
काठमाडौं । इजरायलले हमास समूहलाई लक्षित गरेको भन्दै प्यालेस्टाइनीहरुमाथि गरिरहेको नरसंहारविरुद्ध काठमाडौंमा प्रदर्शन गरिएको छ।
नेपाल सामाजिक उत्तरदायित्वका निमित्त चिकित्सकहरुको सञ्जालले आज राजधानीमा विरोध प्रदर्शन गरेको हो। नरसंहार अन्त्य गर भन्ने नाराका साथ चिकित्सकहरुले र्याली निकालेका थिए।

उनीहरुले युद्धका कारण इजरायल दूतावास अगाडि पुगेर प्यालेस्टाइनीमाथि भइरहेको क्रुर बर्बरताको विरोध गरेका थिए।
हालसम्म गाजामा इजरालयको आक्रमणमा परी ६०० बढी चिकित्सकको समेत मृत्यु भइसकेको छ। उनीहरुले अस्पताल र एम्बुलेन्समा भएको आक्रमणको विरोध गर्दै आज दूतावासमा विज्ञप्ति दिएका हुन्।

युद्ध रोक्न माग गर्दै उनीहरुले गाजाका अस्पताल बचाउन आह्वान गरेका छन्। गाजाका अस्पताल इजरायली आक्रमणका कारण धवस्त हुँदा मानिसहरुले स्वास्थ्य सेवा पाउन सकेका छैनन्।
इजरायलले गरिरहेको आक्रमणका कारण गाजामा मात्रै ३२ हजार ५०० बढीको मृत्यु भइसकेको छ। जसमा १३ हजार बढी बालबालिका छन् भने ८ हजार ४०० बढी महिला छन्।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषददे युद्ध विरामको प्रस्ताव पारित गरे पनि इजरायली पक्ष त्यसलाई स्वीकार्न तयार देखिँदैन।




