
काठमाडौं। पुराना र नयाँ दलका लागि प्रतिनिधि सभा इलाम क्षेत्र नम्बर २ प्रतिष्ठाको विषय बनेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पुराना दलको आधार इलाका भत्काउने कसरतमा इलाममा उत्रिसकेको छ। प्रतिनिधि सभामा २१ सिट जितेर रास्वपाले घण्टीको लहर ल्याएको थियो। जसलाई इलाममा निरन्तरता दिने पक्षमा रास्वपा लाग्दा ठूला दल जसरी पनि रोक्ने रणनीतिमा छन्।
इलाम -२ एमालेले पटक-पटक चुनाव जितेर आधार इलाका खडा गरेको ठाउँ हो भने कांग्रेसको पनि पकड क्षेत्र हो। एमालेका तत्कालीन उपाध्यक्ष सुवास नेम्वाङले त्यहाँ पटक पटक चुनाव जितेका थिए। २०७९ मंसिर ४ को निर्वाचनमा भने उनले कांग्रेसका डम्बर खड्कासँग मुस्किलले जिते। नेम्वाङ- खड्काको मतान्तर ११४ मात्रै थियो।
भदौ २६ गते नेम्वाङको निधनपछि रिक्त रहेको इलाम-२ मा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ। अहिलेकै समीकरणले निरन्तरता पाए इलाममा त्रिपक्षीय प्रतिस्पर्धा हुने छ। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका दल गठबन्धनबाट उम्मेदवारी दिनेछन्। एमाले र रास्वपाले एक्ला एक्लै उम्मेदवारी दिने तयारी गरेका छन्। स्थानीय नेताहरूका अनुसार कोशी प्रदेशमा देखिएको जातीय आन्दोलनको असर पनि यस पटकको निर्वाचनमा देखिने प्रबल सम्भावना छ। एमाले र कांग्रेसबीच जातीय मत तान्न विभिन्न समूहरुलाई मनाउन प्रयास सुरु भइसकेको छ।
तर पहिचानको पक्षमा आन्दोलन गरेको समूहले पनि उम्मेदवारीको तयारी गरिरहेको छ।
‘कन्फिडेण्ट छैन एमाले’
एमाले मंसिर ४ को जित जोगिनेमा ढुक्क छैन। उम्मेदवारबारे टुंगोमा पुगिनसकेको भए पनि स्वर्गीय नेता नेम्वाङका छोरा सुहाङ र इलाम माई नगरपालिका–७ का वडा अध्यक्ष बुद्धि खनाल टिकटका आकांक्षी हुन्। खनालले एमाले अध्यक्ष ओलीलाई भेटेर टिकटका लागि आग्रह गरेका थिए।
स्थानीय नेता/कार्यकर्ताको इच्छाअनुसार टिकट वितरण हुने ओलीले जवाफ दिएका छन्। ‘पार्टी अध्यक्षसँग पनि मैले कुरा गरे। उहाँले तपाईंको तलको भावनालाई सम्मान गर्छु भन्नुभयो,’ खनालले भने।
उनले अर्का प्रत्याशी सुहाङले अहिले व्यक्तिगत रूपमा मात्रै चुनावमा उम्मेदवार हुनेबारे तयारी गरेको र पार्टीमा औपचारिक छलफल नभएको दाबी गरे। तर पार्टी कमिटीले सिफारिस गरेको अवस्थामा सुहाङ उम्मेदवार हुने खनालले बताए।
एमाले नेताहरूका अनुसार नेम्वाङको सहानुभूति भोट सुहाङले पाउन सक्ने भन्दै ओलीले उनलाई टिकट दिने तयारी गरेका छन्। एमाले स्थानीय नेता सुहाङले टिकट पाएको अवस्थामा पनि एमालेलाई नेम्वाङको क्षेत्रमा जित जोगाउन मुस्किल हुने बताउँछन्।
‘अरूले जे जस्तो उम्मेदवार उठाए पनि चुनाव जित्ने कि कांग्रेस हो कि एमाले। एमाले र कांग्रेसका बीचमा प्रतिस्पर्धा हुन्छ जसले पब्लिक फिगर बनेर स्थानीय जनताको मन जित्छ त्यसले चुनाव जित्ने हो,’ एमालेका स्थानीय एक नेताले भने। कोशी प्रदेशमा भएको जातीय आन्दोलनले पनि एमालेविरुद्ध उभिएको थियो।
एमालेसँग मिलेर प्रदेशको नामकरण गर्दा कोशी हुनेमा सहमत भएको माओवादी केन्द्र अन्ततः आफ्नो निर्णय फिर्ता लिएको थियो। कोशीमा नामकरणदेखि धार्मिक मुद्दाले समेत बेलाबेलामा तनाव हुने गरेको छ।
रास्वपालाई पनि मुस्किल
