बुटवल-गोरुसिंगे सडक खण्डमा नयाँ संरचना निर्माण नगर्न सडक विभागद्वारा सार्वजनिक सूचना

बिजमाण्डू
२०८१ बैशाख ३ गते ०८:५४ | Apr 15, 2024
बुटवल-गोरुसिंगे सडक खण्डमा नयाँ संरचना निर्माण नगर्न सडक विभागद्वारा सार्वजनिक सूचना
फाइल तस्वीर

काठमाडौं। पूर्वपश्चिम राजमार्ग अन्तर्गतको बुटवल-गोरुसिंगे सडक खण्डमा संरचना निर्माण नगर्न सडक विभाग अन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाले सार्वजनिक सूचना जारी गरेको छ। सोमबार सूचना जारी गरेको हो।

Tata
GBIME
Nepal Life

विश्व बैंकको ऋण सहयोगमा उक्त खण्ड स्तरोन्नति हुन लागेको छ। करिब ५० किलोमिटर सडकको केन्द्र रेखाबाट दायाँबायाँ २५/२५ मिटर गरी जम्मा ५० मिटर सडक सीमा क्षेत्र (राइट अफ वे ) पर्छ। सडक स्तरोनन्तिका क्रममा विस्तृत इन्जिनियरिङ डिजाइन तथा पुनर्वास कार्ययोजना समेत तयार भइसकेको महाशाखाले जनाएको छ।

यस पुनर्वास कार्ययोजनाअन्तर्गत सडक सीमा क्षेत्रभित्र क्षति हुने सम्भावित व्यक्तिगत तथा सार्वजनिक संरचनाहरु (घर, टहरा, व्यापारिक घुम्ती, मन्दिर, चौतारा, पाटि, पौवा आदि) को विस्तृत लगत लिने काम सडक विभागमार्फत २०७९ असोजमा पुरा भइसकेको छ।

गत फागुन २१ मा प्रमाणीकरण समेत सम्पन्न भएको महाशाखाले जनाएको छ। त्यसैले ५० मिटर (दायाँ बायाँ २५/२५ मिटर) सडकको सीमा क्षेत्रभित्र वैशाख ३ गते पश्चात् कुनै पनि किसिमका संरचनाहरु निर्माण गरे/गराए नेपाल सरकारको प्रचलित कानुन बमोजिम ३५ दिनको सूचना दिएर खालि गराउने महाशाखाले जनाएको छ। त्यसरी खालि गराइएका/ हटाइएका संरचनाका हकमा कुनै पनि किसिमको क्षतिपूर्ति दिन सडक विभाग बाध्यकारी नहुने महाशाखाको सूचनामा छ।

यसको पहिलो खण्डको लागि ठेक्का समेत आह्वन भएर अहिले आर्थिक प्रस्ताव तथा प्राविधिक मूल्यांकन भइरहेको छ। केही दिनमा ठेक्का लाग्ने तयारीमा छ।