
काठमाडौं । माछापुच्छ्रे बैंक र एनसेल लिजेन्ड्स जारी कर्पोरेट सुपर सिक्सेस सिजन–७ मा समूहचरणको खेलमा अपराजित रहँदै क्वाटरफाइनलमा पुगेका छन्।
एसएस इभेन्ट्स प्राली र नेकोसको संयुक्त आयोजनामा मूलपानी क्रिकेट मैदानमा जारी कर्पोरेट सुपर सिक्सेस सिजन–७ मा सोमबार क्वाटरफाइनल समीकरण पूरा भएको हो।
तीनदिने प्रतियोगिताको क्वाटरफाइनल, सेमिफाइनल र फाइनल मंगलबार नै हुनेछन्। मंगलबारको पहिलो क्वाटरफाइनलमा माछापुच्छ्रे र सिप्रदी, दोस्रो क्वाटरफाइनलमा आइसिएफसीले एनआइसी एसियासँग खेल्नेछ। यस्तै, तेस्रो खेलमा एनसेल लिजेन्ड्सले राष्ट्रिय वाणिज्य बैंक र चौथो खेलमामा सुबिसुले सूर्य नेपालसँग प्रतिस्पर्धा गर्नेछ।
मूलपानी क्रिकेट मैदानमा भएको खेलमा समूह ‘ए’ को माछापुच्छ्रे र समूह ‘सी’ को एनसेल समान तीन खेल जित्दै समूहविजेताका रूपमा क्वाटरफाइनलमा पुगेका हुन्। पाँच ओभरमा भएको कर्पोरेट सुपर सिक्सेस सिजन–७ मा सोमबार १२ खेल भएको थियो। समूह ‘बी’ बाट आइसिएफसी फाइनान्स र सिप्रदी शीर्ष दुईमा रहँदै क्वाटरफाइनलमा पुगेका हुन्।
१५ वटा कर्पोरेट हाउसले प्रतिस्पर्धा गरिरहेको यस सिजनको विजेता र उपविजेताले ट्रफी र गिफ्ट ह्याम्पर पाउनेछन्। साथै विजेताले आगामी सिजन फ्रि इन्ट्री पाउनेछ। प्लेयर अफ दी टुर्नामेन्ट, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर, बेस्ट फिल्डर र बेस्ट विकेटकिपरले पनि पुरस्कार पाउनेछन्।