बैंकले ग्राहकलाई बिना धितो मोबाइलबाटै दिन थाले ऋण, कुन बैंकको योजना कस्तो ?

आकाश बोगटी
२०८० चैत्र २७ गते ०६:३८ | Apr 9, 2024
बैंकले ग्राहकलाई बिना धितो मोबाइलबाटै दिन थाले ऋण, कुन बैंकको योजना कस्तो ?

काठमाडौं । निक्षेप थुप्रिएर लागत नै बढेपछि बैंकले ग्राहकलाई आकर्षित गर्न नयाँ योजना ल्याउन थालेका छन्। पाँचवटा वाणिज्य बैंकले बिना धितो मोबाइल एपबाटै ऋण दिन थालेका छन्। अन्य केही बैंकले पनि यस्तो सेवा सञ्चालनमा ल्याउने तयारी गरिरहेका छन्।

Tata
GBIME
NLIC

एभरेष्ट, नबिल, एनआईसी एसिया, एनएमबि र सरकारी स्वामित्वको कृषि विकास बैंकले ‘फोन लोन’ सेवा सञ्चालनमा ल्याएका हुन्। ग्राहकलाई सहज र सरलरुपमा सेवा प्रदान गर्ने उद्देश्यले अनलाइनबाटै कर्जा दिन सुरु गरेको बैंकहरुले बताएका छन्। ‘

‘फोन लोन’ सेवाका लागि ग्राहकले कुनै पनि कागजात बुझाउनु पर्दैन। मोबाइलबाट ‘अप्लाइ’ गरेकै भरमा बैंकले खातामा पैसा जम्मा गरिदिन्छ।

कसरी लिने फोन लोन?

यो सेवा सञ्चालनमा ल्याएका बैंकहरुको मोबाइल एप डाउनलोड गर्नुपर्छ। कर्जा लिन योग्य ग्राहकले एपमा लगइन गरि त्यहाँ उल्लेखित फोन लोनमा दर्ता हुनुपर्छ। त्यसपछि कर्जा प्रक्रिया अगाडि बढाउन सकिन्छ।

बैंकले इमेलमा भेरिफिकेसन म्यासेज पठाउँछ। म्यासेजमा लिंक क्लिक गरि ‘सक्सेसफुल’ भए कर्जा लिन योग्य भइन्छ। फोन लोन ग्राहकले चाहे जति कर्जा भने पाउँदैनन्।

ग्राहकको पछिल्लो ६ महिनाको कारोबारका आधारमा सिस्टमले नै ऋण कति दिने निर्धारण गर्ने बैंकरहरु बताउँछन्। उनीहरुका अनुसार अधिकतम २ लाखसम्म फोन लोन लिन सकिने व्यवस्था छ।

एनएमबि बैंकले अधिकतम दुई वर्ष अवधिका लागि यस्तो कर्जा प्रदान गरिरहेको छ। अन्य चार वाणिज्य बैंकले एक वर्षभित्र कर्जा भुक्तानी गर्न सक्ने गरी ऋण दिइरहेका छन्।

कृषि विकास बैंकको प्राथमिकता तलबी खातावाल

कृषि विकास बैंकले यो साता फोन लोन सेवा सञ्चालनमा ल्याएको छ। बैंकले तलबी खातावाल ग्राहकलाई मध्यनजर गर्दै अधिकतम २ लाखसम्म फोन लोन सेवा सञ्चालनमा ल्याएको हो।

बैंकमा तलबी खाता भएका ग्राहकले फोन लोन सेवा लिन सक्ने बैंकका कर्जा व्यवसाय तथा ट्रेजरी विभाग प्रमुख सुदिप दाहाल बताउँछन्।

‘कृषि विकास बैंकमा २० लाख तलबी खाता छन्। स्थानीय तहका कर्मचारी, शिक्षक र अन्य क्षेत्रका कर्मचारीका २० लाख खाता छन्। ती तलबी खातावाललाई मध्यनजर गर्दै फोन लोन सेवा सञ्चालनमा ल्याएका हौं,’ उनले भने।

