पार्टी विभाजनको त्रासले नेपालको ‘युटर्न’, प्रधानमन्त्री बन्ने रणनीति फेल भएपछि प्रचण्डलाई नै साथ

प्रकाश भण्डारी
२०८१ बैशाख २४ गते २१:२५ | May 6, 2024
पार्टी विभाजनको त्रासले नेपालको ‘युटर्न’, प्रधानमन्त्री बन्ने रणनीति फेल भएपछि प्रचण्डलाई नै साथ

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल ‘युटर्न’ भएका छन्। पछिल्लो समय सत्ता गठबन्धनप्रति आक्रामक देखिएका नेपाल जनता समाजवादी पार्टी (जसपा) नेपालको विभाजनसँगै गठबन्धनप्रति नरम बनेका हुन्।

Tata
GBIME
Nepal Life

सत्ता इतरमा रहेका नेपाली कांग्रेस र अरू साना दल तथा सत्तामा रहेको जसपा र आफ्नो पार्टीको वैकल्पिक गठबन्धन बनाउने उनी सक्रिय बनेका थिए। तर जसपा विभाजनले उनको दौडधुपमा ब्रेक लगाइदिएको छ। फागुन २१ गते नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) को समीकरण बनेलगतै कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाललाई उनकै निवासमा पुगेर सहकार्यका लागि प्रस्ताव गरेका थिए। देउवाको प्रस्तावबारे विश्वस्त हुन नसकेका नेपालले त्यसकै केही दिनमा सत्ता गठबन्धनमा रहने निर्णय गरे पनि उनी पछिल्लो समय असन्तुष्ट थिए।

कतिसम्म भने नेपालले आफैंले आफू प्रधानमन्त्री हुनसक्ने चर्चा चलाएका थिए। तर, एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई रोक्ने संकेत उनले सार्वजनिक रूपमै गरे। नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवले कांग्रेससँग मिलेर नयाँ मुभ गर्ने चाल पाएपछि ओली- प्रचण्डले पनि जसपामा विभाजन ल्याइदिएका छन्। जसले तत्कालका लागि प्रचण्ड नेतृत्वको गठबन्धनलाई अल्पमतमा पर्नबाट जोगाएको छ।

निर्वाचन आयोगले अशोक राईको नेतृत्वमा जसपा दल दर्ताको प्रमाण पत्र दिएको छ।

जसपाका अध्यक्ष उपेन्द्र यादव विदेश भ्रमणमा रहेकै बेला नेता अशोक राईले ७ जना सांसद लिएर पार्टी विभाजन गरेपछि नेपालको वैकल्पिक गठबन्धन बनाउने योजना तुहिएको हो। राईले प्रचण्ड नेतृत्वको सरकारलाई आफ्नो समर्थन रहेको बताइसकेका छन्। १२ सांसद रहेको जसपामा अध्यक्ष उपेन्द्र यादवको पक्षमा ५ मात्रै छन्।

निर्वाचन आयोगले सोमबार राईको अध्यक्षतामा जसपा दल दर्ता गरेको छ। जसपाको विभाजनले आफ्नो दल एकीकृत समाजवादी पनि विभाजन हुने सक्ने देखेपछि नेपाल गठबन्धनप्रति नरम बनेको एकीकृत समाजवादीका नेता बताउँछन्। यसबारे नेपालले सोमबारको संसदीय दलको बैठकमा पनि ब्रिफिङ गरेका थिए।

एकीकृत समाजवादीको सोमवारको संसदीय दलको बैठक

‘जसपाको विभाजनले अरू दलहरू पनि सचेत त हुनैपर्‍यो। यसमा सचेतना अपनाउने भन्ने कुरा भयो। यो सबै कुराबारे अध्यक्षले ब्रिफिङ गर्नुभएको थियो,’ एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले भने।

एकीकृत समाजवादीका केही सांसद पछिल्लो समय लगातार एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संवादमा थिए। ओलीसँग आफ्ना पार्टीका सांसदको संवादबारे नेपालले जानकारी पाएपछि पार्टी विभाजनलाई रोक्ने रणनीति अपनाउने पक्षमा नेपाल पुगेका छन्।

