जापानमा ९० लाख घर खाली, ‘आकिया घर’मा किन बसिरहेका छैनन् मानिस ?

बिजमाण्डू
२०८१ बैशाख २० गते १३:०५ | May 2, 2024
जापानमा ९० लाख घर खाली, ‘आकिया घर’मा किन बसिरहेका छैनन् मानिस ?
Photo : New York Times


घट्दो जनसंख्याको मारको रहेको जापानमा खाली घरहरूको संख्या ९० लाख पुगेको छ। सन् २०१८ मा गरिएको सर्वेक्षणभन्दा यसपटक ५ लाख १० हजार बढी घर खाली भएको देखिएको हो।

Tata
GBIME
NLIC

स्थानीय भाषामा ‘आकिया’ भनेर चिनिने खाली घरहरुको संख्या सन् २०२३ को अक्टोबरसम्म ९० लाख भन्दा बढी रहेको सरकारद्वारा जारी रिपोर्टमा उल्लेख छ। औसत् सातवटा घरमा एउटा घर खाली रहेको जापानको आन्तरिक मामिला मन्त्रालयको सर्वेक्षण रिपोर्टमा उल्लेख छ।

खाली घरहरुको यो संख्या जापानमा कूल घर संख्याको करिब १४ प्रतिशत हुने अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्।

जापानको नोमुरा रिसर्च इन्सटिच्युटले भने सरकारबाट जारी तथ्यांकभन्दा धेरै बढी घर खाली हुन सक्ने जनाएको छ। जापानमा १ करोड १० लाख घर खाली भएको हुन सक्ने नोमुराको दाबी छ।

सन्तान विदेशमा हुँदा र सन्तान नभएका वृद्धवृद्धाहरुको मृत्यु पछि उनीहरुको नाममा रहेका घरहरु खाली भएका हुन्। यस्तै, केही स्याहारको लागि वृद्धाश्रममा बसेपछि पनि घर खाली भएको सर्वेक्षणमा देखिएको छ।

आकिया घरहरु धेरैजसो जीर्ण भइसकेका हुन्छन्। लामो समय कोही नबस्दा घरहरु थप बिग्रिएका हुन्छन्।

सर्वेक्षण गरिएका मध्ये ४४ लाख घरहरु भाडाका लागि उपलब्ध छन्। ३ लाख ३० हजार घर चाहिँ बिक्रीका लागि राखिएका छन्। लाखौं घर बेवारिसे अवस्थामा नै छन्। जापानमा खाली जग्गाको बढी कर तिर्नुपर्छ। त्यसैले धेरैले प्राचीन घरहरु छाड्ने गरेको देखिएको छ।

विदेशबाट जापान आएकाहरु पुराना घरहरु प्रति आकर्षित देखिएका छन्। धेरैले घर भाडामा लिने गर्छन्। यस्तै, केही घर बिदा मनाउन चाहनेका लागि भाडामा दिने गरिन्छ भने पर्यटकका लागि पनि घर भाडामा दिने गरिन्छ।

पुरान घर बिक्रीमा भए पनि हजारौं डलर मूल्य पर्ने गर्छ। यस्तै, घर पुनर्निर्माणमा पनि धेरै रकम लाग्ने गर्छ। त्यसैले घर पुनर्निर्माण गर्नुसट्टा घर खाली नै छाड्ने प्रवृत्ति पनि छ।