एनएमबि क्यापिटलले सामूहिक लगानी कोष (म्युचुअल फण्ड)को बजार विस्तारलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ। स-साना लगानीकर्ताहरुको जोखिम आफूले लिने र उनीहरुलाई उच्च प्रतिफल दिने रणनीति कम्पनीको हो। व्यवस्थापनलाई लाग्छ आफ्नो मात्र नभइ समग्र बजारकै विस्तार हुँदा अर्थतन्त्रले लाभ लिन पाउँछ। पछिल्लो समय जसरी म्युचुअल फण्डहरुमा लगानी बढ्दै छ, जीडीपीमा हिस्सेदारी पनि बढ्दै छ। म्युचुअल फण्डको अहिलेको अवस्था, बजार, इकोसिस्टम लगायतका बारेमा बिजमाण्डूले कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपेशकुमार वैद्य, प्रमुख व्यवसाय अधिकृत आशिषराज पाण्डे र हाइब्रिड फण्ड प्रमुख सिजन सिंह खत्रीसँग सामूहिक संवाद गरेको छ।
नेपाली पुँजी बजारका सन्दर्भमा म्युचुअल फण्डमा लगानीकर्ताहरुको सहभागिता कस्तो छ?
म्युचुअल फण्डहरुले स-साना लगानीकर्ताहरुबाट रकम जम्मा गरेर सो रकमको कोष स्थापना गरी संस्थागत व्यवसायिकता तथा दक्षतामार्फत तोकिएको लगानीको क्षेत्र, जस्तै प्राथमिक र दोस्रो बजारका उपकरणहरु भित्र रही लगानी गर्दछ र आर्जन गर्न सकिने उच्चतम फाइदा आर्जन गरी कोषका इकाईधनीहरुलाई प्रतिफलको रुपमा वितरण गर्दछ।
सन् २०१२ डिसेम्बरमा पहिलो सामूहिक लगानी कोष योजना सञ्चालनमा आए पश्चात हालसम्म १० बन्दमुखी योजनाहरु परिपक्व भएका छन् भने ३७ बन्दमुखी योजना र ७ खुलामुखी योजनाहरु सञ्चालनमा रहेका छन्। सामूहिक लगानी कोष योजना सुरु हुँदा कुल सम्पत्ति व्यवस्थापन रु ०.५ अर्ब रहेकोमा फागुन मसान्त २०८० सम्म आइपुग्दा कुल सम्पत्ति व्यवस्थापन रु ४६.८ अर्ब रहेको छ। यस तथ्यांकबाट पनि आकलन गर्न सकिन्छ कि लगानीकर्ताहरुको सामूहिक लगानी कोष योजनामा सहभागिता बढ्दै गएको छ।
विगतमा खुद्रा लगानीकर्ताहरु भन्दा संस्थागत लगानीकर्ताहरुको उपस्थिति उल्लेख्य रहने गरे तापनि पछिल्लो समयमा लगानीकर्ताहरु माझ सामूहिक लगानी कोष बारेमा जागरुकता बढ्दै गएको देख्न सकिन्छ। थप खुलामुखी योजनाको सुरुवातसँगै सिस्टमिक इन्भेष्टमेन्ट प्लान (एसआइपी) मार्फत खुद्रा लगानीकर्ताहरुको सहभागिता अझ उल्लेख्य रुपमा वृद्धि भइरहेको छ र आगामी दिनहरुमा पनि अझ बढी वृद्घिको सम्भाव्यता रहेको देख्न सक्छौं।
म्युचुअल फण्ड सञ्चालनमा आएको १२ वर्ष भइसकेको छ। यस अवधिमा म्युचुअल फण्डहरुले संस्थागत लगानीकर्ताको रुपमा बजारमा कसरी योगदान पुर्याएका छन्? सहभागी लगानीकर्ताले कसरी फाइदा पाएका छन्?
