आर्थिक सूचकको विश्लेषण : हेक्का राख्नुपर्ने केही सन्दर्भ, सिद्धराज भट्टको लेख

बिजमाण्डू
२०८० चैत्र १५ गते ०६:३१ | Mar 28, 2024
आर्थिक सूचकको विश्लेषण : हेक्का राख्नुपर्ने केही सन्दर्भ, सिद्धराज भट्टको लेख
  • सिद्धराज भट्ट-

मुलुकको आर्थिक गतिविधि विश्लेषण गर्न र अन्य मुलुकहरूसँगको तुलनात्मक स्थिति चित्रण गर्नका लागि विभिन्न आर्थिक सूचकहरूको प्रयोग गरिन्छ। तथापि कतिपय अवस्थामा यस्ता सूचकको व्याख्या सही तरिकाले नहुँदा आर्थिक स्थितिको गलत चित्र सम्प्रेषण हुन जाने सम्भावना रहन्छ। यस लेखमा केही आर्थिक सूचकहरूको व्याख्या गर्दा अपनाउनुपर्ने सावधानीबारे चर्चा गर्ने प्रयास गरिएको छ।

Tata
GBIME
Nepal Life

अनुपात वा योगदान

केही बृहत् आर्थिक आँकडालाई जीडीपीसँगको अनुपातको रूपमा व्याख्या गरिन्छ। जस्तै: विप्रेषण/जीडीपी अनुपात। यस्तो अनुपातलाई धेरै ठाउँमा विप्रेषणको जीडीपीमा भएको योगदानको रूपमा व्याख्या गरिएको पाइन्छ, जुन गलत हो। किनकि विप्रेषण मुलुकबाहिरबाट प्राप्त हुने रकम हो भने जीडीपी मुलुकको सिमानाभित्र हुने उत्पादन हो।

मुलुकबाहिरबाट प्राप्त हुने आयले मुलुकभित्र सिर्जना हुने आयमा प्रत्यक्ष रूपमा यति प्रतिशत योगदान दिन्छ भनेर भन्न सकिँदैन। तसर्थ, नेपालको जीडीपीमा विप्रेषणको योगदान २३ प्रतिशत छ भन्न मिल्दैन, बरु नेपालमा जीडीपीसँग विप्रेषणको अनुपात २३ प्रतिशत छ वा विप्रेषण आय जीडीपीको तुलनामा २३ प्रतिशत छ भन्नु उपयुक्त हुन्छ।

यसै गरी, उपभोग जीडीपी अनुपात ९० प्रतिशत हुनुको अर्थ हामी आफ्नो जीडीपीको ९० प्रतिशत उपभोगमा खर्च गर्छौं र १० प्रतिशत मात्र बचत गर्छौं भन्ने होइन। उपभोग खर्च आयातित वस्तु तथा सेवामा पनि हुन्छ। विप्रेषण र बाह्य स्रोतबाट प्राप्त अन्य आम्दानी पनि उपभोगमा प्रयोग हुन्छन्।

योगदानको रूपमा गलत व्याख्या गरिने केही अनुपातमा सार्वजनिक संस्थानको आय, बीमा प्रिमियम, सहकारी बचत, पर्यटन आयलगायतको जीडीपीसँगको अनुपात पनि छन्। अर्कातिर जीडीपी वा अन्य कुनै आँकडाको हिस्साको रूपमा आउने आँकडालाई चाहिँ योगदान वा अंशको रूपमा व्याख्या गरिन्छ। जस्तै: जीडीपीमा कृषिको योगदान, कुल कर रकममा प्रत्यक्ष करको योगदान आदि।

प्रतिशतमा मापन गरिने आँकडा

प्रतिशतमा मापन गरिने आँकडाको परिवर्तन उल्लेख गर्दा जहिले पनि आधार विन्दु वा प्रतिशत विन्दुमा उल्लेख गर्नुपर्ने हुन्छ। जस्तै: ब्याजदर १० प्रतिशतबाट १२ प्रतिशत हुँदा दुई प्रतिशतले बढ्ने होइन। त्यसलाई दुई प्रतिशत विन्दुले बढेको भन्नुपर्ने हुन्छ। तसर्थ, आधार दर, नीतिगत दर, ब्याजदर, मूल्य वृद्धिदरलगायतको परिवर्तन उल्लेख गर्दा पनि चनाखो बन्नुपर्छ।