काठमाडौं, चितवनलगायतका क्षेत्रमा रास्वपाले कांग्रेस, एमाले र माओवादीका उम्मेदवारलाई मंसिर ४ को निर्वाचनमा नराम्ररी पराजित गरेको थियो। तर इलाम – २ मा भने रास्वपालाई पनि चुनाव जित्न सजिलो छैन। रास्वपाका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले एमाले – कांग्रेसले लामो समयदेखि तयारी गरेको तर रास्वपाको भर्खरै मात्रै सुरु गरेको बताए।
रास्वपाप्रतिको आकर्षण भने बढ्दो रहेको बुर्लाकोटीको भनाइ छ। ‘कांग्रेस र एमालेको पहिलेदेखि तयारी गरिरहेको देखिन्छ। तर, हामीले भर्खर मात्रै सुरु गरेका हौं। हामीलाई यहाँका जनताले भने अली अगाडिदेखि नै खोजिरहेका रहेछन्। हाम्रो पार्टीले आन्तरिक रूपमा सर्भे गरेको थियो। त्यसको नतिजा राम्रो छ,’ उनले भने।
रास्वपाले ‘फ्रेस’ अनुहारलाई उम्मेदवार बनाउन चाहेको छ। रास्वपाका केन्द्रीय सदस्य रमेश प्रसाईंबारे अनौपचारिक छलफल भएको भए पनि पूर्व बैंकर अनिल केशरी शाह भने आकांक्षी नभएको बुर्लाकोटीको भनाइ छ। ‘मिडियामा चर्चा भएको कुरा हो। अनिल केशरी शाह उम्मेदवार हुनेगरि छलफल भएको छैन। उहाँको पनि उम्मेदवार हुने आकांक्षा छैन,’ उनले भने।
रास्वपाले बेदाग र परीक्षण नभएको उम्मेदवार बनाउने भएकाले जनताले रास्वपालाई मत दिने उनको भनाइ छ। रास्वपाले मंसिर ४ को निर्वाचनमा पनि थोरै मत मात्रै ल्याएको थियो। रास्वपाका प्रकाश सापकोटाले १ हजार ३८० मत मात्रै ल्याएका थिए। एमाले र कांग्रेसले ‘टेस्टेड’ र पारिवारिक विरासतको उम्मेदवार उठाए त्यसविरुद्ध आक्रोशले रास्वपालाई साथ दिएको अवस्थामा आफ्नो पार्टीले चुनाव जित्ने बुर्लाकोटीको मत छ। रास्वपाले बुर्लाकोटीलाई इलामको चुनावका लागि केही समयअघिदेखि नै फिल्डमा पठाएको छ।
कांग्रेसलाई कतिको सहज?
स्थानीय नेताहरूका अनुसार कांग्रेसलाई अरू दलको तुलनामा चुनाव जित्न सहज छ। एकातिर अहिलेको सत्ता समीकरण कायमै रहे त्यसको प्रत्यक्ष फाइदा कांग्रेसलाई हुने देखिन्छ भने अर्कोतिर यसअघिको मतदानमा पनि कांग्रेसका डम्बर खड्का नेम्वाङसँग थोरै मतान्तरले मात्रै पराजित भएका थिए।
तर, कांग्रेसभित्रको किचलो मिलाउन भने सजिलो छैन। मुख्य गरी अहिले कांग्रेस नेता शेखर कोइरालाको गुटबाट नगेन्द्र कुमाल आकांक्षी छन् भने सभापति शेरबहादुर देउवाको गुटबाट खड्का आकांक्षी छन्।
कुमालले आफूले सभापति देउवालाई भेटेर टिकटका लागि छलफल गरेको बताए। ‘गम्भीर छलफल गरेर मात्रै निर्णय गर्छौं तपाईं लाग्नुस् त्यो क्षेत्र जनजाति बाहुल्य भएको क्षेत्र पनि हो भन्नुभएको छ सभापतिले,’ कुमालले भने।
उनले आफूलाई उम्मेदवार बनाएको अवस्थामा कांग्रेसको जित सुनिश्चित हुने दाबी गरे। ‘पहिचानको कुरालाई पनि कुनै न कुनै रूपमा हामीले सम्बोधन गर्नुपर्छ भन्ने कुरा हो। म जनजाति महासंघको अध्यक्ष हुँदा पनि हामीले कुनै पनि समुदायको अधिकार खोस्ने कुरा गरेका थिएनौं,’ उनले भने।
२०७९ को चुनावमा कसको कति मत?
पार्टी | उम्मेदवार | मत |
एमाले | सुवास नेम्वाङ | ३००२० |
कांग्रेस | डम्बर खड्का | २९९०६ |
रास्वपा | प्रकाश सापकोटा | १३८० |
मंगोलियन नेशनल अर्गनाइजेसन | मनिबहादुर मिम्बु | १३६३ |
राष्ट्रिय जनमुक्ति पार्टी | खड्गप्रसाद पालुवा | १२७२ |
जसपा | यामप्रसाद लिम्बु | ७२४ |
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च | गोविन्दसिंह लिम्बु | ६८४ |
राप्रपा | गणेशप्रसाद दुलाल | ५१० |
स्वतन्त्र | दिपेश बोहोरा | ९१ |
लोसपा | निरमणि लिम्बु | ६९ |