सन् २०१२ देखि सुरु भएर हालसम्म आइपुग्दा, यस १२ वर्षको अवधिमा नेपालको पुँजी बजारमा संस्थागत लगानीकर्ताको रूपमा म्युचुअल फण्डको उपस्थितिले महत्त्वपूर्ण भूमिका खेलेको छ। प्रथमतः नेपालको पुँजी बजार विकासोन्मुख छ। म्युचुअल फण्डको उपस्थितिले व्यावसायिकता, लगानी व्यवस्थापनमा विशेषज्ञता, अनुभव र जवाफदेहिता बढाउँदै लगेको छ। यस १२ वर्षको अवधिमा ५४ सामूहिक लगानी कोष योजनाहरुले लगानीकर्ताहरुबाट ५० अर्ब रुपैयाँ रकम संकलन गरेका छन् भने १५ अर्ब ३ करोड रुपैयाँ प्रतिफलका रुपमा वितरण गरेका छन्।
हालसम्म १० वटा योजनाहरु परिपक्व भइसकेका छन्, जसको योजनाको आकार ८.८ अर्ब रुपैयाँ थियो र ती योजनाहरुले ७ अर्ब १ करोड रुपैयाँ इकाईधनीहरुलाई फिर्ता गरिसकेका छन्। समग्रमा म्युचुअल फण्डले १२ वर्षको अवधिमा कुल प्रतिफल र कम्पाउन्डिङ प्रतिफल क्रमशः ४७७.२ प्रतिशत र १६.८ प्रतिशत दिन सफल भएको छ भने सोेही समयावधिभित्र पुँजी बजारले क्रमशः २८७.२ प्रतिशत र १२.८ प्रतिशत दिन सफल भएको छ। सामूहिक लगानी कोष योजनाहरुले बजारको उतारचढावलाई उछिन्दै उच्च प्रतिफल दिन सक्षम भएका छन्।
नेपालमा पुँजी बजारलाई विभिन्न कारकहरुले (जस्तै परिवर्तित राष्ट्रिय वा अन्तर्राष्ट्रिय नीति तथा घटनाक्रमहरुको प्रभाव, सीमित लगानी गर्ने क्षेत्रहरु होस् वा अफवाह होस्) प्रभावित गरे पनि सामूहिक लगानी कोषले अनुशासित लगानी रणनीतिहरु अपनाएर बजारलाई अझ परिपक्व बनाउन मद्दत पुर्याएका छन्।
विगतमा प्राविधिक विश्लेषकद्वारा बजार र आर्थिक सूचकहरुको अध्ययन गरी लिइएको रणनीति सही साबित भएको छ र एनएमबि हाइब्रिड फण्ड एल-१ ले त्यसैअनुसार राम्रो प्रदर्शन गरेको छ।
एनएमबि म्युचुअल फण्डको हालसम्म दुई योजना (म्युचुअल फण्ड) परिपक्व भइसकेका छन्। हालसालै परिपक्व एनएमबि हाइब्रिड फण्ड एल-१ सञ्चालन गर्दाको अनुभव कस्तो रह्यो?
हामीले २०७१ सालदेखि हाम्रो प्रथम पाँच वर्षे सामूहिक लगानी कोष योजना एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-१ सञ्चालनमा ल्याएका हौं र २०७६ मा सो योजना परिपक्व भयो। हाल २०८० कात्तिक ८ गते हाम्रो दोस्रो सामूहिक लगानी कोष योजना एनएमबि हाइब्रिड फण्ड एल-१ परिपक्व भएको हो। एनएमबि हाइब्रिड फण्ड एल-१, सात वर्षे योजना, नाम अनुरुप एक ब्यालेन्स्ड् फण्ड हो (जसलाई हाइब्रिड योजना पनि भनिन्छ)। यस योजनाले आफ्नो पोर्टफोलियोमा एक निश्चित अनुपातमा इक्विटी र स्थिर आय उपकरणहरु जस्तै मुद्दती निक्षेप-वन्ड-डिबेञ्चरहरुमा लगानी गर्दछ।
एनएमबि हाइब्रिड फण्डको सम्पत्ति विनियोजन हेर्यौं भने इक्विटी मा अधिकतम ५५ प्रतिशतसम्म र स्थिर आय उपकरणहरुमा अधिकतम ८० प्रतिशतसम्म लगानी गर्नसक्ने व्यवस्था थियो। यस निश्चित अनुपातमा गरिएको लगानीले पोर्टफोलियो विविधीकरण गरी एकातर्फ लगानीको वृद्घि गर्दछ भने अर्कोतर्फ स्थिर आम्दानी प्रदान गरी योजनाको नाम अनुरुप नै पोर्टफोलियोलाई सन्तुलनमा राख्दछ, जसले गर्दा बजारको उतारचढावमा पनि हाइब्रिड योजनाले राम्रै प्रदर्शन गर्ने गर्दछ।