प्रचलित मूल्य र स्थिर मूल्य

उत्पादन, आय, खर्च, लगानीजस्ता आँकडालाई प्रचलित मूल्यमा उल्लेख गर्नु उपयुक्त हुन्छ। जस्तै: नेपालको अर्थतन्त्रको आकार प्रचलित मूल्यको जीडीपी अर्थात् रु.५,३८१ अर्ब हो, स्थिर मूल्यको जीडीपी अर्थात् रू.२,५७६ अर्ब होइन। मूल्यवृद्धिले पार्ने प्रभाव हटाउन भने उत्पादनको वृद्धिदरलाई स्थिर मूल्यमा व्यक्त गरिएको हुन्छ।

आधार वर्ष परिवर्तन हुनेवित्तिकै स्थिर मूल्यमा मापन गरिएका आँकडामा परिवर्तन हुने भएकाले त्यस्ता आँकडाको आकार स्थिर मूल्यमा व्याख्या गर्नु हुँदैन। उदाहरणका लागि, नेपालको स्थिर मूल्यमा व्यक्त प्रतिव्यक्ति आय आधार वर्ष २०६७/६८ लाई लिँदा रू.८७,४५७ हुन्छ भने २०७९/८० को आँकडालाई लिँदा रू.१८२,६८३ हुन्छ। तसर्थ, स्थिर मूल्यमा मापन गरिएका आँकडाको रकमभन्दा वृद्धिदर महत्त्वपूर्ण हुन्छ।

आर्थिक वृद्धिदर

आर्थिक वृद्धिदरको मापन आधारभूत मूल्य र बजार मूल्यमा गरिन्छ। बजार मूल्यमा व्यक्त वृद्धिदरमा खुद अप्रत्यक्ष कर समावेश हुन्छ भने आधारभूत मूल्यमा व्यक्त वृद्धिदरमा त्यस्तो कर समावेश हुँदैन। कतिपय अवस्थामा सरकारले वृद्धिदर बढी देखाउन बजार मूल्यमा मापन गरिएको वृद्धिदरलाई मात्रै देखाइएको आरोप पनि लाग्ने लाग्ने गर्छ।

तथापि, जीडीपी भन्नाले बजार मूल्यमा व्यक्त उत्पादनलाई बुझाउने, खर्च विधिबाट उत्पादन गणना गर्दा बजार मूल्य मात्रै थाहा हुने तथा विकसित मुलुक, धेरैजसो उदीयमान मुलुक र अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंकलगायतले आर्थिक वृद्धिदर बजार मूल्यमा अनुमान/प्रक्षेपण गर्ने भएको हुँदा सैद्धान्तिक दृष्टिकोण र तुलनालाई यथार्थपरक बनाउन बजार मूल्यमा व्यक्त वृद्धिदरलाई प्रयोग गर्नु उपयुक्त हुन्छ।

यसै गरी, त्रैमासिक वृद्धिदरको हकमा कुनै त्रैमासको उत्पादनलाई सोही वर्षको अघिल्लो त्रैमाससँग तुलना गर्ने कि अघिल्लो वर्षको सोही त्रैमाससँग तुलना गर्ने भन्ने कुरा महत्त्वपूर्ण रहन्छ। विकसित मुलुकहरूमा कुनै एक त्रैमासको उत्पादनलाई वर्षको चार वटै त्रैमासमा वितरण गर्न वैज्ञानिक विधिको प्रयोग गरिने भएकाले ती मुलुकमा अघिल्लो त्रैमाससँगको वृद्धिदर अर्थात् मौसमी प्रभाव समायोजित वृद्धिदर बढी उपयोग गरिन्छ।

तर नेपालजस्तो मुलुकमा कृषि उत्पादनको ठूलो हिस्सा कुनै एउटा त्रैमासमा मात्र प्राप्त हुने र कुनै एक त्रैमासको उत्पादनलाई अन्य त्रैमासमा वितरण गर्नका लागि उत्तम विधिको उपयोग भइनसकेको हुँदा अघिल्लो वर्षको सोही त्रैमाससँगको वृद्धिदर अर्थात् मौसमी प्रभाव समायोजन नगरेको वृद्धिदरलाई उपयुक्त आँकडाको रूपमा लिन सकिन्छ।

वार्षिक विन्दुगत वृद्धिदर

वार्षिक विन्दुगत वृद्धिदरले अघिल्लो वर्षको कुनै महिनाको तुलनामा यो वर्षको उक्त महिनामा कुनै आँकडामा कति परिवर्तन भयो भन्ने देखाउँछ। तथापि आम पाठकको सम्झनामा अघिल्लो महिनाको अवस्था ताजा हुने भएकाले उक्त तथ्याङ्कलाई अघिल्लो महिनासँग तुलना गरिने सम्भावना र यसबाट पाठकलाई प्रकाशित तथ्याङ्कभन्दा फरक अनुभूति हुन जान्छ। जस्तै: कुनै महिनामा मूल्यवृद्धिको तथ्याङ्क कम आउँदा अघिल्लो वर्षको उक्त महिनाको तुलनामा यो वर्षको सोही महिनामा भएको मूल्यवृद्धि कम भयो भन्ने हो, अघिल्लो महिनाको तुलनामा भएको वृद्धि कम भन्ने होइन।