तर, केही सीमा पुगेका ग्राहक मात्र कर्जाका लागि योग्य हुन्छन्।

दाहालका अनुसार खातावाल (ग्राहक)ले पछिल्लो ६ महिनामा गरेको कारोबारका आधारमा ‘फोन लोन’ सुविधा प्राप्त गर्न सक्नेछन्।

ग्राहकले आम्दानी अनुसार न्यूनतम ५ सयदेखि अधिकतम २ लाख रुपैयाँसम्म कर्जा फोनबाटै पाउँछन्। ‘फोन लोनका लागि ग्राहकले मोबाइल एपबाट अप्लाई गर्न सक्छन्,’ उनले भने, ‘कति लोन दिने कर्मचारीले तय गर्ने होइन। ग्राहकको कारोबारका आधारमा सिस्टमले नै निर्धारण गर्छ।’

दोस्रो चरणमा अन्य खातावालका लागि पनि यो सेवा सञ्चालनमा ल्याउने बैंकको योजना छ।

नबिलले दिन्छ न्यूनतम १० हजारदेखि दुई लाखसम्म

नबिल बैंकले ‘फोन लोन’का नाममा न्यूनतम १० हजारदेखि अधिकतम २ लाख रुपैयाँसम्म कर्जा दिने गरेको छ। कर्जा बैंकका खातावाल र क्यूआर लिएका ग्राहकले पाउँछन्।

‘हामीले दुई किसिमको फोन लोन’ सेवा सुरु गरेका छौं’, बैंकका डेपुटी सीइओ विनयकुमार रेग्मीले भने, ‘एउटा नबिल बैंकका खातावालले पाउँछन्, अर्को बैंकको क्यूआर लिएका ग्राहक (व्यवसायी)ले यस्तो कर्जा पाउँछन्।’

कर्जा कति पाउने भन्ने कुरा यो बैंकमा पनि ग्राहकले पछिल्लो ६ महिनामा गरेको कारोबारमा भर पर्छ।

एभरेष्टबाट तलबी खातावालले पाउने

एभरेष्ट बैंकले पनि फोन लोन सेवा सञ्चालन गर्न थालेको छ। तर यो सेवाका लागि बैंकमा तलबी खाता हुनुपर्छ। अन्य खातावालले भने यो सेवा नपाउने बैंकका सूचना अधिकारी केशवराज पौडेलले बताए।

‘हामीकहाँ फोन लोन तलबी खातावालले पाउँछन्’, उनले भने, ‘साधारण बचतकर्तालाई भने फोन लोनको व्यवस्था अहिलेलाई छैन।’ तलबी खातावालले पाउने फोन लोन अधिकतम २ लाख रुपैयाँ हो।

एनएमबिले दिन्छ पुराना ऋणीलाई पनि

एनएमबी बैंकले आफ्ना ग्राहकलाई २ लाखसम्म फोन लोन दिने गरेको छ। उसले यसका लागि आफैं सिस्टम खडा गरेको छ।बैंकका सूचना अधिकारी विष्णु पौडेलले आफ्नै इन्टरनल सिस्टम बनाएर फोन लोन दिने गरेको बताए।

‘अन्य बैंकको र हाम्रो फोन लोन फरक छ’, उनले भने, ‘अरुको मोबाइल एपबाट कर्जा लिन पाइने मोडल हो। हाम्रो अलि फरक छ। हामीले आफ्नै इन्टरनल सिस्टम क्रिएट गरेका छौं।’

एनएमबि बैंकले दुई वर्षको फोन लोन दिन्छ। तर त्यसका लागि कि बैंकमा तलबी खाता हुनुपर्छ नभए पुरानो ऋणी हुनुपर्छ। साधारण बचतकर्तालाई फोन लोनको व्यवस्था छैन।

एनआईसी एसियाको मापदण्ड यस्तो

एनआईसी एसिया बैंकबाट फोन लोन सेवा लिन कर्जा बाँकी भएको हुनु हुँदैन। तलबी खाता भएकाहरुले नियमित कारोबार गरिरहेका छन् भने यो सेवा पाउँछन्।