
काठमाडौं। चितवनको मेघौली-१ स्थित बाराही जंगल लजले आसपासको सार्वजनिक क्षेत्रमा सरसफाइ गरेको छ। चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा सरसफाइ कार्यक्रम गरेको हो।
लजदेखि ३ किलोमिटर आसपासका क्षेत्रमा गरिएको सरसफाइमा तीन ट्रयाक्टर फोहोर संकलन भएको छ। लजका फुड एण्ड बेभरेज म्यानेजर तेज थनेतका अनुसार लजदेखि तल गोलाघाटसम्म नारायणी नदी आसपास क्षेत्रको फोहोर संकलन गरिएको हो।
राष्ट्रिय निकुञ्जको सरसफाइमा सरोकारवाला सबै लाग्नुपर्ने आवश्यक देखिएको उनले बताए। वातावरण संरक्षण र दिगो विकासको उद्देश्य अनुसार बर्सेनि उक्त क्षेत्रमा सरसफाइ कार्यक्रम आयोजना गर्दै आएको उनले जानकारी दिए।
वातावरण संरक्षणलाई विशेष जोड दिएको यो रिसोर्टले ‘टफ्ट टाइगर’ अन्तर्गत इको सर्टिफाइड लजको समेत मान्यता पाएको छ। रिसोर्टले सन् २०१५ देखि हालसम्म निरन्तर उच्च स्तरको (आउटस्ट्याण्डिङ प्राक्टिस) विधाअन्तर्गत मान्यता प्राप्त गर्दै आएको छ।
जंगल थिममा बनेको रिसोर्ट १२ हेक्टर भूभागमा विस्तार भएको छ। सन् २०१३ देखि यो रिसोर्ट संचालनमा आएको हो।