तर सर्वसाधारणको मनमा बजारमा मूल्य बढ्दै गएका बेला मूल्यवृद्धि कसरी कम भयो भनेर तथ्याङ्कमाथि शङ्का गर्ने ठाउँ रहन्छ। मौसमी प्रभाव रहने भएकाले सामान्यतया मूल्यवृद्धिलाई अघिल्लो महिनासँग तुलना गरिँदैन। यस्तो अवस्थामा हाम्रो तथ्याङ्कलाई प्रस्ट रूपमा व्याख्या गर्नुपर्ने हुन्छ।

वार्षिक विन्दुगत वृद्धिदर धेरै कम वा धेरै बढी हुनेवित्तिकै वार्षिक औसत वृद्धि पनि उच्च हुन्छ वा न्यून हुन्छ भन्ने सुनिश्चितता हुँदैन। उदाहरणको लागि चालु आवको पहिलो तीन महिनामा वार्षिक विन्दुगत मूल्यवृद्धि ७.५ प्रतिशतभन्दा माथि भए तापनि पछिल्लो समयमा मूल्यवृद्धि घट्दै गएका कारण पहिलो छ महिनाको औसत मूल्यवृद्धि ६.४७ मात्र कायम हुन गएको छ।

यसै गरी, २०७८ भदौ महिनामा कर्जाको वार्षिक विन्दुगत वृद्धि करिब ३३ प्रतिशत पुगेका कारण कर्जाको वार्षिक वृद्धि नै ३० प्रतिशतमाथि पुग्यो भन्ने हिसाबले सबैतिर व्याख्या विश्लेषण भएको थियो। तथापि भदौपछिका महिनाहरूमा कर्जाको वृद्धिदर कम रहेका कारण उक्त कर्जाको वार्षिक वृद्धि भने १३.३ प्रतिशत मात्र कायम भएको थियो, जुन केन्द्रीय बैंकको लक्ष्यभन्दा निकै कम थियो।

आधार प्रभाव र वृद्धिदर

अर्थतन्त्रमा आउने उतारचढावका कारण कहिलेकाहीँ आर्थिक चरहरूमा गिरावट आउने गर्छ। त्यसभन्दा पछिको वर्ष उक्त चरको मान वृद्धि भई सामान्य अवस्थामा फर्कँदा अर्थतन्त्रमा वास्तविक वृद्धि नभए तापनि वृद्धिदर भने उच्च देखिन सक्छ।

नेपालमा भूकम्प र नाकाबन्दीपश्चात् आर्थिक गतिविधि सुचारु भई पुरानै अवस्थामा फर्किएका कारण मात्र करिब १.१ प्रतिशत विन्दु बराबरको आर्थिक वृद्धि प्राप्त भएको देखिन्छ भने कोभिडपश्चात् आव २०७७/७८ मा त्यस्तो आधार प्रभाव करिब २.२ प्रतिशत विन्दु बराबरको छ।

यस्तो प्रभाव सबैजसो आर्थिक चरहरूमा देखा पर्ने भएकाले आर्थिक सङ्कट/मन्दीभन्दा ठिक पछाडिको अवधिको वृद्धिदरलाई सावधानीपूर्वक व्याख्या गर्नुपर्ने हुन्छ।

धनात्मक तथा ऋणात्मक मान लिन सक्ने आँकडा

चालु खाता, शोधनान्तर, खुद वैदेशिक लगानीजस्ता आँकडाहरूको मान धनात्मकबाट ऋणात्मक र पुनः धनात्मक हुनसक्ने भएकाले प्रतिशत परिवर्तन गणना गर्दा अनौठो सङ्ख्या आउन सक्छ। उदाहरणका लागि आव २०७७/७८ मा रु. एक अर्ब २३ करोडले बचतमा रहेको शोधनान्तर स्थिति २०७८/७९ मा आइपुग्दा रु.२५५ अर्बले घाटामा थियो भने पछिल्लो आर्थिक वर्षमा पुनः रु.२९० अर्बले बचतमा थियो।

तर प्रतिशत परिवर्तन निकाल्दा दुवै अवस्थामा ऋणात्मक र ठूलो आँकडा देखा पर्दछ जसका आधारमा शोधनान्तर स्थितिको यथार्थ चित्र प्राप्त गर्न सकिँदैन। तसर्थ यस्ता चरहरूलाई प्रतिशतभन्दा पनि कुल रकम वा जीडीपीको अनुपातमा व्याख्या गर्न उपयुक्त हुन्छ।

