अर्घाखाँचीमा बढ्दै वन डढेलोको जोखिम, नियन्त्रणमा सहयोग गर्नेलाई १० हजार पुरस्कार दिइने

बिजमाण्डू
२०८० चैत्र २० गते १४:१२ | Apr 2, 2024
अर्घाखाँचीमा बढ्दै वन डढेलोको जोखिम, नियन्त्रणमा सहयोग गर्नेलाई १० हजार पुरस्कार दिइने


काठमाडौं । अर्घाखाँचीमा वन डढेलो नियन्त्रणमा भूमिका निर्वाह गर्नेलाई पुरस्कृत गरिने भएको छ। गर्मी मौसममा जिल्लाका विभिन्न क्षेत्रमा डढेलो फैलिन सक्ने सम्भावना भएको र डढेलो नियन्त्रणमा योगदान दिने संघ, संस्था, समूह र व्यक्तिलाई १० हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरिएको डिभिजन वन कार्यालयका वन अधिकृत मदन ढुङ्गानाले बताए।

Tata
GBIME
NLIC

डिभिजन वन कार्यालय अर्घाखाँचीको आयोजनामा भएको वन डढेलो रोकथाम तथा नियन्त्रणसम्बन्धी कार्यक्रम तथा जिल्ला वन समन्वय समिति र जिल्ला वन सुरक्षा समितिको संयुक्त बैठकमा डढेलो नियन्त्रण गर्नेलाई पुरस्कृत गर्ने निर्णय भएको हो।

बैठकले डिभिजन वन कार्यालय अर्घाखाँचीको वन डढेलो नियन्त्रण कार्ययोजना स्थानीय तहको सुझावअनुसार स्वीकृत एवम् कार्यान्वयन गर्ने, डिभिजन वन कार्यालयको वार्षिक कार्यक्रमअनुसार वन डढेलो रोकथाम तथा नियन्त्रणका लागि जनचेतनामूलक नमूना कार्यक्रम सञ्चालन जारी राख्ने, स्थानीय तहहरुले वन डढेलो नियन्त्रणका लागि व्यापक प्रचारप्रसार तथा आवश्यक स्रोत व्यवस्थापन गर्नका लागि अनुरोध गर्ने लगायतका निर्णय गरेको डिभिजन वन कार्यालय अर्घाखाँचीका प्रमुख ईश्वरीप्रसाद पौडेलले जानकारी दिए।

बैठकले जिल्लामा लाग्ने आकस्मिक डढेलो नियन्त्रण गर्न सुरक्षा निकाय एवं वन कार्यालयको संयुक्त प्रयासबाट ‘क्विक रेस्पोन्स टिम’ गठन गरी परिचालन गर्ने पनि निर्णय गरेको छ।