अर्थ सचिवमा मधुकुमार मरासिनीको ‘कमब्याक’, सफाइको तेस्रो दिन नै पाए ठूलो अवसर

बिजमाण्डू
२०८१ बैशाख १० गते १२:३६ | Apr 22, 2024
अर्थ सचिवमा मधुकुमार मरासिनीको ‘कमब्याक’, सफाइको तेस्रो दिन नै पाए ठूलो अवसर

काठमाडौं। सरकारले बजेट आउनु ३५ दिनअघि अर्थ सचिव सरुवा गरेको छ। विशेष अदालतबाट सफाइ पाएका मधु मरासिनीलाई सरकारले पुन: अर्थसचिव बनाएको हो।

Tata
GBIME
Nepal Life

नेसनल पेमेन्ट गेटवे खरिद भ्रष्टाचार प्रकरणमा शुक्रबार सफाइ पाएका मरासिनीलाई सरकारले अर्थ सचिवको जिम्मेवारी दिएको हो।

अर्थ सचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ। वर्षमान पुनले अर्थ मन्त्रालयको नेतृत्व सम्हाल्नेबित्तिकै पुष्करलाई सरुवा गर्न खोजेका थिए। तर, उपयुक्त पात्र नपाएको भन्दै उनले सचिवलाई चलाउन सकिरहेका थिएनन्।

भ्रष्टाचार मुद्दामा सफाइ पाएपछि मरासिनीलाई प्रधानमन्त्री पुष्पकमल दाहालकै रोजाइमा अर्थ सचिव बनाइएको हो। त्यसमा पुन पनि कन्भिन्स भएका हुन्। मरासिनी अर्थकै क्याडर भएका कारण उनलाई बजेटको मुखमा अर्थ मन्त्रालयमा ल्याइएको हो।

नेसनल पेमेन्ट गेटवे खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज १५ गते दायर गरेको मुद्दामा विशेष अदालतले गत शुक्रबार मरासिनीसहितका ८ जनालाई सफाइ दिएको थियो।

मुद्दा दायरपछि स्वत: निलम्बनमा परेका मरासिनीले अदालतबाट सफाइ पाएपछि आइतबार प्रधानमन्त्री कार्यालयमा हाजिर गरेका थिए। गत असोजमा मुद्दा दायर हुँदा मरासिनी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा थिए।

अर्थतन्त्र समस्यामा रहेका बेला ल्याउने बजेटमा ‘सिन्सियर’ भएर काम गर्ने देखेर मरासिनीलाई ल्याइएको स्रोतले बतायो। मरासिनीले अर्थ मन्त्रालयमा वैदेशिक सहायता, बजेटलगायत महाशाखामा बसेर काम गरिसकेका छन्। उनले यसअघि पनि अर्थसचिवका रुपमा काम गरेका थिए।

सचिवका रुपमा उनको कार्यकाल अब १५ महिना मात्र छ।

हुलाकबाट निजामती सेवामा प्रवेश गरेका मरासिनी केही समयमै राजस्व सेवामा गएका थिए। उनीसँग अर्थ मन्त्रालय मातहतका विभिन्न निकायमा २५ वर्ष काम गरेको अनुभव छ।

प्रधानमन्त्री दाहालले आइतबार मात्र पुरानो ढर्राभन्दा बाहिर रहेर नयाँ तरिकाले बजेट र नीति तथा कार्यक्रम ल्याउने बताएका थिए। अर्थमन्त्री पुनले यसअघिका अर्थसचिव पुष्करलाई पत्याउन सकिरहेका थिएनन्। उनलाई मन्त्रालयबाट सरुवा गर्न धेरैले सुझाव दिएका थिए।

पुष्कर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले पत्याएका पात्र हुन्। यसअघिका अर्थमन्त्री डा. प्रकाशशरण महतले पनि पुष्करलाई सरुवा गर्न खोजेका थिए। तर बुढानिलकण्ठको बल अगाडि महतको कुनै सिप लागेको थिएन।

शर्मा अर्थमन्त्री हुँदा बाहिरको व्यक्ति बोलाएर बजेट बनाएको भन्दै विवाद भएको थियो। त्यो विवादकै बीच मरासिनी अर्थबाट सरुवा मागेर प्रधानमन्त्री कार्यालय गएका थिए। मरासिनी हटेपछि पुष्कर अर्थ सचिव भएका थिए। पुष्कर राजस्व सचिव हुँदै अर्थ सचिव भएका हुन्। मरासिनी अर्थसचिव हुँदा पुष्कर राजस्व सचिव थिए।