
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युतीय गाडीको संचालित चार्जिङ स्टेसनबाट दैनिक दुई करोड रुपैयाँको इन्धन खपत कम भएको जनाएको छ।
साझा यातायातले आज आयोजना गरेको कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ५१ वटा चार्जिङ स्टेसनको संचालनबाट दैनिक दुई करोड रुपैयाँको इन्धन खपत कम भएको बताएका हुन्।
‘अहिले चार्जिङ स्टेसन संचालनबाट मात्रै १ लाख युनिट विद्युत खपत हुने रहेछ,’ उनले भने, ‘यसले दैनिक करिब २ करोड रुपैयाँको डिजल पेट्रोल खपत कम गराएको छ।’
उनले विद्युतीय चार्जिङका कारण भविष्यमा इन्धन खरिदमा भइरहेको तीन खर्बको आयात घाटालाई ‘रिप्लेस’ गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। साथै, इन्धनबाट चल्ने ७० प्रतिशत गाडीलाई ‘इभी’मा परिणत गर्न सके आयात घाटाको परिपुर्ति हुने दाबीसमेत गरे।
‘हाम्रो जस्तो देशमा विद्युतको मूल्य इन्धनको तुलनमा एक दमै सस्तो छ,’ उनले भने।

नीजि क्षेत्रबाट निर्माण भएका ४०० वटा इभी चार्जरहरु नेपालभर संचालनमा रहेको उनले त्यस अवसरमा जानकारी दिए। अहिले धेरै नीजि क्षेत्रहरुले चार्जिङ स्टेनसको लागि माग गरिरहेको पनि उनले बताए। त्यसका लागि आवश्यक ट्रान्समिटर प्राधिकरणले नि:शुल्क रुपमा उपलब्ध गराउँदै आइरहेको उनले बताए।
यस्तै, घिसिङले इन्धनबाट हाल संचालन भइरहेका पुराना माइक्रोबसलाई विस्तारै विद्युतीय गाडीले रुपान्तरण गर्दै लग्नुपर्नेमा जोड पनि दिएका छन्। उनले इभी गाडीमा रुपान्तरणका लागि नीति बनाउन सरकारलाई आग्रह पनि गरेका छन्।
यसैगरी ट्याक्सीमा पनि राम्रो गुणास्तर तोकेर मात्र इभी ट्याक्सीहरु संचालन गर्न उनले मन्त्रीलाई आग्रह गरेका छन्।