एनएमबि हाइब्रिड फण्ड एल-१, नेप्से परिसूचक सन् २०१६ को उच्च विन्दुमा रहँदा ल्याइएको योजना हो। हाम्रो अनुसन्धान र रणनीतिअनुसार त्यसबेला बजार उच्च रहेको र त्यस्तो परिस्थितिमा इक्विटी योजनाभन्दा हाइब्रिड योजना, जसले इक्विटी र स्थिर आय उपकरणहरुमा निश्चित अनुपातमा लगानी गरी इक्विटी लगानीमा पुँजी घाटा हुनसक्ने जोखिमलाई व्यवस्थापन गर्न सक्छ भन्ने उद्देश्यले ल्याइएको योजना हो।
आज आएर विगतमा प्राविधिक विश्लेषकद्वारा बजार र आर्थिक सूचकहरुको अध्ययन गरी लिइएको रणनीति सही साबित भएको छ र एनएमबि हाइब्रिड फण्ड एल-१ ले त्यसैअनुसार राम्रो प्रदर्शन गरेको छ। यस योजनाको समयावधिमा खुद सम्पत्ति मूल्य (लाभांश समायोजनसहित) मा ७८ प्रतिशतले वृद्घि भयो भने सोही अवधिमा नेप्से सूचांकमा १७ प्रतिशतको वृद्धि भएको छ। योजनाले आव २०७५/७६, आव ०७६/७७, आव ०७७/७८, आव ०७८/७९ र आव ०७९/८० मा क्रमशः १०, ८, २०, २१ र १५ प्रतिशत नगद लाभांश वितरण गर्न सफल भयो।
कुनै पनि परिपक्व भएको सामूहिक लगानी कोष योजनाले नेपाल धितोपत्र बोर्डको निर्देशन र सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम योजना परिपक्व भएको मिति पश्चात तीन महिना भित्र इकाईधनीहरुलाई साँवा र प्रतिफल वितरण गर्नुपर्ने हुन्छ। हामीले पनि योजना परिपक्व भएको मिति पश्चात बाँकि रहेका सेयर/डिबेञ्चरहरु दोस्रो बजार र लिलाम बढाबढमार्फत बिक्री गरी नगदमा परिणत गरेर इकाईधनीहरुलाई नियम बमोजिम समयावधि भित्र फिर्ता भुक्तानी गर्यौं। एनएमबि हाइब्रिड फण्ड एल-१ साँवा तथा विगतमा वितरण गरेको प्रतिफलसहित कुल रु १७.८० रह्यो।
तपाईहरुको तीन वटा फण्ड सञ्चालनमा छन्, तिनीहरुको अवस्था कस्तो छ?
एनएमबि म्युचुअल फण्डअन्तर्गत दुई योजना परिपक्व भइसकेको छ र हाल तीन योजना सञ्चालनमा छन्। हाम्रो सबै योजनाहरु भिन्न बजार परिस्थितिमा योजनाबद्ध रुपले कार्यान्वयन गर्न ल्याइएका हुन्। एनएमबि ५० एनएमबि म्युचुअल फण्ड अन्तर्गतको तेस्रो म्युचुअल फण्ड योजना हो। यसको नाम अनुरुप नै योजनाले नेपाल स्टक एक्सचेञ्जमा उत्कृष्ट प्रदर्शन गर्ने ५० वा सो भन्दा कम सेयरहरु आफ्नो पोर्टफोलियोमा समावेश गर्दछ। यो एउटा ग्रोथ स्किम (फोकस्ड इन म्याक्सिमाइजिङ इक्विटी रिटर्न) प्रकारको योजना रहेकाले योजनाको प्राथमिक उद्देश्य बजारमा अवमूल्यन भएका र पुँजी लाभको सम्भावना प्रदर्शित गर्ने कम्पनीहरुमा लगानी गरी उच्चतम प्रतिफल हासिल गर्नेे रहेको छ।
