आर्थिक मन्दीले लघुवित्त अति प्रभावित, ८४ प्रतिशतको एनपीएल बढ्यो, ५ वटाको दोहोरो अंकमा

अन्जना सुवेदी
२०८० फागुन ३ गते १५:०६ | Feb 15, 2024
आर्थिक मन्दीले लघुवित्त अति प्रभावित, ८४ प्रतिशतको एनपीएल बढ्यो, ५ वटाको दोहोरो अंकमा

काठमाडौं। आर्थिक गतिविधि खुम्चिंदाको असर लघुवित्तहरुको वित्तीय विवरणमा परेको छ। ऋणको माग नहुँदा र यसअघि दिएको ऋण असुली नहुँदा लघुवित्तहरुमध्ये अधिकांशको खुद नाफा घट्न पुगेको छ।

Tata
GBIME
Nepal Life

चालु आर्थिक वर्ष अहिलेसम्म ५५ मध्ये ४९ लघुवित्तले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेकामा २९ वटाको मुनाफा घटेको देखिएको छ भने ११ लघुवित्त घाटामा गएका छन्। एनएमबि, किसान, धौलागिरी, सृजनशील, अभियान, आशा र फरवार्ड सबैभन्दा धेरै मुनाफा गुमाउने लघुवित्त हुन्।

पोहोर ६ महिनाको तुलनामा यो आर्थिक वर्ष खुद नाफा धेरै घट्ने कम्पनी एनएमबि माइक्रोफाइनान्सको हो। पोहोर पुससम्म १३ लाख ५३ हजार खुद नाफा कमाएको एनएमबि यसपालि ६ करोड ७५ लाख घाटामा छ। यस्तै, पोहोर १७ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको किसान लघुवित्त यसपालि ५ करोड ५८ लाख रुपैयाँ घाटामा छ।

पोहोर ६ महिनामा ३४ लाख ९९ हजार कमाएको धौलागिरी लघुवित्त ४ करोड १४ लाख घाटामा गएको छ भने सृजनशील लघुवित्तको खुद नाफा पोहोर १ करोड ६५ लाख रहेकामा यसपालि १४ करोड ६३ लाख ऋणात्मक हुन पुगेको छ। अभियान लघुवित्त १ करोड ५४ लाख खुद नाफाको अवस्थाबाट ६ करोड २४ लाख घाटामा पुगेको छ।

वित्तीय विवरण अनुसार, सबैभन्दा धेरै नाफा कमाउने साना किसान विकास लघुवित हो। कम्पनीले पुस मसान्तसम्म ४४ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा १.७३ प्रतिशतले बढी हो।

३६ वटाको ब्याज आम्दानीमा गिरावट

कर्जा विस्तार गर्न नसक्दा ३७ वटा अर्थात ७५ प्रतिशत लघुवित्तको ब्याज आम्दानीमा गिरावट देखिएको छ। सबैभन्दा धेरै ब्याज आम्दानी घट्ने लघुवित्त फष्ट माइक्रोफाइनान्स हो। यो वर्ष पुससम्म कम्पनीले ४६ करोड ३२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ जुन गत वर्ष ६ महिनाको तुलनामा ३९.७७ प्रतिशत कम हो।

यस्तै, अभियान लघुवित्तको ब्याज आम्दानी ३२.३३ प्रतिशतले घटेको छ। उसको ब्याज आम्दानी यसपालि १० करोड ४९ लाख रुपैयाँमा सीमित भएको छ।

१२ लघुवित्तले भने खुद ब्याज आम्दानी बढाएका छन्। विजय लघुवित्तले खुद ब्याज आम्दानी ८०.७० प्रतिशतले बढाएको छ। कम्पनीले यो वर्ष पुससम्म ६४ करोड ६८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

यस्तै, आशा लघुवित्तले ६२.६४, साना किसान विकास लघुवित्तले ५१.२७, नेसनल लघुवित्तले ४१.७१, सीवाइसी नेपाल लघुवित्तले ३८.७१ र सबैभन्दा कम मिथिला लघुवित्तले ०.८७ प्रतिशले खुद ब्याज आम्दानी बढाएको वित्तीय विवरणबाट देखिन्छ।

एनपीएलको अवस्था भयावह

नेपाल राष्ट्र बैंकले गत वर्षदेखि नै सेवा शुल्क तथा ब्याज दरमा गरेको कडाइ, एकल कर्जा नीति तथा आर्थिक मन्दी लगायत कारण लघुवित्त कम्पनीहरु प्रभावित भएका हुन्। लघुवित्तविरुद्ध ऋणीहरु सडकमै उत्रिएको असर पनि व्यवसायमा परेको छ।

