उपत्यका छिर्ने सबैतिरका सडक ध्वस्त, बजेट नभएर कतै काम सुस्त, कतै मुद्दाले ठप्प

शुक्र गिरी
२०८० माघ २८ गते २१:५४ | Feb 11, 2024
उपत्यका छिर्ने सबैतिरका सडक ध्वस्त, बजेट नभएर कतै काम सुस्त, कतै मुद्दाले ठप्प


काठमाडौं। उपत्यका छिर्ने लाइफलाइन मानिएका सबै सडक विस्तार गर्न भनेर भत्काइएकोमा सुस्त कामका कारण यात्रुले हन्डर खेप्नुपरेको छ।

Tata
GBIME
Nepal Life

नागढुंगा- मुग्लिन, धुलिखेल-सूर्यविनायक, चित्लाङ-थानकोट र बल्खु-दक्षिणकाली-कुलेखानी, बालाजु-त्रिशूली र गल्छी-त्रिशूली सडक विस्तारका लागि भत्काइएकोमा काम निकै सुस्त भएका कारण यात्रुले हन्डर खेप्नुपरेको हो।

नागढुंगा-मुग्लिन, धुलिखेल-सूर्यविनायक, गोंगबु- नुवाकोट र गल्छी-त्रिशूली सडक केन्द्र सरकार मातहतका आयोजना हुन। विस्तार गर्न भनेर भत्काइएका अधिकांश सडकमा काम कछुवा गतिमा हुँदा लाइफलाइन मानिने सडक नै मृत्युमार्ग जस्तो बन्न पुगेका छन्।

भत्काइएका कारण यी सडक भएर ओहोरदोहोर गर्न यात्रुले निकै सास्ती झेल्नुपर्ने अवस्था छ। सवारीचालक पनि उतिकै हैरान छन्। बल्खु-दक्षिणकाली-कुलेखानी सडक भने प्रदेश सरकार मातहत पर्छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्माले राजधानी छिर्ने सडक एकै पटक विस्तार गर्ने योजना नभए पनि अहिले त्यस्तै परिस्थिति सिर्जना हुन पुगेको बताए। ‘काठमाडौं छिर्ने सबैतिरका सडक एकै पटक विस्तार गर्ने योजना नै होइन,’ उनले बिजमाण्डूसँग भने, ‘बालाजु-त्रिशूली सडक धेरै अगाडि निर्माण सुरु गरिएको हो। तर समयमा काम नभएपछि ठेक्का तोड्नुपरेकाले अहिले मात्र सुरु गरिएको जस्तो देखिन पुगेको हो।’

उनका अनुसार, धुलिखेल-सूर्यविनायक विस्तार योजना पनि अहिलेको होइन। तीनकुने- सूर्यविनायक खण्ड विस्तारपछि नै योजना बनाइएको हो। तर, स्रोत सुनिश्चिततामा ढिलाइका कारण डेढ वर्ष अघि मात्र काम सुरु गर्नुपरेको उनले बताए। ‘हामीले तीनकुने- सूर्यविनायक सडक जापानले १४ वर्षअघि विस्तार गरिदिएको हो।

नागढुंगा-मुग्लिनमा रुख काट्न अझै उल्झन

नागढुंगा-मुग्लिन सडक विस्तारका लागि ठेक्का सम्झौता गरेको आगामी चैतमा २ वर्ष पुग्छ। त्यतिखेर ३ वर्षमा काम सक्ने भनिएको थियो। तर, अहिलेसम्म रुख कटानको समस्या नै सुल्झिन सकेको छैन। आयोजना प्रमुख ईश्वरबहादुर रिजालले रुख कटानका लागि स्वीकृति नआएको बताए। यसका लागि आयोजनाले ठेक्का सम्झौता अगावै अर्थात् साढे २ वर्षअघि नै सडक विभाग हुँदै वन मन्त्रालयमा फाइल पठाएको थियो।

माघ पहिलो साता मन्त्रालयले फाइल स्वीकृत गरे पनि जिल्ला वन कार्यालयले रुख काट्ने आदेश दिन बाँकी छ। यो सडक विस्तारका लागि २५ सय ६५ वटा रुख काट्नुपर्छ। रुख कटानका लागि आयोजनाले १ करोड ७३ लाख रुपैयाँ जम्मा गरिसकेको छ।

