मधेश प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर, सचेतनाको कमीले आकर्षणमा कमी



बिजमाण्डू
२०८१ जेठ २ गते १४:२२ | May 15, 2024
मधेश प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर, सचेतनाको कमीले आकर्षणमा कमी

वीरगंज। मधेश प्रदेशका ९० दशमलव ६ प्रतिशत नागरिक बीमाको पहुँच बाहिर रहेका छन्। यहाँ बीमासम्बन्धी सचेतनाको कमी र सीमापार बीमा गर्ने परिपाटीका कारण बीमाप्रतिको आकर्षणमा कमी आएको हो।

Tata
GBIME
Zonsen

मधेश प्रदेशको कुल जनसङ्ख्या ६१ लाख १४ हजार रहेको छ। नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयका अनुसार प्रदेशको कुल जनसङ्ख्यामध्ये २०८० चैत मसान्तसम्म ९ दशमलव ४ प्रतिशत अर्थात् ५ लाख ७३ हजार ४ सय ३३ जनाले मात्रै बीमा गराएका छन्।

यो तथ्याङ्कले मधेश प्रदेशमा बीमाप्रति सर्वसाधारणको आकर्षण कम रहेको देखाउँछ। नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयका प्रमुख कुशुम शर्माले मधेश प्रदेशमा बीमाको पहुँच कम भएकाले ३ वटै तहका सरकारको समन्वयमा प्रदेशभरिका जनताको बीमा गर्ने योजना अघि बढाउन आवश्यक रहेको बताइन्।

‘मधेश प्रदेशमा बीमाको पहुँच न्यून देखिएको छ। यहाँका जनताको आर्थिक तथा स्वास्थ्यको स्तर कमजोर भएकाले ३ वटै तहको सरकारले आवश्यक समन्वय गरेर प्रदेशभरिका जनताको बीमा गरिदिने परिपाटीको विकास गर्न आवश्यक देखिएको छ,’ उनले भनिन्, ‘यसअघि कर्णाली प्रदेश सरकारले त्यहाँका सबै जनताको बीमा गरिदिएझैँ यहाँ पनि सबै जनताको बीमा गर्न जरुरत देखिन्छ, त्यसका लागि आवश्यक सहजीकरण गर्न प्राधिकरण तयार छ।’

मधेश प्रदेशमा मात्रै होइन, समग्र मुलुकभरिका नागरिकमा बीमा पहुँचको अवस्था सन्तोषजनक छैन। विसं २०८० को चैत मसान्तसम्म मुलुकभरिका ४३ दशमलव ३ प्रतिशत जनसङ्ख्या मात्रै बीमाको पहुँचमा छन्। अझै ५६ दशमलव ७ प्रतिशत नागरिक जीवन बीमाको पहुँचभन्दा बाहिर छन्। विसं २०७५ सम्म मुलुकभरि १७ प्रतिशत जनता बीमाको पहुँचमा थिए।

प्राधिकरण मधेश कार्यालयका सहायक निर्देशक निर्मल खनालले मधेश प्रदेशका नागरिकमा बीमा साक्षरतासम्बन्धी ज्ञानको कमी र सीमावर्ती बजारमा बीमा गर्ने परम्पराले बीमाको पहुँचमा कमी आएको बताए।

‘मधेश प्रदेशमा उच्च गरिबी र अशिक्षाका कारण बीमा गर्नुपर्छ भन्‍ने सोचको विकास हुन सकेको छैन,’ उनले भने, ‘भारतीय सीमावर्ती बजारका कारण सीमापारी बीमा गर्ने परिपाटीले मधेश प्रदेशमा बीमाप्रति सर्वसाधारणको आकर्षण अपेक्षाकृत रुपमा बढाउन सकिएको छैन।’

बीमाबाट अनुचित लाभ लिन खोज्ने प्रवृत्ति, बीमकको शाखा/उपशाखामा न्यून जनशक्ति र बीमासम्बन्धी गलत बुझाईले बीमालाई प्राथमिकता नदिँदा आकर्षण बढ्न सकेको छैन।

