
काठमाडौं। एनसेलले इएन्ड इन्टरनेसनललाई रणनीतिक साझेदारको रुपमा भित्र्याएको छ। एनसेलका ग्राहकलाई उत्कृष्ट डिजिटल अनुभव प्रदान गर्न, नलेज सेयरिङसम्बन्धी गतिविधि सञ्चालन गर्न र मुख्य सेवा, सुविधा तथा प्लाटफर्महरू उपलब्ध गराउन इएन्ड इन्टरनेसनलसँग रणनीतिक समझदारी गरिएको एनसेलले जनाएको छ।
सम्झौतामा एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र इएन्ड इन्टरनेसनलका चिफ बिजनेस अफिसर खालेद मोहम्मद रियदले बार्सिलोनामा भएको मोबाइल वर्ल्ड कंग्रेसका अवसरमा हस्ताक्षर गरेका हुन्। इएन्ड इन्टरनेसनल संयुक्त अरब इमिरेट्सको एतिसलात ब्रान्डको दूरसञ्चार कम्पनी चलाउने इएन्ड ग्रुपको एक अंश हो।
समझदारी पत्रअनुसार दुवै पक्षले कस्टमर भ्यालु म्यानेजमेन्ट (सीभीएम) र एड्भान्स्ड एनालिटिक्स, बीटुसी र बीटुबी सेल्स एन्ड मार्केटिङलगायतको व्यावसायिक सहायता, ग्राहक अनुभव, खरिद, नेटवर्क क्यापेक्स एन्ड ओपेक्स अप्टिमाइजेसन, इन्टरनेसनल क्यारियर एन्ड होलसेल, मोबाइल नेटवर्क कोड (एमएनसी) सर्भिसेज सपोर्ट र डिजिटल रूपान्तरणलगायत क्षेत्रमा सहकार्य गर्ने एनसेलले स्पष्ट पारेको छ।
सहकार्य आय बढाउन, नवीन सेवा सञ्चानलमा ल्याउन, खरिद र नेटवर्क सुदृढीकरणमा बचत गर्न, अन्तर्राष्ट्रिय लामो दूरीको व्यवसाय र डिजिटल सोलुसन्स बढाउन महत्त्वपूर्ण हुने विश्वास गरिएको छ। यसका लागि एनसेल र इएन्ड इन्टरनेसनलले नेपालका ग्राहकको डिजिटल यात्रा सजिलो हुने गरी ठोस र प्रभावकारी नतिजा प्रदान बताइएको छ।
‘इएन्ड इन्टरनेसनलसँगको यो रणनीतिक साझेदारी एनसेलको टेल्कोबाट डिजिटल टेकको बन्ने यात्राको महत्त्वपूर्ण उपलब्धि हो। यो साझेदारी नेपालको डिजिटल विकासमा योगदान पुर्याएर डिजिटल रूपान्तरणलाई गति दिने हाम्रो प्रतिबद्धताअनुरूप छ,’ सम्झौतापछि एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक कायुमोभले भने, ‘इएन्ड इन्टरनेसनलको नेतृत्व र पार्टनर नेटवर्क प्रोग्रामको बृहत अनुभवका साथ यो सहकार्यले एनसेललाई असीमित अवसरका साथ सशक्त बनाउने कुरामा हामी विश्वस्त छौं।’
उनले इएन्ड इन्टरनेसनलका साथ एनसेलका ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आफ्ना सेयरधनी, व्यावसायिक साझेदार र सम्पूर्ण दूरसञ्चार क्षेत्रको प्रगतिमा योगदान पुर्याउन तयार भएको बताए।
‘मोबाइल कनेक्टिभीभन्दा बाहिरसमेत नेटवर्क पूर्वाधार विस्तारलाई प्राथमिकता दिइरहेको अवस्थामा हामी डिजिटल नेपाल भिजनको उद्देश्य प्राप्त गर्ने लक्ष्यमा योगदान पुर्याउन प्रतिबद्ध रहेको स्पष्ट पार्न चाहन्छौं। जुन हाम्रो थिम ‘हेयर फर यू’ अर्थात् ‘हामी तपाईंकै लागि’मा आधारित छ,’ कायुमोभले भने।
