स्कुटरको बिक्री बढेपछि बजाजलाई पछि पार्दै होन्डा मार्केट लिडर, बिक्रेता लफडाले हिरो शून्यमा

शुक्र गिरी
२०८० चैत्र १४ गते १५:०५ | Mar 27, 2024
स्कुटरको बिक्री बढेपछि बजाजलाई पछि पार्दै होन्डा मार्केट लिडर, बिक्रेता लफडाले हिरो शून्यमा

काठमाडौं। दुई पाङ्ग्रे सवारीको बजारमा बजाजलाई पछि पार्दै होन्डा मार्केट लिडर बनेको छ। कम्पनी सन् २०२३ मा बजाजको भन्दा करिब १० हजार युनिट बढी बाइक तथा स्कुटर बिक्री गरेर मार्केट लिडर बनेको हो।

Tata
GBIME
Nepal Life

कोभिड अघिसम्म बजाज मार्केट लिडरको रुपमा थियो। होन्डा बाइकको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले २०२३ मा २५ हजार ८७५ युनिट स्कुटर र २ हजार ३९६ युनिट बाइक बिक्री गरेको छ। होन्डाको बिक्रीमा ९०.७१ प्रतिशत हिस्सा स्कुटरको छ।

सन् २०२१ मा ७० हजार युनिटसम्म बाइक बिक्री गरेको बजाजको बिक्री २०२३ मा १९ हजार २४२ युनिटमा खुम्चिएको छ। बजाजको आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले नेपालमै बाइक एसेम्ब्ली गरेर बेच्दै आएको छ।

तर बजाजसँग स्कुटरका मोडल नहुँदा होन्डाले उसलाई पछि पारेको देखिन्छ। बजाजसँग इभी स्कुटर मात्र छ। स्कुटरको बिक्री बढेकाले होन्डा अन्य ब्रान्डको भन्दा धेरै व्यापार गर्न सफल भएको अटो व्यवसायीहरु बताउँछन्।

कुनै समय तेस्रो स्थानमा रहेको टीभीएसलाई पछि पार्दै यामाहा तेस्रो स्थानमा उक्लिएको छ। यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले २०२३ मा ६ हजार ३२० बाइक र १० हजार ५५९ स्कुटर बिक्री गरेको छ। उसको पनि बिक्रीमा स्कुटरको हिस्सा ६७ प्रतिशत छ।

चौथो स्थानमा पुगेको टीभीएसले १२ हजार ६४० स्कुटर र १ हजार ३८८ बाइक बिक्री गरेको छ। यसको पनि स्कुटरको बिक्री बाइकको भन्दा ६ गुणा बढी छ। कोभिडपछिका वर्षहरुमा टीभीएस बाइकको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ७१ हजार र यामाहाले ५६ हजार युनिटसम्म बिक्री गरेका थिए।

२०२२ को अन्तिममा आधिकारिक बिक्रेता नवीकरणलाई लिएर हिरो मोटोकर्प र एनजीएमबीच लफडा भएपछि नेपाली बजारमा एक वर्षदेखि हिरोका बाइक आयात भएका छैनन्। कुनै समय वर्षमा ४० हजार युनिटसम्म बाइक र स्कुटर बिक्री गर्ने हिरो अहिले शून्यको स्थितिमा छ।

हिरोको नयाँ डिलरमा छनोट भएको सीजी मोटर्स बाइक ल्याउने तरखरमा छ। कम्पनीले एसेम्ब्ली प्लान्टसहित हिरोका बाइक ल्याउने तयारी गरिरहेको छ।

यसैगरी रोयल इन्फिल्ड पाँचौं स्थानमा आएको छ। रोयल इन्फिल्डको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ्स कम्पनीले २०२३ मा ५ हजार ३७२ युनिट बाइक बिक्री गरेको छ। रोयल इन्फिल्डको नयाँ बिक्रेताले नेपालमा नै एसेम्बली प्लान्ट निर्माण गरी सस्तो मूल्यमा बाइक बिक्री गर्न सुरु गरेको थियो।

भेस्पा र अप्रिलाको आधिकारिक बिक्रेता डेल्टा अटोकर्वले एक वर्षमा १ हजार ८८० वटा स्कुटर बिक्री गर्दा कुनै समय टप ५ मा पर्ने सुजुकीले भने ३२० वटा बाइक तथा स्कुटरको बिक्रीमा चित्त बुझाएको छ।

यस्तै, केटीएमले एक वर्षमा १ हजार १२४ युनिट बाइक बिक्री गरेको छ।

२०२४ को दुई महिनामा पनि होन्डा नै अघि

सन् २०२४ को दुई महिनाको तथ्यांक हेर्ने हो भने होन्डाकै बाइक तथा स्कुटर सबैभन्दा धेरै बिक्री भएको छ। कम्पनीले दुई महिनामा ८ हजार ५९४ युनिट बाइक तथा स्कुटर बिक्री गरेको हो। यो दुई महिनामा टीभीएसका ३ हजार ५३८ युनिट बाइक तथा स्कुटर बिक्री भएका छन्। यामाहाले २ हजार ५५९ युनिट र बजाजले १ हजार ७६१ यनिट बेचेका छन्।

यसैगरी रोयल इन्फिल्ड बाइक बजारमा २ महिनामा १ हजार २२३ युनिट थपिएका छन्।

स्कुटर नहुने ब्रान्डको बिक्रीमा ठूलो गिरावट आएको तथ्यांकले देखाएको छ। कुनै समय वार्षिक ३ लाख ४० हजार युनिटसम्म बिक्री हुने दुई पाङ्ग्रे सवारी बजारमा अहिले एक लाखभन्दा बढी बिक्री हुन छोडेको छ।

इलेक्ट्रिक स्कुटर तथा बाइकको बजारमा भने याडिया पहिलो स्थानमा छ। यो ब्रान्डका बाइक तथा स्कुटर २०२३ मा ६६५ युनिट बिक्री भएका छन्। यस्तै एनआईयु ३६५ युनिट बिक्रीसहित दोस्रो, कोमाकी ३५७ युनिटसहित तेस्रो र सेगवे ३४० युनिट स्कुटर बिक्रीसहित चौथो स्थानमा छन्।