निप्स ननलाइफ वीरगंजका अध्यक्ष धीरज शर्माले मधेश प्रदेशका जनता गरिबीको रेखामुनि र आर्थिक अवस्था कमजोर भएकाले राज्यकै तर्फबाट बीमा गर्ने संस्कारको विकास गर्न आवश्यक रहेको बताए।

निप्स लाइफ वीरगंजका अध्यक्ष प्रमोदप्रसाद शाहले बीमा कम्पनीबीचको अस्वस्थ प्रतिस्पर्धाको मारमा सर्वसाधारण पर्दा बीमाप्रतिको आकर्षण बढाउन नसकिएको बताए।

‘अचेल बीमा कम्पनीबीचको अस्वस्थ प्रतिस्पर्धाले बीमा गर्ने सर्वसाधारण मर्कामा परेका छन्। यस्ता विकृति-विसङ्गतिलाई प्राधिकरणले न्यूनीकरण गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्छ,’ उनले भने।

बीमा गर्नेले बीमा कम्पनीलाई बीमाको प्रिमियम तिरेपनि तत्कालै बीमाको दाबी भुक्तानी गर्नुपर्ने उनले बताए।

‘बीमा दाबी भुक्तानी प्रक्रियागत झन्झट र लम्बेतान प्रक्रियाले सर्वसाधारणले समस्या भोगिरहनुभएको छ। सर्वसाधारणले भोगेका समस्या समाधान गर्न हामीले आवश्यक काम गर्दै आइरहेका छौँ,’ शाहले भने, ‘बीमा कम्पनीले बीमाकर्ताबाट प्रिमियम लिएपछि भुक्तानी प्रक्रियालाई सहज बनाएर सर्वसाधारणलाई बीमाप्रति आकर्षण बढाउनेतर्फ आवश्यक कदम चाल्न जरुरी छ।’

प्राधिकरणले बीमा क्षेत्रमा देखिएका विकृति अन्त्य गर्न विभिन्‍न कार्यक्रम गर्दै आइरहेको छ। कार्यालयका अनुसार मधेश प्रदेशमा २०८० चैत मसान्तसम्म जीवन बीमातर्फ २ सय २५ शाखा कार्यालय रहेका छन्।

त्यस्तै, निर्जीवन बीमातर्फ १ सय २८ र माइक्रो जीवन बीमातर्फ ७ र माइक्रो निर्जीवन बीमातर्फ ४ गरी कुल ३ सय ६४ वटा बीमा कार्यालयका शाखा छन्। गत आवमा जीवन र निर्जीवन र अन्यतर्फ गरेर ३ सय ४० वटा शाखा कार्यालय रहेका थिए।

बीमा कार्यालयहरूमा कुल १ हजार १ सय ६५ जनाले रोजगारी पाएका छन्। प्राधिकरणका अनुसार गत आवसम्म मधेश प्रदेशमा सक्रिय बीमालेख सङ्ख्या ५ लाख ७४ हजार ४ सय १२ रहेको थियो। मधेश प्रदेशमा चालु आवको चैत मसान्तसम्ममा कुल बीमा शुल्क सङ्कलन ९ अर्ब ८४ करोड रुपैयाँ रहेको छ। ‘म्याचुरिटी’ दाबी बीमालेख सङ्ख्या ९ हजार ४ सय ७७ छ।

मधेश प्रदेशमा ‘सरेन्डर’ बीमालेख सङ्ख्या ९ हजार ४ सय ६५ छ। कार्यालयका अनुसार चालु आवमा दाबी भुक्तानी बीमालेख सङ्ख्या १५ हजार ४ सय ५० रहेको छ। मधेश प्रदेशमा निर्जीवन सक्रिय बीमालेख सङ्ख्या २ लाख ३८ हजार ३ सय ४१ छ। त्यस्तै, निर्जीवन बीमातर्फ कुल बीमा शुल्क सङ्कलन १ अर्ब ९९ करोड रुपैयाँ रहेको छ।

मधेश प्रदेशमा कुल ‘ग्रेस क्लेम’ बीमालेख सङ्ख्या ६ हजार ३ सय ९४ रहेको छ। कुल दाबी भुक्तानी बीमालेख सङ्ख्या ५ हजार १८ रहेको छ। रासस