लगानी सम्मेलनमा निजी क्षेत्रका ३१ परियोजना, १९ वटा ऊर्जा क्षेत्रका, कुन-कुन छानिए ?

बिजमाण्डू
२०८१ बैशाख ४ गते १६:४० | Apr 16, 2024
लगानी सम्मेलनमा निजी क्षेत्रका ३१ परियोजना, १९ वटा ऊर्जा  क्षेत्रका, कुन-कुन छानिए ?
लगानी बोर्डको बैठक। फाइल तस्वीर

काठमाडौं। लगानी सम्मेलनमा निजी क्षेत्रबाट प्रस्तुत गर्न विभिन्न ३१ वटा परियोजना छनोट गरिएको छ। लगानी बोर्डले निजी क्षेत्रबाट प्रस्तुत गर्न भनेर छानेका मध्ये १९ वटा जलविद्युत आयोजना हुन्।

Tata
GBIME
Nepal Life

बोर्डले माथिल्लो मर्स्याङ्‍दी-१, अप्सुवा खोला-१, सेती नदी, माकली सेती, पेल्मा खोला, डाना खोला, लान्द्रुक मोदी, बलेफी खोला, चुवा खोला, नार खोला, माथिल्लो बुढीगण्डकी, माथिल्लो चुवा लुरुप्या खोला, माथिल्लो अप्सुवा, माथिल्लो भेरी, सुर्के दुधकोशी, टिप्ल्याङ काली गण्डकी, मध्य काली गण्डकी, माथिल्लो सानी भेरी र मुगु कर्णाली जलविद्युत आयोजना छानेको हो।

यी आयोजनामा लगानी गर्न निजी क्षेत्रले विदेशी लगानीकर्तालाई आग्रह गर्नेछ।

यसबाहेक झापाको सुरुङ्गामा ह्पाप्पी फन पार्क, तौलिहवामा प्राकृतिक कृषि फार्म, अन्नपूर्ण केबल कार, जाल्पादेवी केबल कार, बैतडीमा आइएमई सिमेन्ट, काठमाडौं टैक्निकल स्कुल, कम्पोस्ट फर्टिलाइजर र रिभल्भिङ पार्किङ परियोजना छानिएका छन्।

सगरमाथा जाने बाटोमा तीन चरणमा १० वटा लक्जरी होटल र भरतपुरमा आइसल्यान्ड रिसोर्ट निर्माण गर्ने प्रस्ताव पनि सम्मेलनमा विदेशी लगानीकर्तासामु गरिंदैछ।

गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्स पनि निजी क्षेत्रको परियोजनाका रुपमा छनोट भएको छ। यो उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल र निकिताका भाइ निरकले अगाडि बढाउन चाहेको परियोजना हो। उनीहरुले ४ अर्ब रुपैयाँ लगानी गरेर पाँचतारे होटलसहितको कम्प्लेक्स बनाउने योजना सार्वजनिक गरेका थिए।

तर आर्थिक संकटका कारण परियोजना अगाडि बढाउन सकेका छैन। आफैं लगानी गर्न नसक्ने अवस्थाका कारण उनीहरुले सम्मेलनमार्फत विदेशी लगानीकर्तासँग गुहार माग्न लागेका हुन्।

निरक आर्थिक रुपमा कतिसम्म संकटमा छन् भन्ने कुरा २०५२ देखि संचालित गोपीकृष्ण हल बन्द गर्नुबाट छर्लंग हुन्छ। उनले आर्थिक संकटका कारण गत फागुन १ गते हल बन्द गरेका थिए।