काठमाडौंको ‘हटकेक’ टोखामा जग्गा बिक्री हुनै छाड्यो, राम्रा घडेरी छन् तर छैनन् ग्राहक

उन्नत सापकोटा
२०८१ बैशाख ६ गते १५:४७ | Apr 18, 2024
काठमाडौंको ‘हटकेक’ टोखामा जग्गा बिक्री हुनै छाड्यो, राम्रा घडेरी छन् तर छैनन् ग्राहक

काठमाडौं। काठमाडौंमा सहरीकरणको प्रभाव परिरहँदा नुवाकोटसँग सीमा जोडिएको टोखामा विकास पुगेकै थिएन। २०५५ सालपछि विस्तारै चक्रपथसँग टोखा जोडियो। र, यहाँ घरजग्गा किनबेचको श्रृंखला बढ्यो। १० फुटे बाटोबाट २० फुटे बाटो हुँदै पक्की बाटो बनेपछि टोखामा घडेरी किन्नेको घुइँचो लाग्न थाल्यो।

Tata
GBIME
Nepal Life

कारोबारका हिसाबले टोखाले इमाडोल, धापाखेल, काँडाघारी जस्ता घनाबस्ती भएका क्षेत्रलाई समेत माथ खुवाउँथ्यो। सामाखुसीबाट ३ किलोमिटरसम्मको दूरीमा उब्जाउ भूमि र धेरै घनाबस्ती नहुँदा टोखालाई अधिक रुचाइन्थ्यो। घर बनाउन ‘साइट’ हेर्न यहाँ पुग्नेको लस्करै लाग्थ्यो।

२०७२ सालको भूकम्पपछि यस भेगमा जग्गा कारोबार ‘बुम’ भएको थियो। नुवाकोट जोड्ने सडक बने पछि त यहाँ सहरीकरणको चर्को प्रभाव नै पर्‍यो। जसकारण यहाँ धेरै हाउजिङ पनि बने।

सहर तन्किँदै व्यवस्थित घडेरी बनेसँगै टोखा ‘हाइप्रोइफाल’को गन्तव्यको रुपमा परिचितसमेत भयो। भूतखेल नजिकै तहरचनामा रहेको हार्मोनी हाउजिङमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई बस्न पुगे। यस्तै, बहालवाला प्रशासकदेखि पूर्वप्रशासक र उद्योगीसम्म यहाँ भेटिन्छन्।

कोर बस्तीमा नेवार समुदायको आवास क्षेत्र कायम रहँदा वरपर भने २०७२ सालको भूकम्पपछि घडेरी खोज्दै पुग्नेको संख्या ह्वात्तै बढेको हो। जसको परिणामस्वरुप टोखा लम्जुङ, गोरखा, स्याङ्जा र तनहुँका बासिन्दाको बाहुल्यता भएको ‘आवासीय हब’ नै बन्न पुगेको थियो।

यतिमात्रै होइन, शिवपुरी डाँडा छेडेर टोखाबाट नुवाकोटको थानसिंह फाँटसम्म पुग्ने सुरुङमार्ग बनाउने योजनाले पनि यहाँ धेरैको नजर तानेको थियो। तर, अहिले योजना अलपत्र बन्दा यहाँ आकर्षित भएका मानिस अन्यत्र नै मोडिएका हुन्।

काठमाडौंको रियल इस्टेट क्षेत्रकै ‘हटकेक’ टोखामा अहिले जग्गा नै बिक्री हुन छाडेको छ। टोखामा घरजग्गा कारोबार सुस्ताएको करिब ३ वर्ष भयो। ग्रान्डी हस्पिटल र अपार्टमेन्टसँगै अन्य हाउजिङ परियोजनाले उचालेको टोखा अहिले घरजग्गा खरिदकर्ताको रोजाइमा पर्नै छोडेको छ।

टोखामा बिक्रीका लागि अहिले टन्नै घडेरी छन्। तर राम्रा घडेरी भए पनि किन्न आउनेको संख्या नगन्य छ। टोखालाई आधार क्षेत्र बनाएर घरजग्गा व्यवसाय गर्दै आएका मौसमकुमार श्रेष्ठ भन्छन्, ‘अहिले घरजग्गा बिक्री यो क्षेत्रमा ठप्प प्राय: छ। बेच्न खोज्ने भेटिए पनि किन्ने मान्छे पाइँदैन।’

किन घट्यो त टोखाप्रतिको ‘चार्म’?