सरकारको नीति तथा कार्यक्रमसम्म मात्रै सरकारलाई समर्थन रहने ‘अल्टिमेटम’ दिएको एकीकृत समाजवादीले सोमबार भने ठिक उल्टो निर्णय गर्‍यो। संसदीय दलको सोमबारको बैठकले सरकारको नीति तथा कार्यक्रम र बजेटमा रचनात्मक सुझाव दिने निर्णय गरेर सत्ता समीकरणप्रति नरम बनेको सन्देश दिएको छ।

एकीकृत समाजवादीको संसदीय दलको निर्णय

‘नीति तथा कार्यक्रम र बजेटबारे दलको तर्फबाट सरकारलाई रचनात्मक सुझाव दिने,’ एकीकृत समाजवादीको संसदीय दलको निर्णयमा भनिएको छ।

नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन समितिको माग राखेर संसदमा सत्ता गठबन्धनलाई अप्ठेरो पारिरहेका बेला समाजवादीले अत्तो थापेर सरकारलाई नीति तथा कार्यक्रम र बजेट पारितमा अप्ठेरो पार्ने रणनीति बनाएको थियो। तर, जसपामा आएको विभाजनसँगै नेपाल प्रचण्डप्रति नरम बन्न बाध्य बनेका हुन्।

एकीकृत समाजवादीका नेताहरूका अनुसार नेपालले संसदीय दलको बैठक बोलाउनुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग फोनमा कुराकानी गरेका थिए।

उनले आफू सत्ता गठबन्धनकै पक्षमा रहेको वचन प्रचण्डलाई दिएका छन्। ‘हाम्रो समर्थन गठबन्धनलाई नै हुन्छ। यसबारेमा चिन्ता गर्नुपर्दैन भनेर अध्यक्षले प्रधानमन्त्रीलाई भन्नुभयो,’ नेपाल निकट एक नेताले भने। संसदीय दलको बैठकपछि पनि नेपालले प्रचण्डलाई भेटेरै आश्वस्त पार्न खोजेका थिए। 

नेपाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको विकल्प खोज्ने कसरतमा लागेपछि पछिल्लो समय प्रचण्ड-नेपालबीच राम्ररी संवाद समेत हुन सकेको थिएन। प्रचण्डले एकीकृत समाजवादीलाई आफ्नै पक्षमा राख्न सम्मानित नेता झलनाथ खनाललाई पटक पटक प्रधानमन्त्री निवास बालुवाटार बोलाएर संवाद गर्ने गरेका थिए।

सोमबार बिहानै पनि प्रचण्डले अर्थमन्त्री तथा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई खनालको निवासमा दूतको रूपमा पठाएका थिए। खनालले एकीकृत समाजवादीको समर्थन प्रचण्डलाई नै रहने सन्देश प्रचण्डलाई पठाएका थिए।

पछिल्लो समय एमाले- माओवादी नेतृत्वको समीकरणमा रहनुपर्ने तथा वाम एकताका लागि पहल गर्नुपर्ने पक्षमा खनाल छन्। अर्कोतर्फ नेपाल भने एमाले अध्यक्ष ओलीसँग क्रुद्ध बनिरहेका छन्।

ओली-नेपालबीचको तिक्तताकै कारण एमालेले सुदूरपश्चिममा एकीकृत समाजवादीका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत दिन अस्वीकार गरेको छ।

‘प्रचण्ड-ओलीको ध्यान त कसरी आफ्नो पक्षमा संख्या पुर्‍याउने भन्नेमा मात्रै छ। उनीहरूले हामीलाई त एकपछि अर्को धोका दिइरहेका छन्। राष्ट्रिय सभाको उपाध्यक्ष दिने भन्ने थियो। अहिले मुख्यमन्त्रीलाई विश्वासको मत दिन्नौं भनिरहेका छन्। यी सबै कुराले गठबन्धनप्रति समाजवादीको असन्तुष्टि छ,’ समाजवादीका सांसद कुँवरले भने।