अलैंचीको मूल्य बढेर प्रति मन एक लाख रुपैयाँसम्म पुग्यो, उत्पादन भने घट्दो



सरला सुवेदी
२०८१ जेठ २४ गते ०६:१६ | Jun 6, 2024
अलैंचीको मूल्य बढेर प्रति मन एक लाख रुपैयाँसम्म पुग्यो, उत्पादन भने घट्दो

काठमाडौं। अलैंचीको भाउ प्रति मन (४० किलो) एक लाख रुपैयाँसम्म पुगेको छ। उत्पादनमा कमी र मागमा वृद्धिका कारण अलैंचीको भाउ मनकै ९० हजारदेखि १ लाख रुपैयाँसम्म पुगेपछि किसान मालामाल भएका छन्।

Tata
GBIME
Zonsen

नेपाल अलैंची उत्पादक संघका अध्यक्ष निर्मल भट्टराईले गत वर्ष प्रति मन ७० देखि ७५ हजार रुपैयाँमा बिक्री भएको अलैंची अहिले ९० हजारदेखि १ लाख रुपैयाँमा खरिद बिक्री भइरहेको जानकारी दिए।

अलैंचीको भाउ गुणस्तर अनुसार प्रति मन १० हजार रुपैयाँसम्म फरक पर्छ। भट्टराईका अनुसार उच्च गुणस्तरको अलैंची अहिले एक लाख रुपैयाँमा किनबेच भइरहेको छ।

अलैंचीको भाउ गत वर्ष पनि बढेको थियो। परार प्रति किलो १ हजार रुपैयाँमा बिक्री भएको अलैंची अहिले २ हजार ५०० रुपैयाँसम्म पुगेको छ।

यो वर्ष समयमा पानी नपर्दा उत्पादन आधा घटेका कारण पनि मूल्य बढेको हो। वर्षा नहुनुका साथै रोगले पनि उत्पादन घटेको भट्टराईले बताए।

‘पर्याप्त पानी नपर्दा अलैंचीका बोट सुके। उत्पादन ५० प्रतिशत घटेको छ,’ उनले भने, ‘उत्पादन घटे पनि मूल्य राम्रो भएकाले किसानहरु हतोत्साही भएका छैनन्।’

ताप्लेजुङको फुङलिङमा खडेरीले सुकेको अलैंची बगान। तस्वीर : रासस

गत वर्ष एक लाख ५० हजार बोरा अलैंची उत्पादन भएकामा यो वर्षको उत्पादन ८० हजार बोरामा सीमित भएको छ। बोट सुकेका कारण आगामी वर्ष पनि उत्पादन घट्ने अनुमान छ।

नेपालका पूर्वी पहाडी जिल्लामा अलैंचीको व्यावसायिक खेती गरिन्छ। घाम कम लाग्ने तथा समुन्द्र सतहबाट ८०० देखि १८०० मिटर उचाई भएको र २००० देखि २५०० मिलिमिटर पानी पर्ने ठाउँमा यसको व्यावसायिक खेती गर्न सकिन्छ।

खेतीका लागि प्रशस्त प्राङ्गारिक पदार्थ भएको दोमट बलौटे माटो राम्रो मानिन्छ। नेपालमा खासगरी रामशाही, गोलशाही र डम्बरशाही जातको अलैंची खेती गर्ने गरिएको छ।

राम्रो मूल्य पाउने भएका कारण अलैंची खेती अहिले पूर्वी पहाडी जिल्लाबाट अन्यत्र पनि विस्तार भएको छ। तर खेती विस्तारका बाबजुद उत्पादन भने अपेक्षा अनुसार बढ्न सकेको छैन।

सरकारले बजेटमार्फत अलैंचीको ब्राण्डिङ गर्ने घोषणा गरेको छ। किसानहरु भने सरकारले सिँचाइको व्यवस्थाका साथै माटो परीक्षण र नयाँ बिरुवामा सहयोग गर्नुपर्ने बताउँछन्।

यस्तो छ निर्यात

नेपालबाट निर्यात हुने अलैंचीको ठूलो हिस्सा भारत जान्छ। भारतीय व्यवसायीले नेपाली अलैंची बंगलादेशमा बिक्री गर्न थालेका छन्। बंगलादेशमा अलैंचीको माग उच्च छ। तर उत्पादन घटेका कारण निर्यातमा असर परेको छ।

अलैंचीको भाउ यो पटक सोचेभन्दा धेरै रहेको निर्यातकर्ता हेमन्तराज बोहराले बताए। ‘अहिले निर्यात व्यापारमा राम्रो कमाइ छ। तर माग अनुसार निर्यात गर्न सक्ने अवस्था छैन उत्पादन घटेकाले,’ उनले भने। बोहराजस्ता निर्यातकर्ताले किसानसँग किनेर अलैंची विदेश पठाउने गरेका छन्।

चालु आर्थिक वर्ष १० महिनामा नेपालबाट ४४ लाख २५ हजार २४० केजी अलैंची निर्यात भएको छ। ६ अर्ब ९१ करोड रुपैयाँको अलैंची निर्यात गरिएको हो। गत आर्थिक वर्ष २०७९/८० मा ८ अर्ब ९१ करोड रुपैयाँको ९९ लाख ९० हजार केजी अलैंची निर्यात भएको भन्सार विभागको तथ्यांक छ।