अयोध्यामा उडान गर्ने नेपाली कम्पनीको तयारी, बुद्ध एयर अध्ययनमा, यती र श्री पनि इच्छुक



वसन्तराज उप्रेती
२०८० फागुन १० गते २०:५४ | Feb 22, 2024
अयोध्यामा उडान गर्ने नेपाली कम्पनीको तयारी, बुद्ध एयर अध्ययनमा, यती र श्री पनि इच्छुक

काठमाडौं। भारतले अयोध्यास्थित श्रीराम अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्ने तयारी गरेसँगै नेपाली वायुसेवा कम्पनीले अध्ययन थालेका छन्।

Tata
GBIME
Zonsen

जनवरी पहिलो साताबाट सञ्चालनमा आएको यो विमानस्थलमा अहिले आन्तरिक उडान मात्र हुँदै आएको छ। अबको पाँच महिनापछि अन्तर्राष्ट्रिय उडानको तयारी गरिएपछि बुद्ध एयरले अध्ययन सुरु गरेको छ।

‘भारतले अयोध्या विमानस्थलमा ५ महिनाभित्र अन्तर्राष्ट्रिय उडान सुरु गर्ने तयारी गरेपछि हामीले पनि अध्ययन थालेका छौं,’ कम्पनीका बिक्री तथा बजार निर्देशक रुपेश जोशीले भने, ‘उताबाट मिति तय भएलगत्तै नियमित व्यावसायिक उडान गर्ने योजनासहित अध्ययन थालेका हौं।’

बुद्धले करिब तीन वर्षअघि नै जनकपुर-अयोध्या उडानका लागि इच्छा देखाएको थियो।

बुद्धले आन्तरिकका अलावा अन्तर्राष्ट्रियतर्फ भारतको बनारसमा नियमित उडान गर्दै आएको छ। यो कम्पनीसँग ३ वटा एटीआर-४२ र १४ वटा एटीआर-७२ जहाज छन्।

हवाई प्राविधिकका अनुसार जनकपुर-अयोध्या उडान गर्न १ घण्टा ७ मिनेट लाग्छ।

अन्तर्राष्ट्रियतर्फ नन्-सेड्युल र चार्टर उडान अनुमति लिएको यती एयरलाइन्स पनि जनकपुर-अयोध्या उडान गर्न इच्छुक देखिएको छ। कम्पनीका उडान सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जनकपुर-अयोध्या उडानका लागि गृहकार्य गरिरहेको बताए।    

‘हामी नन्-सेड्युल र चार्टर उडान गर्न तयार छौं। जनकपुर-अयोध्या नियमित व्यावसायिक उडानका लागि पनि गृहकार्य गरिरहेका छौं,’ प्रवक्ता बर्तौलाले भने, ‘यसका लागि जनकपुरमा अन्तर्राष्ट्रियस्तरको पूर्वाधार आवश्यक छ।’

हाल यो कम्पनीले सात वटा एटीआर-७२ जहाजमार्फत मुलुकका विभिन्न सुगम गन्तव्यमा नियमित व्यावसायिक उडान गर्दै आएको छ।

बम्बार्डियरको ४ वटा जेट इन्जिन (सीआरजे) र ५ वटा टर्बोप्रोप (क्यू-४००) जहाज रहेको श्री एयरलाइन्सले पनि माग आएको खण्डमा जनकपुर-अयोध्या उडानका लागि तयार रहेको जनाएको छ। कम्पनीका प्रवक्ता अनिल मानन्धरले अयोध्यामा अन्तर्राष्ट्रिय उडान हुन थालेपछि जनकपुरबाट सेवा सञ्चालन गर्ने योजना रहेको बताए।

‘अयोध्यामा अहिले आन्तरिक उडान मात्र भइरहेको छ। अन्तर्राष्ट्रिय उडान सञ्चालन हुन थालेपछि हामी पनि यो गन्तव्यमा नियमित व्यावसायिक उडान गर्ने योजनामा छौं,’ उनले भने।

श्री एयरलाइन्सले हाल आन्तरिकका अलावा काठमाडौं र भैरहवाबाट नन् सेड्युल अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ।

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले ५ वर्षअघि जनकपुर भ्रमणका क्रममा अयोध्यामा उडानका लागि प्रस्ताव गरेका थिए। त्यतिखेर योगी विवाह पञ्चमी महोत्सवमा मुख्य अतिथिका रूपमा सहभागी हुन निजी विमान चढेर जनकपुर आएका थिए।

जनकपुर सीताको र अयोध्या भगवान् रामको जन्मस्थल हो। त्यसैले जनकपुर-अयोध्या उडान गर्दा धार्मिक पर्यटन बढ्ने विश्वास छ। जनकपुरस्थित जानकी मन्दिरमा भारतीय ठूलो संख्यामा आउने गरेका छन्। यस्तै अयोध्यामा नेपाली पनि बाक्लो संख्यामा जाने गरेका छन्। त्यही कारण नेपाली वायु सेवा कम्पनी जनकपुर-अयोध्या उडानका लागि इच्छुक देखिएका हुन्। ‘जनकपुर र अयोध्या दुवै धार्मिक दृष्टिले निकै महत्वका गन्तव्य भएकाले हामीले उडान गर्न चाहेका हौं,’ बुद्ध एयरका जोशीले भने।

जनकपुर-अयोध्या उडानका लागि जनकपुर विमानस्थलमा अध्यागमन, भन्सारलगायत कार्यालय आवश्यक हुन्छ। त्यसैले वायु सेवा प्रदायक कम्पनीले चाहेर मात्र हुँदैन। सरकारले आवश्यक पूर्वाधार खडा गर्नुपर्छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले जनकपुरबाट क्षेत्रीय उडान सम्भव रहेको जनाएको छ। तर, उडानका लागि प्राधिकरणका साथै भारतले अनुमति दिनुपर्छ।

अयोध्यामा विमानस्थलसँगै भारत सरकारले रामको विशाल मन्दिर निर्माण गरिसकेको छ। विमानस्थल राम मन्दिरबाट ८ किलोमिटरको दूरीमा छ।

अयोध्याको फैजावादमा अवस्थित विमानस्थल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको महत्वाकांक्षीमध्येको परियोजना हो । विमानस्थल एटीआर-७२ र क्यु ४०० सँगै एयरबस ३२० र बोइङ ७७७ सिरिजका जहाज आउजाउ गर्न सकिने गरी बनाइएको छ।