पहुँच प्रतिशत

कतिपय अवस्थामा जनसङ्ख्यामा कुनै सेवाको पहुँचको अवस्था गणना गर्दा दोहोरो गणनाका कारण वास्तविक पहुँच निकाल्न सकिने अवस्था हुँदैन। जस्तै: मोबाइल सेवा, बैंक खाता, सवारी साधन, इन्टरनेट, मोबाइल वालेटको उपयोग आदि।

मुलुकको जनगणनाबाट यस्ता तथ्याङ्कहरू प्राप्त हुनसक्ने भए तापनि जनगणना प्रत्येक वर्ष नहुने र यस्ता सबै आँकडाहरू त्यसमा समावेश नहुने भएकाले बेलाबखत यस्ता आँकडाको प्रयोग गर्नुपर्ने बाध्यता रहन्छ।

यस्तो अवस्थामा त्यस्ता आँकडालाई जनसङ्ख्याले भाग गरेर पहुँचको रूपमा भन्दा पनि अनुपात वा पेनेट्रेसनको रूपमा व्याख्या गर्नु उचित हुन्छ । उदाहरणका लागि; बचत खाता, ऋण खाता, वालेट खाता, डेबिट कार्ड, बीमालेख आदिको विस्तारको हकमा पहुँचभन्दा पनि पेनेट्रेसनको रूपमा व्याख्या गर्न उपयुक्त हुन्छ।

सूचकाङ्कको व्याख्या

धेरैजसो आर्थिक चरमा हुने परिवर्तनलाई सूचकाङ्कका माध्यमबाट मापन गरिन्छ। जस्तै: मूल्य, विनिमय दर आदि। सूचकाङ्कको मान आधार वर्षको छनोटमा भरपर्ने भएकाले सूचकाङ्कको निरपेक्ष मानको खासै अर्थ हुँदैन। तसर्थ, सूचकाङ्कको हकमा वृद्धिदर मात्रै विश्लेषण गरिन्छ।

निश्चित आधार वर्ष नलिईकन निश्चित सीमा जस्तै: ० देखि १०० भित्र पर्ने गरी गणना गरिएका सूचकाङ्कको हकमा भने सूचकाङ्कको मान नै विश्लेषण गरिन्छ। उदाहरणका लागि; मानवीय विकास सूचकाङ्क, वित्तीय समावेशिता सूचकाङ्क आदि।

यसै गरी, निश्चित आधार वर्षका आधारमा गणना गरिने विभिन्न सूचकाङ्कहरूबीच तुलना गर्नुपरेमा तिनीहरूको आधार वर्ष एउटै बनाइसकेपछि मात्रै त्यस्तो तुलना गर्न अर्थपूर्ण हुन्छ

विदेशी मुद्रामा रेकर्ड हुने आँकडा

निर्यात, विप्रेषण, वैदेशिक लगानी, चालु खाता, शोधनान्तर, विदेशी विनियम सञ्चितिजस्ता आँकडाहरू नेपाली मुद्रामा मात्र व्यक्त गर्दा विदेशी विनिमय दर परिवर्तनको प्रभाव पर्ने भएकाले अमेरिकी डलरमा समेत व्याख्या गर्नु उचित हुन्छ। त्यसै गरी विदेशी विनिमय सञ्चितिलाई उक्त सञ्चितिको निरपेक्ष मान भन्दा पनि आयात गर्ने क्षमताका रूपमा व्याख्या गर्न बढी उपयुक्त हुन्छ किनकि आयातको आकार बढ्दै गएको बेला सञ्चितिमा वृद्धि भए तापनि सञ्चिति पर्याप्ततामा भने सुधार नहुन पनि सक्छ।

निष्कर्ष

मुलुकको आर्थिक तथा वित्तीय अवस्थाका बारेमा बुझ्नका लागि विभिन्न आर्थिक सूचकको उपयोग गरिन्छ। तथापि कतिपय अवस्थामा त्यस्ता सूचकहरूको व्याख्या फरक तरिकाबाट हुँदा यथार्थ अवस्था नझल्कने, अपूर्ण हुने र कतिपय अवस्थामा गलत सूचना सम्प्रेषण हुने जोखिमसमेत रहन्छ। तसर्थ, आर्थिक सूचकहरूको व्याख्या र विश्लेषण गर्दा विशेष सावधानी पुर्‍याउन आवश्यक छ ।

(भट्ट नेपाल राष्ट्र बैंकका उपनिर्देशक हुन्। उनको लेख नेपाल राष्ट्र बैंक समाचार चैत अंकबाट साभार गरिएको हो।)