
काठमाडौं। भाटभटेनी सुपर मार्केटले उपत्यकाको दुई स्टोरमा मल्टिलेयर स्मार्ट पार्किङ निर्माण गर्ने भएको छ। कम्पनीले सोमबार प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन निकाल्दै महाराजगंज र कलंकीमा रहेका आफ्ना स्टोरमा स्मार्ट पार्किङ निर्माण गर्न लागिएको जनाएको हो।
उपत्यकामा किनमेलका लागि निस्कने ग्राहकलाई सवारी पार्किङको समस्या हुने गरेको छ। त्यसैले सुपर स्टोरले व्यवस्थित पार्किङ पनि बनाउँदै लैजाने अवधारणा अघि बढाएको छ।
काठमाडौं महानगरपालिकाको संक्षिप्त वातावरणीय अध्ययन तथा प्रराम्भिक वातावरणीय परीक्षा कार्यविधि अनुसार ३०-४० मिटर उचाईका भवन निर्माण गर्नुपरेमा प्रारम्भिक वातावरणीय परीक्षण गर्नुपर्ने व्यवस्था छ।
कम्पनीले कलंकीमा निर्माण प्रस्ताव गरेको पार्किङको बिल्टअप एरिया ३३०९.९८ वर्गमिटर छ भने कुल उचाई ३६.७४५ मिटरको छ। यस्तै महाराजगंजमा निर्माण गर्न लागिएको उक्त पार्किङको बिल्टअप एरिया भने ८५७.०३ वर्गमिटर र कुल उचाई २९.६१ मिटरको हुने जनाइएको छ।
भाटभटेनीले टंगालस्थित आफ्नो स्टोरमा यही प्रविधिको पार्किङ निर्माण गरिसकेको छ। साढे चार आना क्षेत्रफलमा बनेको संरचनामा ११ तला छन्, ४४ वटा गाडी पार्किङ गर्न सकिन्छ। यो पूर्णतया अटोमेटिक पार्किङ हो।