काठमाडौं। एथलेटिक्सका दीपक अधिकारी र राजपुरा पछाई नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) पल्सर स्पोर्टस् अवार्ड २०७९ को वर्ष खेलाडी घोषित भएका छन्।
एनएसजेएफले आइतबार आयोजना गरेको कार्यक्रममा पुरुषमा दीपक र महिलामा राजपुरा वर्ष उत्कृष्ट खेलाडी घोषित भएका हुन्। यस संस्करणदेखि सुरु गरिएको शीर्ष तीनबाट दीपक र राजपुरा वर्ष उत्कृष्ट खेलाडी भए।
याक एन्ड यति होटलमा सम्पन्न अवार्डमा दीपकले क्रिकेटका रोहितकुमार पौडेल र आसिफ सेखलाई पछाडि पारे। महिलामा राजपुराले एथलेटिक्सकै पुष्पा भण्डारी र बास्केटबलकी अनुशा मल्ललाई पछि पारिन्। दीपक १६औं एसियाली क्रस कन्ट्री दौडमा दुई स्वर्ण विजेता हुन्। राजपुराले पनि सोही च्याम्पियनसिपमा दुई रजत पदक जितेकी थिइन्।
दीपकलाई गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले अवार्ड प्रदान गरे। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले राजपुरालाई अवार्ड प्रदान गरे। वर्ष उत्कृष्ट खेलाडीद्वय दीपक र राजपुराले बजाज पल्सर एन २५० मोटरसाइकल पुरस्कार पाए।
टेबल टेनिसकी खेलाडी सिक्का सुवाल श्रेष्ठले पिपुल्स च्वाइस अवार्ड जितिन्। ईसेवाको भोटिङ, मञ्चका सदस्यको मत, फेसबुक लाइक र प्रमुख प्रशिक्षकको मतका आधारमा सिक्का विजेता भएकी हुन्। सिक्काले सर्वाधिक ४४.८ प्रतिशत मत प्राप्त गरिन्। अवार्डको मनोनयनमा करातेका विप्लवलाल श्रेष्ठ, फुटबलका अनन्त तामाङ, भलिबलकी निरुता ठगुन्ना र शारीरिक सुगठनकी रजनी श्रेष्ठ थिए।
सिक्काले बजार पल्सर मोटरसाइकल प्राप्त गरिन । उनलाई ईसेवाको चिफ बिजनेस अफिसर आशिष गौतम र केल्मी नेपालका प्रतिनिधि दीपक विष्टले अवार्ड प्रदान गरे। वर्ष उत्कृष्ट प्रशिक्षक पनि एथलेटिक्सकै चन्द्र गुरुङ घोषित भए। गुरुङले पनि पल्सर एन १६० मोटरसाइकल पाए। उनलाई सूर्य नेपाल प्रालिका प्रतिनिधि विदुर अधिकारी र युनाइटेड अजोड इन्स्युरेन्स प्रालिका सिनियर डिसिइडी कुमारबहादुर खत्रीले अवार्ड प्रदान गरे। गुरुङको प्रशिक्षणमा १६औं एसियाली क्रस कन्ट्री च्याम्पियनसिपमा नेपालले दुई स्वर्णसहित ऐतिहासिक पदक प्राप्त गरेको थियो।
उक्त च्याम्पियनसिपमा नेपालले सिनियरमा दुई स्वर्ण र एक कास्य तथा जुनियरमा दुई रजत र एक कास्य पदक प्राप्त गरेको थियो। प्रशिक्षक गुरुङले बक्सिङका दीपक महर्जन र क्रिकेटका जगत टमटालाई पछि पारे।
युवा वर्ष खेलाडी क्रिकेटका देव खनाल घोषित भए। आठ वर्षको खडेरी तोड्दै २०२४ को आइसिसी यु–१९ विश्वकप क्रिकेट छनोट गराउन सफल कप्तान हुन् खनाल। देवकै कप्तानीमा नेपालले युएईलाई फाइनलमा हराउँदै एसिया छनोटको उपाधि जित्न सफल भएको थियो। उनले एथलेटिक्सकी राममाया बुढा र बक्सिङकी सुष्मा तामाङ पछि पार्दै यो अवार्ड जिते।
देवले अवार्डसँगै पल्सर एन १६० मोटरसाइकल पुरस्कार पाए। उनलाई होटल याक एन्ड यतिकी महाप्रबन्धक मोनिका साई ब्लावर र ई-ड्राइभ नेपाल प्रालिका अध्यक्ष राजेश मास्केले अवार्ड प्रदान गरे। एनएसजेएफ पारा एथ्लिट अवार्डबाट मैयाँ बिशुङ्खे सम्मानित भइन्। उनले ट्रफीसँगै ५० हजार रुपैयाँ नगद पुरस्कार पाइन्। उनी सन् २००६ देखि पारा खेलकुदमा सक्रिय छन्।
लाइफटाइम एचिभमेन्ट अवार्ड पहिलो ओलम्पियन एवम् भारोत्तलक राजेन्द्रकुमार प्रधानले प्राप्त गरे। खेलाडी र प्रशिक्षकका रूपमा उनी झन्डै साढे पाँच दशक भारोत्तोलन खेलमा सक्रिय छन्।
प्रधानलाई नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदी र महासचिव प्रज्जवल ओलीले अवार्ड र ५० हजार रुपैयाँ प्रदान गरे। स्पेसल अवार्डबाट फोटो पत्रकार र पोखरेली खेलकुद अभियन्ता सुदर्शन रञ्जित सम्मानित भए। उनी चार दशकभन्दा बढी पोखराका खेल गतिविधिमा सक्रिय छन्। नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजंग शाह र नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले अवार्ड प्रदान गरे। एसियन स्पोर्टस् जर्नालिस्ट अवार्डबाट हङकङ रेमण्ड चुलाई प्रदान गरिएको छ। उनलाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले अवार्ड प्रदान गरे।
कुल ९ विधामध्ये एसियन स्पोर्टस् जर्नालिस्ट अवार्ड विजेताबाहेक ८ विधाका विजेता युनाइटेड अजोड इन्स्योरेन्सको तर्फबाट एक वर्षका लागि खेलकुद बिमा पाउनेछन्।
२०औं संस्करणको पल्सर अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालि रहेको छ। स्पोर्टस् अवार्डको सह–प्रायोजक र सहयोगीमा ई–सेवा, केल्मी, सूर्य नेपाल प्रालि, होटल याक एन्ड यती, युनाइटेड अजोड इन्स्योरेन्स, लालपूर्जा नेपाल, सुबिसु, रोयल सिंगी होटल, प्लाजा होटल ग्रुप, आईएसएस, ई–ड्राइभ नेपाल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी रहेका छन्।