लगानी विस्तार गर्न नसकिरहेका बेला यसअघि दिएको ऋण असुलीमा पनि समस्या देखिएको छ। जसले गर्दा एकातिर लघुवित्तहरुको खराब कर्जा (एनपीएल) उल्लेख्य रुपमा बढेको छ भने प्रोभिजनमा रकम थप्नु परेको छ।

गत वर्ष पुसमा औसत ४.५९ प्रतिशत रहेको एनपीएल अहिले ६.३६ प्रतिशत पुगेको छ। कतिपयको एनपीएल तीन गुणासम्म बढेको छ।

सृजनशील, एनआईसी एशिया, नष्डो समृद्ध, निर्धन उत्थान र स्वावलम्बन लघुवित्तको एनपीएल दोहोरो अंकमा पुगेको छ। सृजनशीलको एनपीएल बढेर १८.१४ प्रतिशत पुगेको छ। उसको एनपीएल पोहोर पुसमा ९.१० प्रतिशत थियो।

यस्तै, गत वर्ष पुसमा ३.३८ प्रतिशत रहेको एनआईसी एशियाको एनपीएल अहिले १३.७६ प्रतिशत पुगेको छ। नेष्डो समृद्धको ५.२७ बाट ११.९७, निर्धन उत्थानको ८.३८ बाट ११.७० र स्वावलम्बन लघुवित्तको ७.१ बाट ११.३६ प्रतिशत पुगेको छ।

राष्ट्र बैंकको एकल कर्जा नीतिले पनि लघुवित्तहरुको कर्जा लगानीमा संकुचन आएको हो। लघुवित्तहरुले कर्जा उठाउन नसकेपछि राष्ट्र बैंकले केही समयअघि एकल कर्जा नीति लागू गरेको थियो।

राष्ट्र बैंकका लघुवित्त संस्था सुपरिवेक्षण विभाग प्रमुख रेवतीप्रसाद नेपालले लघुवित्तहरुको वित्तीय स्थिति विग्रनुमा विभिन्न कारण रहेको बताए। ‘अहिले लघुवित्तमा मुख्य रुपमा ऋण नउठ्ने समस्या छ। यसले एनपीएल बढायो। बजारमा अझै पनि ३०/३२ अर्ब खराब कर्जा छ। रिकभरी निकै कमजोर छ। अर्कातिर प्रशासनिक खर्च बढेको र ब्याज आम्दानी घट्दै गएको देखिन्छ,’ उनले भने।

वित्तीय विवरण सार्वजनिक गरेकामध्ये ८४ प्रतिशत लघुवित्तको एनपीएल बढेको छ। ४९ मध्ये ४१ लघुवित्तको एनपीएल बढेको हो।

नेसनल लघुवित्तका सीईओ रामबहादुर यादवले ऋण तिर्दिन भन्नेहरुविरुद्ध सरकारले कुनै कदम नचाल्दा त्यसको असर लघुवित्त व्यवसायमा परेको बताए।

‘मान्छेहरुले ऋण तिर्नु पर्दैन, मिनाहा हुन्छ भनेर भ्रम फैलाइरहेका छन्। तर यसविरुद्ध सरकारका तर्फबाट कुनै कदम चालिएन। ब्याज दर नै दोहोरो अंकमा भएकाले अहिले माइक्रोफाइनान्सहरुलाई मार्जिन छैन। कष्ट अफ फन्ड बढी भयो,’ उनले भने, ‘१५ प्रतिशत क्यापले ब्याज आम्दानी घटेको छ तर खर्च बढेको छ। एकल कर्जा नीतिले पहिला जस्तो कर्जा प्रवाह हुन सकेको छैन। पहिला जस्तो ऋणको माग नै छैन। महँगोमा लिएर कर्जा किन लगानी गर्ने भन्ने छ।’

घट्यो ७ वटाको एनपीएल

वित्तय विवरण सार्वजनिक गरेका ४९ लघुवित्तमध्ये ८ वटा भने एनपीएल घटाउन सफल भएका छन्। माहुली, आरम्भ चौतारी, गुराँस, ग्रामिण विकास, सपोर्ट, धौलागिरी र उपकार लघुवित्तको एनपीएल घटेको हो।

गत वर्षको तुलनामा एनपीएल सबैभन्दा धेरै घटाउने लघुवित्त उपकार हो। उसको एनपीएल पोहोर पुसमा ७.१५ प्रतिशत रहेकामा यसपालि दोस्रो त्रैमासमा २.८२ प्रतिशतमा झरेको छ। इन्फिनिटी लघुवित्तको एनपीएलमा भने कुनै फेरबदल भएको छैन।