‘नेपाललाई पर्यटनसँगै व्यापारको हब बनाउन सकिन्छ, उड्डयन क्षेत्र लाइफलाइन हो’

बिजमाण्डू
२०८१ जेठ १० गते १८:५२ | May 23, 2024
‘नेपाललाई पर्यटनसँगै व्यापारको हब बनाउन सकिन्छ, उड्डयन क्षेत्र लाइफलाइन हो’
  • प्रदीप अधिकारी

चीन र भारतबीच अवस्थित नेपालमा भौगोलिक हिसाबले तीन किसिमका संरचना छन्। उत्तरी क्षेत्रमा अग्ला पहाड तथा हिमाल छन्। दक्षिणी भेगमा उपत्यका, समथर भूभाग, खेतीयोग्य जमिनसँगै घनाजंगल। यो भौगोलिक अवस्थामा रहेको नेपालको मुख्य आम्दानीको स्रोत भनेकै कृषि हो। यही क्षेत्रमा धेरैले रोजागारी पाएका छन्। अहिले विस्तारै अन्य क्षेत्रको पनि विस्तार पनि व्यापक भइरहेको छ।

Tata
GBIME

हिमाल पहाड भएको मुलुकका लागि उड्डयन क्षेत्र आधारभूत लाइफलाइन हो। हामीसँग ५५ वटा विमानस्थल छन् जस अन्तर्गत तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल छन् समथर क्षेत्रमा १० वटा र हिमाली क्षेत्रमा ३३ वटा विमानस्थल छन्। नेपालको सबै भूभागमा सडकको पहुँच पुगेको छैन।

हिमाली र पहाडी क्षेत्रमा नुन, कपडा, पाठ्यपुस्तक लगायत सामाग्री पुर्‍याउन विमानस्थल नै यातायातको प्रमुख माध्यम हो। अरु मुलुकमा उड्डयन क्षेत्रलाई सोखको रुपमा लिइन्छ तर नेपालका लागि यो आधारभुत जीवन रेखा हो। हवाई यातायात नै हाम्रो मुलुकका लागि विश्वसनीय यात्राको माध्यम हो।

पर्यटन र व्यापार व्यवसाय प्रवर्धनसँगै आन्तरिक गन्तव्य जोड्ने प्रमुख माध्यम पनि हवाई यातायात नै हो। आन्तरिक र अन्तर्राष्ट्रिय उडानमार्फत यहाँ वार्षिक १० लाख भन्दा बढी यात्रुले सेवा लिँदै आएका छन्। नेपाल जस्तो मुलुक कहिँ पनि पाउन सक्नु हुन्न, नेपाल स्वर्ग हो।

नेपालमा कतिपय विमानस्थल उच्चस्थानमा रहेका छन्। उच्चस्थान, रनवे स्लोप, अनुमान नै गर्न नसकिने मौसमसँग तुलना गर्ने हो भने क्यानडामा उत्पादन हुँदै आएको दुर्गम उडान प्रयोजनका जहाज १२ हजार फीट उचाईसम्म उडान गर्न सक्छन्। यो भनेको साँघुरा क्षेत्रमा उडान गर्नुपर्ने हन्छ। हिमाल र पहाडबीचमा जहाज उडान गर्नुपर्ने हुन्छ जुन हाम्रा लागि निकै चुनौतीपुर्ण रहेको छ।

हिमाल मूनि जहाज उडान अझै बढी चुनौतीपूर्ण छ। अहिलेसम्म अपनाइएका अधिकांश जलवायु मापन ढाँचा असफल भइसके। दुई मिनेटको अन्तरालमै हिमाली क्षेत्रको मौसम परिवर्तन हुन्छ। दुई सेकेण्डको अन्तरालमा बादलले ढपक्कै छोपिदिन्छ।

त्यसैले दुई ठूला देशबीच सानो देश भएर बस्दा अवसर र चुनौती दुवै छन्। केही कुरामा हामीले हुन्छ भन्नै पर्छ। र, उनीहरुलाई भने हुन्न भन्ने अधिकार छ।

नेपाल जलवायु परिवर्तनले प्रभावित मुलुक हो। सेतो हिउँले ढपक्क हुने हिमाल पछिल्लो समय काला पत्थरमा परिणत भइसकेका छन्। नदीहरु सुक्दै गएका छन्। बाढी, पहिरो, हिमपहिरो, हिमताल फुट्ने लगायत समस्या विद्यमान छ। हाम्रो लागि जलवायु परिवर्तन नै ठूलो समस्याको विषय हो। र, यो नेपालको मात्रै समस्या भने होइन।

