
काठमाडौं । २०७८ असोज २४ गते महिला लघुवित्त कारोबार रकमका आधारमा शीर्ष स्थानमा रह्यो। त्यसदिन कम्पनीको १८ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो।
त्यस्तै, २०७८ चैत १० गते जीवन विकास लघुवित्तको सर्वाधिक रकमको सेयर कारोबार भयो। उक्त दिन कम्पनीको ३० करोड ६३ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको थियो।
कारोबार रकमका आधारमा छिमेक, साना किसान, फर्वार्ड, डिप्रोक्स, निर्धन उत्थान लगायत धेरै लघुवित्त लगानीकर्ताको रोजाइमा पर्थे। शीर्ष १० कारोबार हुने कम्पनीको सूचीमा कुनै न कुनै लघुवित्त हरेक दिनजसो परिरहन्थे।
तर, त्यो इतिहास जस्तै बन्न पुगेको छ। अहिले लघुवित्तको सेयर लगानीकर्ताको रोजाइमै पर्दैन। त्यसका लागि सोमबारको कारोबारलाई हेरौं। सो दिन ३१४ कम्पनीको सेयर किनबेच भयो। कारोबार रकमका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ९ करोड ७१ लाख रुपैयाँको सेयर कारोबार भयो।
तर, कारोबार रकमका आधारमा लघुवित्त कम्पनी शीर्ष १० होइन, ८० कम्पनीको सूचीमै अटाउन सकेनन्। छिमेक लघुवित्त ८१ औं स्थानमा रह्यो। सो कम्पनीको ७२ लाख ६१ हजार रुपैयाँको सेयर किनबेच भयो।
५५ वटा लघुवित्त कम्पनीहरुमा सर्वाधिक धेरै कारोबार हुने अर्को सीवाईसी नेपाल हो। यो कम्पनी सोमबार कारोबार रकमका आधारमा नेप्सेमा ९६ औं स्थानमा रह्यो। यसको ५५ लाख ५४ हजार रुपैयाँको सेयर किनबेच भएको छ।
लघुवित्तको सेयर कारोबार नभएको सोमबार मात्र होइन, आइतबारको तथ्यांक पनि खासै फरक छैन।
लघुवित्त समूहमा आइतबार सबैभन्दा धेरै सेयर समाज लघुवित्तको भएको थियो। लगातार १३ औं दिन सर्किट लागेर बढेको यो कम्पनीको सेयरमा आइतबार नकारात्मक सर्किट लागेपछि लगानीकर्ता प्रोफिट बुकिङतिर लाग्दा बिक्री चाप बढेपछि कारोबार रकमका आधारमा समाजले अन्य लघुवित्तलाई उछिनेको हो।
यो कम्पनी आइतबार १ करोड ५४ लाख रुपैयाँको सेयर किनबेचका कारण नेप्सेमा ५० औं स्थानमा रह्यो। समाजपछि धेरै सेयर किनबेच भएको अर्को लघुवित्त फर्स्ट माइक्रोफाइनान्स हो। आइतबार ८६ लाख ८४ हजार रुपैयाँको सेयर किनबेच हुँदा १०५औं स्थानमा परेको फर्स्ट माइक्रोफाइनान्स सोमबार १२४ औं स्थानमा पुग्यो।
४३ लाख ५ हजार रुपैयाँको सेयर किनबेच भएको यो कम्पनी कारोबार रकमका आधारमा सोमबार लघुवित्तमध्येमा शीर्ष तीनमा परेको छ।
जीवन विकास लघुवित्त ४० लाख ९ हजार रुपैयाँको सेयर कारोबारसहित १३०, साना किसान ३८ लाख ३७ हजारको कारोबारसहित १३४ र निर्धन उत्थान ३३ लाख १८ हजारको कारोबारसहित १४६ स्थानमा रहे। अर्थात कारोबार रकमका आधारमा शीर्ष १५० कम्पनीको सूचीमा जम्मा ६ कम्पनी मात्र अटाएका छन्।
लगानीकर्ताको रोजाइमा किन पर्न छोड्यो लघुवित्तको सेयर?