२०८० फागुन ३० गते योजनाको खुद सम्पत्ति मूल्य (एनएभि) १० रुपैयाँ ८६ पैसा कायम रहेको छ। नेप्सेमा सूचीकृत भई कारोबार खुल्दा १,१९६.४२ विन्दु रहेको नेप्से सूचकांकमा ७६ प्रतिशतको वृद्धि आई २०८० फागुन ३० गते २,१०८.८२ विन्दु कायम भएको छ भने सोही अवधिमा योजनाको खुद सम्पत्ति मूल्य (लाभांश समायोजनसहित) मा ८० प्रतिशतले वृद्धि भएको छ। विगतका वर्षहरुमा आव ०७६/७७, ०७७/७८, ०७८/७९ र ०७९/८० मा क्रमशः ५, ३०, २१, १५ प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ।
एनएमबि म्युचुअल फण्ड अन्तर्गतको चौथो म्युचुअल फण्ड योजना र प्रथम खुलामुखी योजना एनएमबि सरल बचत फण्ड-इ रहेको छ। यो योजना पनि ग्रोथ स्किम प्रकारको रहेकाले मुख्यतः लगानी इक्विटीमा छ। यसको प्राथमिक उद्देश्य बजारमा अवमूल्यन भएका सेयरहरुमा लगानी गरी सो सेयरहरुको मूल्यमा मूल्य प्रदर्शित नभएसम्म होल्ड गरी उच्चतम प्रतिफल हासिल गर्नेे रहेको छ।
यो योजना खुलामुखी योजना भएकाले निरन्तर चलिरहने र बजारमा रहने अस्थायी अस्थिरताको प्रभावलाई हटाइ दीर्घकालीन प्रतिबद्धतामा फोकस छ। यो योजनाको २०८० फागुन ३० गते खुद सम्पत्ति मूल्य (एनएभि) ९ रुपैयाँ ३१ पैसा कायम छ। नेप्सेमा सूचीकृत भई कारोबार खुल्दा २,७१२.०७ विन्दु रहेको नेप्से सूचांकमा २२ प्रतिशतको कमी आई २०८० फाल्गुन ३० गते २,१०८.८२ विन्दु कायम भएको छ भने सोही अवधिमा योजनाको खुद सम्पत्ति मूल्य (एनएभि) मा ७ प्रतिशतले कमी भएको छ।
एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-२ एक इक्विटीमा लगानी गर्ने फण्ड हो, जसले सूचीकृत कम्पनीहरुमध्ये अध्ययनबाट देखिएको उत्कृष्ट प्रतिफल दिने कम्पनीहरुमा उचित मूल्यमा लगानी गर्छ। आर्जित प्रतिफलबाट यस कोषको लगानीकर्तालाई क्रमिक लाभांश प्रदान गर्ने तथा बाँकी प्रतिफललाई पुनः लगानी गरी योजना परिपक्व हुने समयमा आकर्षक प्रतिफलसहित एकमुष्ट रकम फिर्ता गर्ने उद्देश्य लिएको छ।
२०८० फाल्गुन ३० गते योजनाको खुद सम्पत्ति मूल्य (एनएभि) ११ रुपैयाँ ४५ पैसा कायम रहेको छ। नेप्सेमा सूचीकृत भई कारोबार खुल्दा १,९७०.६२ विन्दु रहेको नेप्से सूचकांकमा ७ प्रतिशतको वृद्धि आई २०८० फागुन ३० गते २,१०८.८२ विन्दु कायम भएको छ भने सोही अवधिमा योजनाको खुद सम्पत्ति मूल्य (एनएभि) मा १५ प्रतिशतले वृद्धि भएको छ।
यस १० वर्षको म्युचुअल फण्ड सञ्चालनको अवधिमा, एनएमबि म्युचुअल फण्डले वार्षिक प्रतिफल (कम्पाउन्डिङ) १३.८ प्रतिशत हासिल गर्न सफल भएको छ भने सोही अवधिमा पुँजी बजार र म्युचुअल फण्ड व्यवसायले क्रमशः ८.७ र औसत १२.२ प्रतिशत हासिल गरेको छ ।
लगभग एक लाख एसआइपी लगानीकर्ताहरुले खुलामुखी योजनामार्फत दैनिक एक करोड रुपैयाँ सेयर बजारमा लगानी गरिरहेका छन्। तसर्थ यस क्षेत्रमा उल्लेख्य वृद्घि भइरहेको र आगामी दिनहरुमा पनि अझ बढि वृद्घिको सम्भाव्यता छ।
यस क्षेत्रमा करिअर बनाउन चाहनेहरुलाई स्कोप कस्तो छ?