टोखामा राम्रा घडेरी बिक्री भएर मूल्य चर्किएपछि घरजग्गाको ‘चार्म’ घट्दै गएको मौसमकुमार श्रेष्ठको बुझाइ छ। अहिले टोखामा एक आना जग्गाकै ४५-५० लाख हाल्नुपर्ने अवस्था छ। ४ आना जग्गा किन्नै दुई करोड खर्चिनु भन्दा टोखा बाहिर नै सस्तोमा घडेरी भेटिने भएकाले यहाँ जग्गा व्यापार सुस्ताएको श्रेष्ठ बताउँछन्।

‘वित्तीयरुपमा अत्तालिएकाहरुले प्रोपर्टी बेच्न राखेका छन्। तर, बिक्री भएको छैन,’ श्रेष्ठले भने।

सामाखुसीदेखि टोखा सडकखण्डको ३ किलोमिटर बाटो वरिपरिका जग्गाको अहिले आनाकै ४० देखि ७० लाख रुपैयाँसम्म बोली लाग्छ। वित्तीयरुपमा दबाब परेकाले भने मूल्य घटाएर बेच्न खोजिरहेको श्रेष्ठ बताउँछन्।

उनी भन्छन्, ‘ऋणमा परेका र ब्याजमा पैसा चलाएकाले केही घटाएर घडेरी बेचिरहेका छन्। तर, कर्मचारी तथा नियमित आम्दानी भएका प्रोफेसनलहरुले मलाई ठिकै छ केही समय अझै कुर्छु भन्नेहरु होल्ड गरेर बसेका छन्।’

टोखा क्षेत्रको फेरिँदो परिवेशदेखि आजित भएका श्रेष्ठ आफैं पनि ग्राहक भेटिए मूल्य घटाएर जग्गा बेच्ने ‘मुड’मा छन्।

‘ग्रान्डी नजिकै आनाको ५० लाखमा नबेचेको जग्गा किन्न आए ४२ लाखमै दिन्छु,’ उनले भने।

बाहिरबाट आउनेले पायक पर्ने घडेरी खोज्न आफ्ना जिल्लावासीलाई आग्रह गर्दा टोखा पुगेकाले सोही भेगमा घर किन्न सुझाउँथे। तर, अहिले टोखाभन्दा पायक पर्ने स्थानमा सस्तोमा जग्गा भेटाइँदा त्यो ‘ट्रेन्ड’मा पनि ‘ब्रेक’ लागेको छ।

सुरुङमार्ग बन्ने योजनाले यो क्षेत्रको जग्गा कारोबार त्यतिबेला बढेको थियो। सुरुङमार्ग निर्माण हुने भन्दै नुवाकोट र रसुवाका धेरैले टोखा झरेर आफ्नो सपनाको घर ठड्याएका थिए। तर, सुरुङमार्ग नबन्दा महँगो मूल्य हालेर लगानी गरेको जग्गामा उनीहरुले कुनै आशा देखेका छैनन्। यो पनि टोखा क्षेत्रको घरजग्गा कारोबार अहिले सुस्ताउनुको एक कारण हो।

सो आयोजनामा आलटाल हुनुलाई टोखाबासी आफूहरुमाथि राज्यले धोका दिएको रुपमा अर्थ्याउँछन्।

टोखाको जग्गाप्रति घट्दो आकर्षणलाई सरकारी तथ्यांकले थप बल दिएको छ। गएको तीन वर्षमा टोखा मालपोतबाट हुने लिखत पारित संख्या १ हजार ६१० ले घटेको छ।

आर्थिक वर्ष २०७९/८० को चैतसम्म टोखा मालपोतबाट २ हजार ८८३ लिखत पारित भएको थियो। चालु आर्थिक वर्षको सोही अवधिमा लिखत पारित १ हजार २७३ मा झरेको छ।

यस्तै, सरकारले उठाउने राजस्व पनि साढे ४४ करोड रुपैयाँले ओरालो लागेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाउँछ। आर्थिक वर्ष २०७९/८० को चैतसम्म टोखा मालपोतले १ अर्ब रुपैयाँभन्दा बढी राजस्व उठाएकामा चालु आर्थिक वर्ष सोही अवधिमा घटेर ५९ करोड रुपैयाँमा सीमित भएको छ।