बहाराईन उड्न लागेका एन्फा पदाधिकारीलाई रोक्न खेलकुद मन्त्रालयले गृहलाई गर्‍यो अनुरोध

बिजमाण्डू
२०८० फागुन ३० गते १७:४३ | Mar 13, 2024
बहाराईन उड्न लागेका एन्फा पदाधिकारीलाई रोक्न खेलकुद मन्त्रालयले गृहलाई गर्‍यो अनुरोध
युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ


काठमाडौं। युवा तथा खेलकुद मन्त्रालयले कानुन विपरीत फुटबल टिमसँग बहराईन जान लागेका अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीलाई रोक्ने भएको छ। फिफा विश्वकप छनोट अन्तर्गतको खेलका क्रममा बहराइन उड्न लागेको टोलीमा अनावश्यक व्यक्ति सहभागी भएको भन्दै मन्त्रालयलले ध्यानाकर्षण भएको जनाएको हो।

Vigo
GBIME
Tata

नेपाली फुटबल टोली मलेसियासँग मैत्रीपूर्ण खेल खेलेर बहराइनसँग विश्वकप छनोट अन्तर्गतको खेल खेल्न आज जाँदैछ। मन्त्रालयले खेलकुद विकास ऐनको विपरित हुने गरि अनावश्यक व्यक्तिहरु सोही प्रतियोगितालाई भनेर विदेश जान लागेकोमा कानुन विपरीत वैदेशिक प्रस्थान अनुमति रोक्न गृह मन्त्रालयलाई पत्रचारसमेत गरिसकेको छ।

बहराइनसँगको दुईमध्ये एक खेल नेपालको घरेलु मैदानमा हुनुपर्ने थियो। तर, दशरथ रंगशालाको जीर्ण अवस्थाका कारण नेपालमा ‘होम गेम’ हुन सकेन।

एन्फाको साधारण सभा चलिरहँदा बहराइनको उजुरीमा दशरथ रंगशालाको निरीक्षण गर्न एसियन फुटबल कन्फिडरेसन (एएफसी) का प्रतिनिधि दशरथ रंगशाला निरीक्षणमा पुगेका थिए। रंगशालामा विभिन्न कार्यक्रम लगातार भइरहँदा र ‘मेन्टेनेन्स’ नहुँदा अन्तर्राष्ट्रिय खेलको लागि अयोग्य बनेको उनीहरुको ठहर थियो।

मन्त्रालयले यस विषयमा पनि गम्भीर ध्यानाकर्षण भएको भन्दै गैर खेल गतिविधि किन भयो भन्ने बारे सरोकारवाला निकायलाई प्रश्न सोध्ने तयारी समेत गरेको छ।

एन्फाले अघिल्लो साता एक विज्ञप्ति निकाल्दै राष्ट्रिय खेलकुद परिषद मातहतमा रहेको ‘रंगशालामा विभिन्न फरक खेल गतिविधिका कारण मैदानको दूरावस्था भएको र विश्वकप छनोट खेलका लागि अयोग्य’ बनेको उल्लेख गरेको थियो।

एन्फाले राखेपतर्फ दोष थुपार्न खोजे पनि एन्फाकै पूर्व पदाधिकारीहरुले एन्फाकै सिफारिसमा पनि रंगशालामा विभिन्न गतिविधि भएको आरोप लगाएका छन्। त्यसबाहेक विभिन्न स्कुलस्तरीय र अन्य खेलका प्रतियोगिता पनि रंगशालामा भएका थिए। एन्फाकै सिफारिसमा पनि गैरफुटबल गतिविधिहरु रंगशालामा हुँदा पूर्वनिर्धारित ठूलो खेल ‘होस्ट’ गर्नबाट नेपाल चुकेको थियो।