दशरथ रंगशाला ‘अयोग्य’ भएपछि नेपालले बहराइविरुद्धका दुवै खेल उसैको घरेलु मैदानमा खेल्ने

मुकुन्द घिमिरे
२०८० फागुन २९ गते १४:३८ | Mar 12, 2024
दशरथ रंगशाला ‘अयोग्य’ भएपछि नेपालले बहराइविरुद्धका दुवै खेल उसैको घरेलु मैदानमा खेल्ने
विश्वकप छनोटको खेलका लागि तयारीमा नेपाली खेलाडी। तस्बिर: एन्फा

काठमाडौं। नेपाली फुटबल टोलीले विश्वकप छनोट अन्तर्गत बहराइनविरुद्धमा ‘होम र अवे’ दुवै म्याच बहराइनमै खेल्ने भएको छ। यसअघि बहराइनको उजुरीमा एसियन फुटबल कन्फिडरेसन (एएएफसी) ले दशरथ रंगशालाको निरीक्षण गर्दै यहाँ खेल हुन नसक्ने ठहर गरेको थियो।

Tata
GBIME
Nepal Life

एन्फाको साधारण सभा चलिरहँदा दशरथ रंगशालाको निरीक्षण गर्न एएफसीका प्रतिनिधि दशरथ रंगशालामा थिए। रंगशालामा विभिन्न कार्यक्रम लगातार भइरहँदा र ‘मेन्टिनेन्स’ नहुँदा अन्तर्राष्ट्रिय खेलको लागि अयोग्य बनेको हो।

एन्फाले यसअघि नै एक विज्ञप्ति निकाल्दै राष्ट्रिय खेलकुद परिषद मातहतमा रहेको ‘रंगशालामा विभिन्न फरक खेल गतिविधिका कारण मैदानको दूरावस्था भएको र विश्वकप छनोट खेलका लागि अयोग्य’ बनेको उल्लेख गरेको थियो। एन्फाले राखेपतर्फ दोष थुपार्न खोजेपनि एन्फाकै पूर्व पदाधिकारीहरुले एन्फाकै सिफारिसमा पनि रंगशालामा विभिन्न गतिविधि भएको आरोप लगाएका छन्। त्यसबाहेक विभिन्न स्कुलस्तरीय र अन्य खेलका प्रतियोगिता पनि रंगशालामा भएका थिए।

एन्फाले आज अर्को विज्ञप्ति निकाल्दै दुबै खेल बहराइनमै हुने जनाएको छ। अघिल्लो संस्करणको विश्वकप छनोटमा दशरथ रंगशाला पुनर्निमाण भइनसक्दा नेपालले ‘होम गेम’ न्युट्रल भेन्युमा खेलेको थियो। तर, बहराइनविरुद्ध दुबै खेल बहराइनकै घरेलु मैदानमा हुनेछ।

बहराइनविरुद्धको पहिलो खेल मार्च २१ र दोस्रो खेल मार्च २७ मा बहराइन नेशनल स्टेडियममा हुँदैछ। त्यसअघि मार्च १५ मा नेपालले मलेसियासँग तयारीस्वरुप मैत्रीपूर्ण खेल खेल्दैछ।

एन्फाका पूर्वअध्यक्ष गणेश थापाले एन्फाले रंगशालाको स्तर जोगाउन पहल नगरेको आरोप लगाएका छन्।

‘खेलमैदान मर्मतको लागि चैत ८ गतेभन्दा अगाडि कसैलाई खेलमैदान  उपलब्ध नगराउन राष्ट्रिय खेलकुद परिषदलाई भन्नुपर्ने ठाउँमा उल्टो विभिन्न संघसंस्थालाई खेलमैदान उपलब्ध गराउन एन्फाले राष्ट्रिय खेलकुद परिषद्लाई सिफारिस गरेकोबाट एन्फा नेपालमा गेम गराउन चाहँदैनथ्यो भन्ने प्रष्ट भएन र?,’ उनले सोधेका छन्, ‘दोष चाहि राष्ट्रिय खेलकुद परिषद्लाई र खेलकुद मन्त्रालय दिन मिल्छ? यो विषय आम खेलपेमीहरूको  चासोको विषय भएको हुँदा राष्ट्रिय खेलकुद परिषद् र खेलकुद मन्त्रालयले छानबिन गर्नुपर्दछ।’