नारायणगढ-मुग्लिन सडकमा सञ्चालनमा आए ११ वटा पुल, अन्य ४ को निर्माण जारी

बिजमाण्डू
२०८० चैत्र ३० गते १०:५५ | Apr 12, 2024
नारायणगढ-मुग्लिन सडकमा सञ्चालनमा आए ११ वटा पुल, अन्य ४ को निर्माण जारी
फाइल फोटो।

चितवन। नारायणगढ-मुग्लिन सडकखण्डका ११ वटा पुल सञ्‍चालनमा आएका छन्। मुग्लिन बजार नजिकको खहरे, नाम्चे, कालिखोला र तुइनखोला पुलबाहेक अन्य पुल सञ्‍चालनमा आएका हुन्।

Tata
GBIME
NLIC

निर्माण भइरहेका ४ पुलमा ३ वटाको पहुँच सडक निर्माणको काम जारी छ। नाम्चे, कालिखोला र खहरेखोलामा निर्माण भएका पुलको पहुँच सडक निर्माणको काम भइरहेको नागढुङ्गा-मुग्लिन सडक आयोजना पश्‍चिम खण्ड (नारायणगढ-मुग्लिन)का इन्जिनियर कृष्ण आचार्यले बताए।

इन्जिनियर आचार्यका अनुसार पहुँच सडक निर्माण भइरहेका पुलमध्ये नाम्चे र कालिखोलाको पुल असार मसान्तभित्र सञ्‍चालनमा ल्याउने गरी काम गरिएको छ। खहरेखोलामा निर्माण गरिएको पुलका लागि पहुँच सडक निर्माण गर्न अग्लो पर्खाल उठाउनुपर्ने भएकाले केही समय लाग्ने उनले बताए। तुइनखोलाको पुल निर्माणको काम ६५ प्रतिशत सम्पन्‍न भएको उनले जानकारी दिए।

उनले भने, ‘तुइनखोलाको पुल निर्माणको कामअन्तर्गत जग उठाउने काम सम्पन्न भएको छ।’

तुइनखोला र खहरेखोलाको पुल निर्माणको काम कात्तिक मसान्तभित्र सक्नेगरी भइरहेको उनले जानकारी दिए। यस सडकखण्डमा १९ वटा पुल छन्। जसमध्ये विसं २०७६ चैत १० गते १५ वटा पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो।

विश्‍व बैंकको सहयोगमा ती पुल निर्माण गरिएका हुन्। सडक चौडा भएपछि पुलको काम थालिएको हो। यो सडक ९ देखि ११ मिटरसम्म फराकिलो बनाइएको छ। रासस