थ, राज्यसँग जे पनि गर्न सक्ने प्रकारको असीमित अधिकार छ भन्ने कुरा सरासर गलत हो भन्ने सार दिन खोजिएको लेखक कार्कीले बताए।
पुस्तकमा काल्पनिक पृष्ठभूमि अनुसार राज्यबाट सरकारी सुविधा लिँदा आम मानिसले पाउने हन्डर र ठक्करलाई पनि सटिकरुपमा प्रस्तुत गर्न खोजिएको छ।
११० पेज रहेको पुस्तकमा १८ वटा अध्यायहरू रहेका छन्। साङ्ग्रिला बुकले पुस्तक सार्वजनिक गरे पनि पाठकले भने असारको पहिलो साताबाट मात्र नजिकैको पसलमा किन्न पाउने छन्।
कार्की नेपाली साहित्यको क्षेत्रमा नयाँ छन्। यो उपन्यास उनको पहिलो साहित्यिक कृति हो । अर्थशास्त्र र व्यवस्थापनमा स्नातकोत्तर गरेका उनी पेशागत रुपले केन्द्रीय बैंकर हुन्। विगत १० वर्षदेखि उनी नेपाल राष्ट्र बैंकमा कार्यरत रहेका छन्। हाल नेपाल राष्ट्र बैंकको मुख्य कार्यालय बालुवाटारमा उपनिर्देशकका रुपमा उनी काम गरिरहेका छन्।