बैंकहरु ऋणको बजार प्रवर्धनमा लागे, माग नआएपछि सम्भावित ग्राहक खोज्दै आँगनमै पुग्न थाले बैंकर

बिजमाण्डू
२०८० फागुन १० गते ०८:५८ | Feb 22, 2024
बैंकहरु ऋणको बजार प्रवर्धनमा लागे, माग नआएपछि सम्भावित ग्राहक खोज्दै आँगनमै पुग्न थाले बैंकर

काठमाडौं। पैसा थुप्रिन थालेपछि बैंकहरु ऋणको बजार प्रवर्धन गर्न थालेका छन्। महँगोमा उठाएको पैसा (निक्षेप) बढिरहेका बेला आम्दानीको प्रमुख स्रोत ऋणको माग नभएपछि बैंकहरुले बजार प्रवर्धन गर्न थालेका हुन्।

Tata
GBIME
Nepal Life

बैंकहरुले आफ्ना प्रमुख ग्राहकका अलावा ऋणको माग हुने क्षेत्रका व्यवसायीलाई भेटेरै ऋण लिइदिन प्रोत्साहित गर्न थालेका छन्। पहिले ‘जोखिम’ भनेर छुट्टै वर्गीकरणमा परेकाहरुसँग पनि बैंकहरु अहिले नरम देखिन थालेका छन्।

केही बैंकले आकर्षक ब्याजसहित ‘स्किम’ नै ल्याएका छन्। केहीले भने शाखा कार्यालयहरु परिचालन गरेर ऋणको प्रवर्धन थालेका हुन्।

भर्खरै मात्र ग्लोबल आइएमई बैंकले ९.९९ प्रतिशतको घर कर्जा योजना ल्याएको छ। १० वर्षसम्म ब्याज नबढ्ने भन्दै उसले नयाँ ऋण योजनाको ‘मार्केटिङ’ थालेको छ।

एनएमबि बैंकले साढे १० प्रतिशतभन्दा कम ब्याज दरमा घर कर्जा दिने योजना अगाडि सारेको छ। साथै विद्युतीय सवारी कर्जामा पनि स्किम ल्याएको छ।

‘रियलस्टेटदेखि सेयर बजारसम्मका सबै क्षेत्रको ऋणको बजार प्रवर्धन सुरु भएको छ,’ एक बैंकरले भने, ‘तर, जस्तो अपेक्षा थियो- त्यस अनुसार खुद्रा ऋणको पनि माग छैन।’

बैंकहरुले बजार प्रवर्धन गर्न मोफसल क्षेत्रलाई बढी छानेका छन्। तराईमा उखु, धानको मौसम सुरु भएकाले बैंकहरु व्यवसायीलाई ‘मौज्दात’ राखेर पछि बिक्री गर्दा नाफा हुने बुझाउन थालेका छन्।

‘मौज्दात राखेर पछि बिक्री गर्दा फाइदा हुन्छ। अहिले ऋण लिएर मौज्दात राख्न प्रोत्साहित गरिरहेका छौं,’ अर्का एक बैंकरले भने, ‘कर्पोरेट ऋणको माग छैन। आयात घटिनै रहेको छ। त्यसैले पनि खुद्रा ऋणमा जान थालेको हो।’

बैंकहरुले व्यवसायीलाई खासगरी अल्पकालीन ऋणका लागि प्रोत्साहित गरिरहेका छन्। सामान आयातका लागि प्रतितपत्र (एलसी) खोल्ने, तत्काल सामान बिक्री गरेर पैसा उठिहाल्ने व्यापारजस्ता क्षेत्रमा बैंकले लगानी प्रवर्धन गरिरहेका छन्। त्यस्ता ऋणीलाई बैंकहरुले आधार दरमै पैसा दिने भनेर तान्न खोजिरहेका छन्।

‘ऋण दिनका लागि बैंकहरुको तौरतरिका नै अहिले फरक भइसकेको छ,’ ती बैंकरले भने, ‘अहिले ऋण लिन्छु भनेर कोही तयार भयो र विश्वाशिलो आधार देखियो भने केही समयभित्रै पैसा उपलब्ध हुन्छ।’

केही समयअघिसम्म बैंकहरुले महँगो ब्याजमा पनि पैसा किन माग्न आयो भनेर शंका गर्थे। ग्राहक पनि ऋण महँगो छ भनेर बैंक जाँदैन थिए। निक्षेप बढ्ने तर ऋणको माग नहुने भएपछि बैंकरहरु संभावित ग्राहकको घरै पुग्न थालेका छन्।

बैंकरका अनुसार, ऋणको माग नआएकाले बैंकहरु आफै बजार प्रवर्धन गर्न थालेका हुन्।

‘अल्पकालिन ऋणबाहेक घर, गाडीमा पनि प्रवर्धन गरिरहेका छौं,’ उनले भने, ‘तर निक्षेप बढे अनुसारको माग आएको छैन।’ उनले लामो अवधिको ऋण लिन भने मान्छे तयार नभइसकेको बताए।

बैंकहरुले पछिल्लो समय निक्षेपसँगै ऋणको ब्याज घटाइरहेका छन्। तर समग्र बजारमा मन्दी रहेका कारण माग खस्किरहेको छ। आयात पनि घटिरहेको छ। रेमिटेन्स बढिरहेको छ। साउनयता ऋण विस्तार ४ प्रतिशत हाराहारी मात्र छ। निक्षेप भने ऋण रकमको दोब्बरले बढिसकेको छ। मन्दीका कारण व्यवसायीहरु पनि ऋण लिन उत्साहित छैनन्।

भएकै उद्योग क्षमता अनुसार चल्न छाडेको छ भने नयाँ लगानी गर्न कोही तयार छैनन्। बैंकरका अनुसार, स्टिल, सिमेन्ट जस्ता क्षेत्र उक्सिन सकेको छैन। यसले निर्माण क्षेत्र प्रभावित भएर अन्य क्षेत्रमा पनि समस्या परिरहेको छ।

‘फेब्रुअरीदेखि जुनसम्म सिमेन्ट र स्टिलको माग र उत्पादनको समय हो,’ ती बैंकरले भने, ‘तर त्यहाँबाट पनि माग छैन। त्यहाँ माग नभएपछि अन्य क्षेत्र पनि सुक्ने नै भयो।’

अहिले बैंकहरु सरकारी ऋणपत्रमा लगानी गर्ने र उब्रिएको निक्षेप राष्ट्र बैंकमा जम्मा गर्ने गरिरहेका छन्। त्यसबाट ऋण लगानी गरेजस्तो आम्दानी हुँदैन। त्यसैले उनीहरु ‘डोर टु डोर’ मार्केटिङतिर लागेका हुन्।