नेपाल बाहिर पनि नदी सुक्दै गएका छन्, सागर खुम्चिन थालेका छन्। यतिखेर हामी निकै नाजुक अवस्थामा छौं। अहिलेको महत्वपूर्ण समस्या भनेकै जलवायु परिवर्तन हो। र, यसलाई समाधान पनि गर्नुपर्छ। जलवायु परिवर्तनबाट भोग्नुपर्ने समस्याबाट नेपाललाई मुक्त बनाउन आवश्यक छ। यदी नेपाल जलवायु परिवर्तन समस्याको भूमरीमा पर्‍यो भने विश्वका अन्य मुलुक पनि त्यही भूमरीमा होमिनुपर्छ।

नेपालमा अर्को समस्या भनेको वैदेशिक रोजगार हो। सानो मुलुक र कमजोर अर्थतन्त्र भएका कारण दक्ष जनशक्ति आफ्नो देश छोडेर विदेश जान थालका छन्।

लगानी गर्ने हो भने नेपालमा विविध सम्भावना छन्। लगानी गर्न सकिने प्रमुख क्षेत्र भनेकै पर्यटन, उर्जा र उड्डयन क्षेत्र हो। जसमार्फत नेपाललाई पर्यटनसँगै व्यापारको हब बनाउन सकिन्छ।

नेपालसँग विश्वको सर्वोच्च शिखर सगरमाथामात्र नभइ विश्वभरका अग्ला मध्ये सात हिमाल छन्। र, हिमाल आरोहणसँगै पर्वतारोहण, प्याराग्लाइडीङ, अल्ट्रालाइट, स्काइ डाइभ लगायत साहसिक पर्यटकीय गतिविधिको पनि प्रचुर सम्भावना छ।

नेपालमा ‍विशेषगरि हिमाली र पहाडी क्षेत्रमा पर्यटन क्षेत्रको ठूलो अवसर छ, जसको मज्जा पर्यटकले लिन सक्छन्। पहाडी र हिमाली क्षेत्रमा नदी, नाला, ताल, झरना लगायत सबै देख्न सकिन्छ। समथर भूभागमा जाने हो भने यहाँ घनाजंगल, विभिन्न राष्ट्रिय निकुञ्ज छन्। ती निकुञ्जमा एक सिंगे गैँडा, हात्तीलगायत लोपोन्मुख प्रजातीका जनावर, चराचुरुङ्गी, वनस्पती लगायत छन्।

नेपाल एकदमै सुन्दर देश हो। हामीले ३ वटा अन्तर्राष्ट्रिय विमानस्थल तयार गरिसकेका छौँ। हाम्रा पुर्वाधार तयार भइसकेका छन्। त्यसैकारण अब हामीलाई वायुसेवा, होटल, रेष्टुरेन्ट लगायत उद्योगमा लगानीको आवश्यक छ।

नेपालमा जस्तो एयर कन्डिसनयुक्त हावा अरु मुलुकमा पाउन मुस्किल छ। हामीले तीन प्रमुख क्षेत्रमा लगानी भित्र्याउनका लागि लगानीमैत्री नियम, वैधानिकता, भिसा प्रणाली लगायत तयार गर्दैछौँ।

अर्को महत्वपुर्ण क्षेत्र भनेको भगवान गौतमबुद्धको जन्मस्थान लुम्बिनी हो। विश्वभर लाखौं बौद्ध धर्मावलम्बी छन्। हामीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा ल्याउनुको मूल उद्देश्य भनेकै विश्वभरका बौद्ध धर्मावलम्बीलाई सीधा लुम्बिनीतर्फको पहुँच बनाइदिन हो। लगानी गर्नका लागि यो पनि एउटा प्रमुख क्षेत्र हो।

नेपालसँग ८३ हजार मेगावाट बिजुली उत्पादन गर्ने क्षमता छ। नेपालमा उत्पादित बिजुलीले सहजै उद्योग, कलकारखाना, विमानस्थल लगायत क्षेत्र संचालन गर्न सक्छौं।

कृषिका लागि यहाँ धेरै उर्वर भूमि छन्। कृषिका लागि पानी पनि मनग्य छ। अर्ग्यानिक फलफूल र तरकारी उत्पादन गर्न निकै सहज छ। ३० लाख भन्दा बढी जनताले नेपालमा उत्पादित फलफूल, तरकारी लगायत सीधा उडान मार्फत मध्यपूर्व क्षेत्रमा निर्यात गरे भने हवाई सञ्जाल विस्तारको वातावरण पनि सिर्जना हुने दखिन्छ। स्वदेशमै बसेर काम गर्दा आफ्नो मनसँगै विश्व शान्ति नै कायम हुने देखिन्छ।

साउदी अरेबियाको रियादमा आयोजित फ्युचर एभिएसन फोरम २०२४ मा नेपालको उड्डयन क्षेत्रको चुनौती, अवधारणा, लगानी अवसरबारे नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले व्यक्त गरेको विचारको सम्पादित अंश