क्यान महानिर्देशकको बयान, ‘हवाई दुर्घटनामा सयौंको ज्यान जाँदा पनि अनुचित फाइदा लिनेलाई पुगेको छैन’

वसन्तराज उप्रेती
२०८० फागुन १० गते १५:०२ | Feb 22, 2024
क्यान महानिर्देशकको बयान, ‘हवाई दुर्घटनामा सयौंको ज्यान जाँदा पनि अनुचित फाइदा लिनेलाई पुगेको छैन’

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले नेपालमा भएका अधिकांश हवाई दुर्घटना नियम पालना नगर्दा भएको दाबी गरेका छन्।

Tata
GBIME
NLIC

‘नेपालमा भएका ९८ प्रतिशत दुर्घटना नियम परिपालना नगर्दाको परिणाम हो। आँखाले देख्दा मात्रै उड्न पाइने नियम छ,’ उनले बिजमाण्डूसँग भने, ‘तर जहाज बादलभित्र छिराउँछन्। यो भनेको अनुशासनहीनता हो।’

आफू महानिर्देशक भएर आएपछि उड्डयन क्षेत्रमा रहेका विकृति हटाउने विषयलाई प्राथमिकतामा राखेको र त्यसले हवाई सुरक्षामा धेरै सुधार भएको उनको दाबी छ।

अधिकारीले यसअघिका महानिर्देशकमाथि प्रभावमा परेर कैफियतमा छुट दिएको आरोपसमेत लगाएका छन्।

‘पहिला क्यान भन्ने थिएन, देखिएको थिएन। आरोप लगाएको होइन। क्यान होइन, क्यान नट थियो,’ उनले भने।

आफूले हवाई उद्योगमा अनुशासन कायम गराएको उनको दाबी छ। ‘प्राविधिक कर्मचारी, पाइलट, इन्जिनियरले नियमको परिपालना गरिरहेका छन्। नियमनकारी निकायको डर हुन जरुरी पनि छ,’ अधिकारीले भने, ‘डर मात्रै होइन भरसमेत छ। त्यो हवाई यात्रा गर्ने यात्रुहरु सबैमा हुन आवश्यक छ।’

आफ्नो स्वेच्छाचारिता अन्त्य भएकोमा केही वायु सेवा प्रदायक कम्पनीका व्यक्ति (सरकारी अझ बढी) रुष्ट बनेको उनको बुझाइ छ। ‘यत्रो हवाई दुर्घटना भए, सयौंको संख्यामा ज्यान गइसक्यो। देशको बदनामी भयो। अझ पनि अनुचित फाइदा लिनेलाई पुगेको छैन,’ अधिकारीले भने।

हवाई सुरक्षा, विकास र विस्तारको अभिभारा बोकेको महानिर्देशक कमजोर भए देशमा हवाई यात्रुको सुरक्षा हुन नसक्ने उनले बताए।

‘नियमनकारी निकायको महानिर्देशक कमजोर हुँदा हवाई सेवा सुरक्षित हुन सक्दैन। तपाईंहरुको नियमनकारी निकायको महानिर्देशक कमजोर छैन,’ उनले भने, ‘ऐन, नियम कानुन लागू गर्न/गराउन सक्षम छ।’  

आफू ‘सिस्टम’भित्रैबाट आएको भन्दै उनले प्राधिकरणले ऐन नियममा टेकेर नै काम गर्दै आएको प्रष्टाए।

‘मैले गरेको कामको जिम्मेवारी म लिन्छु। म यही सिस्टमको मान्छे हो। यो लुकाउन मिल्ने र झुक्याउन मिल्ने विषय होइन,’ अधिकारीले भने, ‘मैलै गर्दै नगरेको, म सहभागी नै नभएको निर्णयमा समेत जोडेर नियमानकारी निकायलाई कमजोर बनाउने षडयन्त्र भएको छ। मलाई व्यक्तिगत लाञ्छना लगाएर आफ्नो अभिष्ट पूरा हुन्छ भन्ने भ्रम कसैले पनि नपाले हुन्छ।’