माओवादी केन्द्रको निचोड : कांग्रेससँग गठबन्धन फलदायी भएन, तैपनि केही गर्न सकिंदैन

प्रकाश भण्डारी
२०८० माघ २९ गते १७:२२ | Feb 12, 2024
माओवादी केन्द्रको निचोड : कांग्रेससँग गठबन्धन फलदायी भएन, तैपनि केही गर्न सकिंदैन
माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक

काठमाडौं। माओवादी केन्द्र नेपाली कांग्रेससँगको गठबन्धन फलदायी नभएको निचोडमा पुगेको छ। विधान अधिवेशनको अघिल्लो दिन सोमबार सम्पन्न केन्द्रीय कमिटी बैठकले राष्ट्रिय सभा निर्वाचनमा कांग्रसले धोका दिएको निष्कर्ष निकालेको छ।

Tata
GBIME
NLIC

माओवादीको विधान अधिवेशन फागुन १ देखि ३ गतेसम्म हुँदैछ। त्यसको पूर्वसन्ध्यामा दुई दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकमा बोलेका अधिकांश सदस्यले कांग्रेसको धोकालाई गम्भीर रुपमा लिनुपर्ने बताएका छन्।

बैठकमा सात भौगोलिक र तीन गैरभौगोलिक गरी दश प्रदेशका इञ्चार्ज र अध्यक्षले ब्रिफिङ गरेका थिए।

तर, राजनीतिक समीकरण नै बदल्ने निष्कर्षमा भने माओवादी केन्द्र पुगेको छैन। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकमा उठाइएका प्रश्‍नको सोमबार जवाफ दिंदै कांग्रेसको धोकाका बाबजुद गठबन्धनलाई निरन्तरता दिनुको विकल्प नभएको बताए।

‘कोशीमा धोका भयो भन्ने कुरा अध्यक्षले भन्नु भएको छ। हामी इमान्दार भएर सधैं जिताउनतिर लाग्यौं। तर कांग्रेस इमान्दार भइदिएन भन्नुभएको छ,’ केन्द्रीय सदस्य दलजीत श्रीपाइलीले भने, ‘तर अहिले गठबन्धनलाई निरन्तरता दिनुको विकल्प छैन भन्ने अध्यक्षको भनाइ छ।’

माघ ११ गते राष्ट्रिय सभामा १९ सदस्यका लागि निर्वाचन भएकामा कोशी प्रदेशमा माओवादी केन्द्रकी चम्पा कार्की एमालेकी रुक्मिणि कोइरालासँग पराजित भएकी थिइन्। तर त्यहाँ कांग्रेसका कृष्णप्रसाद सिटौला भने निर्वाचित भएका थिए।

माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक

कोशीमा मुख्यमन्त्रीको भागण्डामा पनि कांग्रेस इमान्दार नभएका कारण धोका पाएको माओवादी केन्द्रको निष्कर्ष छ। सत्ता गठबन्धनका शीर्ष नेताबीच कोशीमा माओवादी केन्द्रलाई मुख्यमन्त्री दिने सहमति भएकामा गत असोज अन्तिम साता कांग्रेसका केदार कार्की एमालेको समर्थनमा मुख्यमन्त्री बनेका थिए। जसलाई माओवादी केन्द्रले कांग्रेसको असहयोगका रुपमा लिएको छ।

कांग्रेसले धोका दिएको विश्लेषण गरेको माओवादी केन्द्रले अब के गर्छ त? अहिले कांग्रेससँगको गठबन्धन टुटाएर तत्कालै अर्को समीकरण बनाउन नसकिने माओवादीको निष्कर्ष छ। ‘कांग्रेसले हरायो भन्ने निचोड भए पनि हामीले गर्न सक्ने केही छैन। अहिले नै गठबन्धनबाट अलग हुने अर्थात यो गठबन्धन तोड्ने भन्ने कुरा भएन,’ उनले भने।

पोहोर पुस १० मा एमालेको समर्थनमा प्रधानमन्त्री बनेका ‘प्रचण्ड’ले राष्ट्रपतिको भागबण्डामा विवाद भएपछि दुई महिनामै गठबन्धन फेरेका थिए।

माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक

संसद्को तेस्रो दल भएर पनि सरकारको नेतृत्व गर्न पाएकामा ‘प्रचण्ड’ले यसलाई आफ्नो राजनीतिक कुशलता भनी केन्द्रीय सदस्यहरुलाई थामथुम पारेका छन्।

बैठकले भदौ १६ देखि पुस १६ सम्म चलाएको अभियान सफल भएको तर सबै नेता/कार्यकर्ताको सहयोग नभएको निष्कर्ष निकाली असहयोग गर्ने नेता/कार्यकर्तालाई कारबाही गर्ने निर्णय गरेको छ। ‘अभियानमा राम्रो गर्नेलाई पुरस्कृत र नराम्रो गर्नेलाई कारबाही गर्ने निर्णय भएको छ। कारबाहीका लागि तल्ला कमिटीले सिफारिस गर्नेछन्,’ केन्द्रीय सदस्य माधव सापकोटाले भने।

माओवादीले अब अर्को अभियान चलाउने भएको छ। अभियानबारे विधान अधिवेशनले निर्णय गर्नेछ।