नेपालको परिवेशमा म्युचुअल फण्ड व्यवसाय एक बढ्दो क्षेत्र हो, जो निरन्तर विकसित भइरहेको छ। हाल यो क्षेत्र विकासउन्मुख रहे तापनि यसै क्षेत्रमा करिअर बनाउन इच्छुक व्यक्तिहरुलाई अवसरको दायरा भने फराकिलो हुँदै गइरहेको छ। तथापि यस क्षेत्रमा सफलता हासिल गर्न शैक्षिक पृष्ठभूमि, विश्लेषणात्मक सीपहरु, कार्य अनुभव, लगानी रणनिति, सम्बन्ध व्यवस्थापनहरुले महत्त्वपूर्ण भूमिका खेल्ने गर्छ। यस बढ्दो क्षेत्रले इच्छुक व्यक्तिहरुलाई नयाँ आयामहरु प्रदान गरी व्यवसायिक वृद्घि र विकासको लागि अवसर प्रदान गर्नेछ।
यस क्षेत्रमा प्रतिस्पर्धात्मक रहिरहन पुँजी बजारको विद्यमान अवस्था, यसको प्रवृत्ति र प्रकृति तथा बजार संरचनाको गहिरो अध्ययन, अनुसन्धान तथा विश्लेषण, आर्थिक सूचकहरुको अध्ययन, नीति नियममा परिवर्तन, अर्थव्यवस्थाको बलियो समझ साथै अपडेट रहिरहन आवश्यक हुन्छ। साथै जोखिम मूल्यांकन गर्ने, डेटा विश्लेषण गर्ने, धितोपत्रहरुको गहिरो समझ राखी लगानी व्यवस्थापन गर्न सक्ने, सूचित लगानी निर्णय लिन सक्ने सीपहरु हुन पनि आवश्यक रहन्छ।
भविष्यमा अरु कुनै नयाँ म्युचुअल फण्ड ल्याउने योजना छ?
एनएमबि म्युचुअल फण्डको छैटौं योजनाको रुपमा एनएमबि हाइब्रिड फण्ड एल-२ को संशोधित विवरणपत्र हामीले नेपाल धितोपत्र बोर्डमा पेस गरिसकेका छौं र अन्तिम स्वीकृतिको पर्खाइमा छौं। यस योजनामा हामीले अघि छलफल गरेको परिपक्व भएको योजना एनएमबि हाइब्रिड फण्ड एल-१ जस्तै विशेषताहरु हुनेछन्। यो योजनाले पनि निश्चित अनुपातमा इक्विटी र स्थिर आय उपकरणहरुमा लगानी गरी लगानीकर्ताहरुको पुँजी वृद्घि साथै पुँजी संरक्षण गरेर उचित प्रतिफल प्रदान गर्नेछ।
नयाँ क्षेत्रहरुको अन्वेषण गरी कार्य विस्तार गर्दै जाँदा अर्थतन्त्र पनि चलायमान रहने र थप वृद्धिको अवसर प्रदान गर्ने देखिन्छ।
आगामी दिनहरुमा म्युचुअल फण्ड व्यवसायले कस्तो आकार लिने देख्नुहुन्छ? नेपालको पुँजी बजारमा म्युचुअल फण्डको कस्तो सहभागिताको अपेक्षा राख्नु भएको छ?