सेयर ब्रोकर तथा लगानीकर्ताहरु लघुवित्तविरोधी आन्दोलन र नेपाल राष्ट्र बैंकको नीतिका कारण लघुवित्तको सेयरमा आकर्षण घटेको बताउँछन्। अनलाइन सेक्युरिटिजका अध्यक्ष अनन्त कुमार पौडेलले राष्ट्र बैंकले लाभांशमा लगाएको क्याप र बिग्रिंदै गएको लघुवित्तको वित्तीय विवरणको प्रभाव सेयर कारोबारमा परेको बताए।
‘लघुवित्तविरुद्ध आन्दोलनले असर गर्यो। आर्थिक गतिविधि खुम्चिएर ऋण लगानी विस्तार हुन नसकेको बेला आन्दोलनले लघुवित्तको व्यवसाय झनै खुम्चिन पुग्यो। अर्कातिर यसअघि प्रवाह भएको ऋण पनि समयमै उठ्न सकेन। जसले गर्दा राम्रो पर्फमेन्स गरिरहेका माइक्रोफाइनान्सकै विवरण पनि नराम्रो आउन थाल्यो,’ उनले भने, ‘मुख्य कारण भनेको राष्ट्र बैंकको पोलिसी नै हो। लाभांशमा लगाइएको क्यापले बिगार्यो।’
यस वर्षको लाभांश यस्तो
नेप्सेमा सूचीकृत कम्पनीमध्ये यसपालि जम्मा १४ वटा लघुवित्तले मात्र लाभांश दिए। अरुले नदिने घोषणा गरिसकेका छन्। दिएकाहरुको लाभांश पनि पोहोरको तुलनामा घटेको छ। राष्ट्र बैंकले गरेको नीतिगत व्यवस्थाले पनि लाभांश घटेको हो। राष्ट्र बैंकले १५ प्रतिशतभन्दा धेरै लाभांश दिंदा विभिन्न कोषमा रकम दाखिला गर्नुपर्ने व्यवस्था गरेको छ।

बिग्रिएको वित्तीय विवरण
कतिपयले केही समयदेखि लघुवित्तको ऋण तिर्नु पर्दैन भन्ने अराजक अभियान चलाइरहेका छन्। त्यसको असर पनि लघुवित्तको व्यवसायमा परेको छ। व्यवसाय घटेपछि आम्दानी प्रभावित भयो। यसले आगामी दिनमा प्रतिफल अझै कम हुन्छ।
नयाँ कर्जा लगानी हुन सकेको छैन। लघुवित्तहरुको कष्ट अफ फन्ड बढ्दै गएको छ। पुरानो कर्जा उठ्न नसक्दा लघुवित्तहरुको एनपीएल बढ्दो छ। औसत एनपीएल नै बढेर ६ प्रतिशत माथि पुगेको छ। ५ लघुवित्तको एनपीएल दोहोरो अंकमा छ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार अधिकांश लघुवित्तको मुनाफा घटेको छ। एक दर्जन लघुवित्त घाटामा गएका छन्।

प्रति सेयर आम्दानी/नेटवर्थ/ एनपीएल लगायत अधिकांश सूचक बिग्रंदै गएकाले पनि लघुवित्तहरुको सेयरमा लगानीकर्ताको आकर्षण घटेको हो।
सेयर बजारका जानकार सुवासचन्द्र ढुंगानाले कमजोर रिपोर्टका कारण लघुवित्तको सेयरमा आकर्षण घटेको बताए।
‘लघुवित्तको त्रैमासिक वित्तीय विवरण अपेक्षा अनुसारको आएन। राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा लघुवित्तलाई लिएर केही व्यवस्था गर्छ भन्ने लगानीकर्ताको अपेक्षा पनि पूरा भएन। त्यसैले सेयर कारोबार खुम्चिएको हो,’ उनले भने।