सेबोन अध्यक्षविहीन बन्दा जलविद्युत कम्पनीले १० महिनादेखि सेयर निकाल्न पाएनन्, निर्माण नै प्रभावित

बिजमाण्डू
२०८१ बैशाख २४ गते १२:३६ | May 6, 2024
सेबोन अध्यक्षविहीन बन्दा जलविद्युत कम्पनीले १० महिनादेखि सेयर निकाल्न पाएनन्, निर्माण नै प्रभावित

काठमाडौं। प्राथमिक तथा हकप्रद सेयर निष्कासनका लागि आवेदन दिएका २७ सहित ३० भन्दा बढी जलविद्युत आयोजनाको सेयर निष्कासन प्रक्रिया १० महिनादेखि रोकिएको छ।

Tata
GBIME
Nepal Life

नेपाल धितोपत्र बोर्डमा रमेशकुमार हमाल अध्यक्ष हुँदैदेखि नै रोकिएको सेयर निष्कासन प्रक्रिया नयाँ अध्यक्ष नियुक्त नहुँदा झन् प्रभावित बनेको हो। लामो समयसम्म आयोजनाको सेयर निष्कासन गर्न नपाउँदा आयोजनाको निर्माण नै प्रभावित भएको प्रवर्द्धकहरुले बताएका छन्।

गत आर्थिक वर्षमा ४२ कम्पनीको आइपीओ जारी भएकोमा २९ वटा जलविद्युत कम्पनी थिए। तर, चालू आर्थिक वर्षमा भने गत भदौ ५ गते भिजन लुम्बीनी ऊर्जा कम्पनीको आइपीओ जारी हुनुबाहेक अरु कुनै पनि जलविद्युत कम्पनीको आइपीओ निष्कासन भएको छैन।

अहिले एउटा सोलारसहित १८ वटा विद्युत उत्पादक कम्पनीले आइपीओ निष्कासनका लागि अनुमति माग्दै सेबोनमा निवेदन दिएका छन्। अनुमति पाउने टुंगो नै नभएपछि ४/५ वटा कम्पनीले आवेदन नै दिएका छैनन्। ती सबै कम्पनीको गरि करिब १५ अर्ब रुपैयाँ बराबरको सेयर निष्कासन प्रक्रिया १० महिनादेखि रोकिएको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले जानकारी दिए।

इप्पानका अध्यक्ष गणेश कार्की

त्यस्तै, हकप्रद सेयर निष्कासनका लागि आवेदन दिएका ९ जलविद्युत कम्पनीले पनि अनुमति पाएका छैनन्। ९ कम्पनीले हकप्रद सेयर निष्कासन गर्न लागेको रकम झण्डै ७ अर्ब रुपैयाँ रहेको कार्कीले बताए।

यसअघि बोर्डले गत पुसमा अन्तिम पटक जलविद्युत कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न स्वीकृति दिएको थियो। त्यसयता ९ कम्पनीले हकप्रद सेयर निष्कासनको अनुमति माग्दै बोर्डमा दिएको निवेदन अलपत्र परेका छन्। गत आर्थिक वर्षमा ८ वटा कम्पनीले हकप्रद सेयर निष्कासनको अनुमति पाउँदा ७ वटा जलविद्युत आयोजना प्रवर्द्धक कम्पनी थिए। हकप्रद सेयरमा पनि अनुमति नै नपाउने भए किन खर्च गर्नु भन्दै धेरै कम्पनीहरु बोर्डमा नगएको कार्कीले बताए।

आइपीओ जारी गर्ने पर्खाइमा रहेका जलविद्युत कम्पनी

जलविद्युत कम्पनीहरुले आइपीओ तथा हकप्रद सेयर जारी गरेपछि आउने रकमलाई आयोजना निर्माणमा खर्च गर्ने योजनासहित काम अघि बढाएका हुन्छन्। तर, सेबोनले सेयर निष्कासनको अनुमति नदिएपछि थप २०-२२ अर्ब रुपैयाँ कहाँबाट जोहो गर्ने भन्ने चिन्ता प्रवर्द्धकलाई थपिएको इप्पानका वरिष्ठ उपाध्यक्ष मोहन कुमार डाँगीले बताए।

जलविद्युत कम्पनीहरुको आइपीओ तथा हकप्रद सेयर निष्कासनलाई प्राथमिकता दिन सरोकारवाला सबै निकायमा इप्पानले पहल गरेपनि सम्बन्धित निकायबाट तदारुक्ता नदेखाउँदा धेरै विद्युत आयोजनाहरुको निर्माण प्रभावित भइरहेको इप्पानका महासचिव बलराम खतिवडाले जानकारी दिए।

हकप्रद जारी गर्ने पर्खाइमा रहेका जलविद्युत कम्पनी

जलविद्युत आयोजनाले ५० प्रतिशत निर्माण पूरा गरेपछि आइपीओ निष्कासनको प्रक्रियामा जान पाउँछन् भने ६० प्रतिशत निर्माण पूरा भएपछि अनुमति पाउने व्यवस्था छ। आइपीओबाट आउने पैसालाई पनि कम्पनीहरुले आयोजना निर्माणमा खर्च गर्नेगरी कार्ययोजना बनाएका हुन्छन्। तर, सेयर निष्कासनको प्रक्रिया नै रोकिएपछि आइपीओ निष्कासनको चरणमा पुगेका अन्य आयोजना समेत प्रभावित भएको प्रवर्द्धकहरु बताउँछन्।

अहिले निजी क्षेत्रबाट ३ हजार ५०० मेगावाट क्षमताका आयोजना निर्माणाधीन छन्।