म्युचुअल फण्ड व्यवसायमा हाल मुख्यतः बन्दमुखी योजनाहरुको बाहुल्यता छ। सन् २०१९ देखि खुलामुखी योजना सञ्चालनमा आएपछि हालसम्म थप ६ वटा खुलामुखी योजनाहरु सञ्चालनमा आइसकेका छन्। म्युचुअल फण्डको बजारमा उपस्थिति सन् २०१५ मा म्युचुअल फण्ड एसेटमा जीडीपी अनुपात ०.२४ प्रतिशत कायम रहेकोमा सन् २०२४ को मार्चसम्मको म्युचुअल फण्ड एसेटमा जीडीपी अनुपात वृद्धि भई ०.८७ प्रतिशत रहेको छ। म्युचुअल फण्डको बजारमा उपस्थिति २०१५ को तुलनामा वृद्धि भए पनि हाम्रो छिमेकी देशहरु जस्तै भारत (१५.९० प्रतिशत) र चीनको (२०.९० प्रतिशत) तुलनामा यो अनुपात निकै नै कम रहेको छ।
साथै भारतमा सन् २०१३ मे देखि २०२३ मे सम्मको म्युचुअल फण्डको प्रवृत्ति हेर्ने हो बन्दमुखी योजनाहरुको संख्या घट्दो (४१७ देखि १४० को घटी) र खुलामुखी योजनाको संख्या बढ्दो (७५० देखि १,२८९ को वृद्घि) रहेको पाइन्छ। साथै म्युचुअल फण्ड व्यवसाय पनि १० गुणाले वृद्घि भएको पाइन्छ।
नेपालको परिवेशमा पनि म्युचुअल फण्डमा बढ्दो सहभागिता र खुलामुखी योजनाको प्रवेशसँगै, यस क्षेत्रमा अझ पनि वृद्धि र नयाँ आयामहरुकालागि उल्लेखिय सम्भावना रहेकाले आगामी दिनहरुमा यस क्षेत्रको वृद्घि उल्लेखनीय रहने आशय व्यक्त गर्न सकिन्छ। खुलामुखी योजनाको एसआइपीअन्तर्गत इकाईधनीहरुले निरन्तर रुपमा लगानी गर्दै आएका छन्। सो लगानीकर्ताहरुको सहभागिता साथै संख्या पनि निरन्तर रुपमा बढ्दै नै गएकाले योजनाको आकार क्रमिक रुपमा वृद्धि हुँदै गएको छ साथै कुल सम्पत्ति व्यवस्थापन वृद्धिमा पनि सहयोग पुगिराखेको छ।
लगभग एक लाख एसआइपी लगानीकर्ताहरुले खुलामुखी योजनामार्फत दैनिक एक करोड रुपैयाँ सेयर बजारमा लगानी गरिरहेका छन्। तसर्थ यस क्षेत्रमा उल्लेख्य वृद्धि भइरहेको र आगामी दिनहरुमा पनि अझ बढि वृद्घिको सम्भाव्यता छ। साथै आउँदा दिनहरुमा यस क्षेत्रमा रहेका अवस्थित कोषको प्रकार बाहेकका नयाँ प्रकारको कोषहरु पनि सञ्चालनमा आई यस व्यवसायलाई नयाँ उचाइमा पुर्याउने हाम्रो विश्वास छ।
नेपाली पुँजी बजारले देशको अर्थतन्त्रमा कसरी योगदान पुर्यायाएको छ र कसरी थप योगदान गर्न सक्छ?
नेपालको पुँजी बजारले लगानी, उद्यमशीलता र विकास प्रवर्धन गरी आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका खेलेको छ। पुँजी बजारले कम्पनीहरुलाई विभिन्न उपकरणहरु जस्तै इक्विटी, बन्ड, डिबेञ्चर निष्कासनमार्फत दीर्घकालीन फण्ड उठाएर नयाँ परियोजना, पुँजी वृद्धि, सञ्चालन विस्तार, रोजगारीको अवसर प्रदान गरी आर्थिक विकासमा मद्दत गरिरहेको छ।
प्राथमिक सेयर निष्कासनको क्षेत्र वृद्धि हुँदै गइरहेको र बुक बिल्डिङ विधिअन्तर्गत धितोपत्रको सार्वजनिक निष्कासनका लागि बाटो खुलेसँगै थप निजी क्षेत्रका कम्पनीहरु पब्लिक कम्पनीको रुपमा रुपान्तरण भई प्राथमिक सेयर निष्कासनमा आउन उत्प्रेरित हुने देख्न सक्छौं। यसरी अवस्थित र नयाँ क्षेत्रहरुको अन्वेषण गरी कार्य विस्तार गर्दै जाँदा अर्थतन्त्र पनि चलायमान रहने र थप वृद्धिको अवसर प्रदान गर्ने देखिन्छ।