इएन्ड इन्टरनेसनलका चिफ बिजनेस अफिसर रियदले एनसेलसँगको साझेदारी नेपालका उपभोक्ता र व्यवसायीहरूलाई कनेक्टिभिटी र डिजिटल रूपान्तरणका लाभ दिलाउने नयाँ अध्याय भएको बताए। ‘स्थानीय बजारबारे एनसेलको गहिरो बुझाइ र विश्वस्तरीय डिजिटल सञ्जाल विकास गर्ने हाम्रो विशेषज्ञताको संयोजनबाट यस डिजिटल युगमा नेपालको प्रगतिलाई गति दिन मद्दत गर्न सक्छौं भन्ने कुरामा म विश्वस्त छु,’ उनले भने, ‘पूर्वाधारलाई अप्टिमाइज गरेर, कनेक्टिभिटी बढाएर र सेवाहरूमा नयाँ अवसर पहिल्याएर हामी सबै नेपालीका लागि साँच्चै कनेक्टेड र समावेशी डिजिटल भविष्य निर्माणमा सघाउने लक्ष्य राख्छौं। यो सुरुवात मात्र हो। नेपालको महत्त्वाकांक्षी डिजिटल भिजनलाई साकार पार्न रणनीतिक साझेदारको रूपमा के गर्न सक्छौं, त्यो गर्न हामी तत्पर छौं।’
यसैगरी सामझदारीअन्तर्गत एनसेलले इएन्ड इन्टरनेसनलको सहयोगमा डिजिटल र परम्परागत माध्यमको सदुपयोग गर्दै रियल टाइम र कन्टेक्सचुअल मार्केटिङ गर्ने, मेसिन लर्निङ र एआई मोडलहरूको बृहत्तर उपयोग गर्दै उत्कृष्ट एनालिटिक्स कार्यान्वयन गर्ने र बिग डाटा स्रोतहरूको प्रयोगमार्फत सान्दर्भिक र पर्सनलाइज्ड अफरहरू ल्याउने एनसेलले जनाएको छ। कम्पनीले आफ्ना ग्राहक आधार वृद्धि, वितरक र बिक्रेताहरूको व्यवस्थापनलगायतका विषयमा रणनीतिक दिशा तय गर्नेछ।
एनसेल र ईएन्ड इन्टरनेसनलले नेटवर्क अप्टिमाइजेसन, दुर्गम क्षेत्रका लागि लागतमैत्री समाधान, ग्रीनफिल्ड एनालिसिसका लागि अप्टिमाइजेसन, नेटवर्क कार्यसम्पादन मूल्यांकन (क्राउडसोर्सिङ), प्रत्यक्ष सोर्सिङमार्फत भ्यालु क्रियसन र सेवालगायत अन्य क्षेत्रमा पनि सहकार्य गर्ने एनसेलको भनाइ छ। एनसेलले क्यापेक्स र ओपेक्सलाई घटाउँदै ग्रामीण तथा दुर्गम क्षेत्रहरूमा भ्वाइस र डाटा सेवा प्रभावकारी बनाउने उद्देश्यले प्राविधिक समाधानहरूको डिजाइन र पहिचानमा नेतृत्व गर्ने जनाएको छ।
क्यारियर र होलसेल सेवाहरूको सन्दर्भमा एनसेलले इएन्ड ग्रुपअन्तर्गत विश्वभरका ८५० भन्दा बढी सेवाप्रदायकहरूको नेटवर्कमा आबद्ध भएर रोमिङमा एसएमएस र भ्वाइस सेवामार्फत ग्लोबल फुटप्रिन्टको लाभ उठाउन सक्नेछ। त्यसैगरी डिजिटल सोलुसन्सअन्तर्गत प्रविधिमा अभ्यस्त युवाहरूलाई ‘बेस्ट इन क्लास’ डिजिटल अनुभव प्रदान गर्नेसमेत जनाएको छ।
यस समझदारीअन्तर्गत हुने सबै रणनीतिक योजना र समन्वयबारे निरीक्षण तथा छलफल गर्न एनसेल र इएन्ड इन्टरनेसनलले आ–आफ्नो तर्फबाट संयोजक तोक्ने तयारी छ।
इएन्ड इन्टरनेसनल विश्वका १६ वटा देशमा रहेर कनेक्टिभिटी सोलुसन्स, इन्क्लुसिभ फाइनान्सियल सर्भिसेज, रिच इन्टरटेनमेन्ट सर्भिसेज र सिमलेस बिजसेन ट्रान्सफर्मेसनमा काम गर्दै आएको छ।