हिल्टन काठमाडौं दुई महिनाभित्र सञ्चालनमा आउँदै, ८ अर्बको होटल अरु ‘फाइभ स्टार’ भन्दा पृथक

वसन्तराज उप्रेती
२०८० चैत्र २५ गते १८:२३ | Apr 7, 2024
हिल्टन काठमाडौं दुई महिनाभित्र सञ्चालनमा आउँदै, ८ अर्बको होटल अरु ‘फाइभ स्टार’ भन्दा पृथक
होटल हिल्टन सिटी काठमाडौं

काठमाडौं। शंकर समूहले निर्माण गरिरहेको पाँच तारे होटल हिल्टन सिटी काठमाडौं दुई महिनाभित्र संचालनमा आउने भएको छ।

Tata
GBIME

८ अर्ब रुपैयाँ लगानीमा निर्माणाधीन होटलको ९८ प्रतिशत काम सकिएको छ। समूहका प्रबन्ध निर्देशक साहिल अग्रवालले निर्माण अन्तिम चरणमा पुगेको भन्दै आगामी जुनबाट होटल सञ्चालन गर्ने जानकारी दिए।

‘अहिले होटलको ९८ प्रतिशत काम सकिएको छ। हामी जुनबाट सफ्‍ट ओपनिङ गर्ने तयारीमा छौं,’ प्रबन्ध निर्देशक अग्रवालले बिजमाण्डूसँग भने, ‘यो होटल फाइभ स्टार अपस्केल हुनेछ।’

होटल सञ्चालनका लागि कर्मचारी समेत नियुक्ति गरिसकिएको छ। अग्रवालका अनुसार विभिन्न डिपार्टमेन्टका लागि १०० कर्मचारी नियुक्त गरिएको हो। हिल्टनले आफ्नो वेबसाइटमार्फत बुकिङ खुला गरिसकेको छ। वेबसाइटमा प्रति कोठाको मूल्य १ सय ९० डलर राखिएको छ।  

होटल हिल्टन सिटी काठमाडौं

होटलमा १७४ वटा कोठा छन्। अग्रवालका अनुसार अहिले भइरहेका होटलभन्दा थप सेवासुविधा रहने गरी हिल्टन सञ्चालनमा आउनेछ।

‘होटल बनाउँदा मटेरियलदेखि केहीमा पनि कम्प्रोमाइज गरेका छैनौं। होटल अहिले सञ्चालनमा रहेकाभन्दा पृथक हुनेछ,’ अग्रवालले भने, ‘हामीले विदेशकोजस्तै फाइभ स्टारको फिल दिनेछौं।’

स्रोतका अनुसार होटलमा सवारीसाधन समेत ‘ल्याभिस’ प्रयोग गर्ने योजना बनाइएको छ। ‘होटलको सेवामा भ्यालु एड गर्न सकियो भने मात्रै विदेशी पर्यटकले पनि पैसा खर्च गर्छन्। अहिलेकोजस्तै सामान्य हिसाबको सोचले होटलको रुमरेट बढाउन सकिंदैन,’ होटलमा हालै नियुक्त एक कर्मचारीले भने, ‘यो होटलको सेवा अहिले भइरहेका फाइभ स्टारभन्दा धेरै नै फरक हुन्छ।’

७ वर्षअघि होटल निर्माणको घोषणा गर्दाभन्दा लागत दोब्बर नाघेको छ। २०७३ मा होटल निर्माणको घोषणा गर्दा साढे तीन अर्ब रुपैयाँ लागत अनुमान गरिएको थियो।

होटलमा रुफ टप बार, ब्यांकेट हल, स्पा, अल डे डाइनिङ रेष्टुरेन्ट, हिटेड आउटडोर स्विमिङ पुल लगायत सुविधा समावेश छन्।

दोस्रो चरणमा क्यासिनो

समूहले होटल सञ्चालनमा आएको केही समयपछि क्यासिनो चलाउने छ। अग्रवालका अनुसार दोस्रो चरणमा क्यासिनो सञ्चालनमा ल्याउने गरी काम अघि बढेको छ। त्यो बाहेक ठूलो ब्यांकेट हल समेत निर्माण गर्ने उनले बताए। ‘अहिले एउटा ब्यांकेट हल संचालनमा छ। केही समयभित्रै अर्को ठूलो ब्यांकेट हल पनि बनाउँछौं,’ उनले भने।

होटल हिल्टन सिटी काठमाडौं

१० रोपनी क्षेत्रफलमा फैलिएको होटल १७ तल्लाको हो। तीन तल्लामा बेसमेन्ट समावेश गरिएको होटलको सबैभन्दा माथिल्लो तल्लामा स्विमिङ पुल छ।

होटल हिल्टन सिटी काठमाडौं

शंकर समूहले होटल चेन हिल्टन वर्ल्डवाइड म्यानेज लिमिटेडसँग सम्झौता गरी हिल्टन काठमाडौं सिटी सेन्टरको ब्राण्डबाट होटल सञ्चालन गर्न लागेको हो।

होटल हिल्टन सिटी काठमाडौं