लैङ्गिक समानता र महिला सशक्तीकरणप्रति लक्ष्मी सनराइज बैंकको प्रतिबद्धता

बिजमाण्डू
२०८० चैत्र १८ गते १६:२२ | Mar 31, 2024
लैङ्गिक समानता र महिला सशक्तीकरणप्रति लक्ष्मी सनराइज बैंकको प्रतिबद्धता

काठमाडौं। लक्ष्मी सनराइज बैंकले ‘स्पार्क ‘२४: नेतृत्वमा महिला सशक्तीकरण – समावेशी प्रेरणा’ कार्यक्रमको आयोजना गरेको छ। बैंकले कार्यस्थलमा महिलाको समावेशी, समानता र सशक्तीकरणको संस्कृतिलाई प्रवर्धन गर्ने आफ्नो अटल समर्पणलाई जोड दिँदै कार्यक्रमको आयोजना गरेको जनाएको हो।

Tata
GBIME
NLIC

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापा, अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रतिनिधि टेरेसा दवन सान्चेज, एफवान सफ्ट ग्रुपका पियुष पौडेल र भायनेट कम्युनिकेसनकी सीईओ सेवा पाठक लगायत वक्ता उपस्थित थिए। उनीहरूले महिला नेतृत्व र सशक्तीकरणको बारेमा आफ्ना धारणा सेयर गरेका थिए।

समापन मन्तव्यका क्रममा लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले सक्रिय पहलहरूमार्फत आफ्ना महिला कर्मचारीहरूको व्यावसायिक विकास अभिवृद्धि गर्न बैंक प्रतिबद्ध रहेको बताए।

‘हामी महिलाहरूलाई व्यक्तिगत र व्यावसायिक रूपमा शसक्त बनाउन अनुकूल वातावरण प्रदान गर्नका लागि प्रयासरत छौँ,’ सीईओले भने, ‘मनोवैज्ञानिक रूपमा सुरक्षित र सम्मानजनक कार्यस्थललाई बढावा दिने हाम्रो अटल प्रतिबद्धता उत्पीडन र भेदभावको लागि शून्य सहनशीलता कायम गर्ने नीतिहरू मार्फत स्पष्ट हुन्छ।’

हाल लक्ष्मी सनराइज बैंकमा ३६ प्रतिशत महिला कर्मचारी छन्। यो संख्या महानगरहरूमा ४५ प्रतिशतसम्म रहेको बैंकको दाबी छ। काठमाडौं उपत्यकामा बैंकका करिब ४० प्रतिशत शाखा प्रबन्धकहरू महिला छन् भने २५ प्रतिशत विभागको नेतृत्व महिला ले गरेका छन्।

सीईओ शाहले सुधारको लागि निरन्तर प्रयास गर्ने बैंकको प्रतिबद्धतामा जोड दिए। उनले संगठनको संरचनाभित्र विविधता, समतामूलक र समावेशीताको औपचारिक घोषणा समेत गरे।

सबै सहभागीहरूले सामूहिक रूपमा सिर्जना गरेको ‘आधुनिक मिथिला पेन्टिङ’ सार्वजनिक गर्दै कार्यक्रम समापन भयो। उक्त पेन्टिङलाई कार्यालयमा महत्त्वपूर्ण स्थान दिइने बताइएको छ। जुन लैङ्गिक समानतालाई अगाडि बढाउने र महिलाहरूलाई नेतृत्व पुर्‍याउन सशक्तीकरण गर्ने बैंकको पहल र अटल प्रतिबद्धताको प्रतीकका रुपमा रहने बताइएको छ।

बैंकले ‘स्पार्क ‘२४’कार्यक्रममार्फत एक वार्षिक परम्पराको सुरुवात भएको बताएको छ। कार्यक्रमले सकारात्मक परिवर्तनलाई अगाडि बढाउने तथा सबैका लागि थप समावेशी र समतामूलक भविष्य निर्माण गर्ने बैंकको प्रतिबद्धतालाई सुदृढ पारेको बैंकले विश्वास लिएको छ।