यो आयोजनामा अहिलेसम्म नागढुंगादेखि नौबिसेसम्मको पहिलो प्याकेजमा ४५ प्रतिशत भौतिक प्रगति भएको छ। रिटेनिङ वाल लगाउने काम लगभग सकिएको छ। अहिले यो खण्डमा फुटपाथ निर्माण गर्ने काम भइरहेको छ। यो खण्डमा फागुन दोस्रो हप्तादेखि कालोपत्रे गर्ने तयारी छ।

रिजालका अनुसार, नौबिसेदेखि मलेखुसम्म दोस्रो खण्डमा २० प्रतिशतभन्दा काम भएको छैन। यसमा अहिले भित्ता काट्ने र रिटेनिङ वाल लगाउने काम भइरहेको छ। पोल सार्ने काम बल्ल भइरहेको छ।

धुलिखेल-सूर्यविनायकमा बजेट अभावमा काम सुस्त

धुलिखेल-सूर्यविनायक सडक विस्तारमा बजेट अभावले काम सुस्त भएको छ। सडक जताततै खनेर छोडिएको छ। पानी पर्दा हिलो र घाम लाग्दा धुलैधुलोको समस्याले त्यस क्षेत्रका स्थानीय र यात्रु आजित छन्।

यो आयोजनाले ४० करोड रुपैयाँ भुक्तानी दिन नसकेर काम प्रभावित भएको हो। आयोजनालाई चालु आर्थिक वर्ष जम्मा ५४ करोड रुपैयाँ विनियोजन गरिएकामा ५० करोड रुपैयाँ पोहोरकै कामका लागि भुक्तानी भइसकेको छ।

आयोजनाका सिनियर डिभिजिनल इन्जिनियर नारायण प्रसाद लामिछानेका अनुसार पैसा नभएर काम गराउन कठिन भएको बताए। ‘बजेट अभाव छ। काम जसोतसो लगाइरहेका छौं,’ उनले भने, ‘४० करोड रुपैयाँको दायित्व छ। उक्त भुक्तानीका लागि बजेट नभएकाले हामीले मन्त्रालयमा फाइल पेस गरेर थप रकम मागेका छौं। तर जवाफ आएको छैन।’

साँगादेखि धुलिखेलसम्म ८.५ किलोमिटर सडक निर्माणका लागि लामा कन्स्ट्रक्सनसँग ४ अर्ब ५ करोड र सूर्यविनायकदेखि साँगासम्म ७.५ किलोमिटर सडक निर्माणका लागि आशीषकुमार श्रेष्ठ/बन्धन/भगवती जेभीसँग ३ अर्ब ८८ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।

३ वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७९ पुसमा ठेक्का सम्झौता गरिएकामा १३ महिनामा दुई वटा प्याकेजमा २० प्रतिशत भन्दा काम हुन सकेको छैन। यो आयोजनामा ७८ वटा अस्थायी घर टहरा हटाउनु पर्ने छ।

ठेक्का तोडेर नयाँ ठेक्का प्रक्रिया

बालाजु-त्रिशूली सडक विस्तारका लागि अहिले नयाँ ठेक्का प्रक्रिया अघि बढाइएको छ। प्राविधिक मूल्याङ्कन गर्ने काम पूरा भएको तर विभागले निर्णय गर्न बाँकी रहेको सडक डिभिजन कार्यालय नुवाकोटका प्रमुख सुबोधकुमार देवकोटाले जानकारी दिए। तीनपिप्ले-रानीपौवा सडक विस्तार गर्न नयाँ ठेक्का लगाउन लागिएको हो।

आर्थिक वर्ष २०७०/७१ मा ठेक्का सम्झौता भएकामा ७ पटक म्याद थप्दा पनि काम पूरा नभएपछि ठेक्का तोडिएको थियो। बालाजु-रानीपौवा १७.१ किलोमिटर सडक निर्माणको जिम्मेवारी शैलुङ र भारतीय कम्पनी एआइपीएललाई दिइएकामा गत असार ५ गते ठेक्का तोडिएको थियो।

यो सडकमा ९ वर्षमा ५४ प्रतिशत मात्र काम भएको छ। त्रिशूली-छहरे खण्डमा पनि काम ठप्प छ। यो खण्डमा ठेक्कालाई लिएर पाँच महिनादेखि अदालतमा मुद्दा विचाराधीन छ।

कालोपत्रे र मर्मत गर्न बल्ल बजेट

काठमाडौंबाट हेटौंडा आउजाउ गर्न सबैभन्दा छोटो दूरीको मानिने थानकोट-चित्लाङ सडक स्तरोन्नतिका लागि २०७१ मा निर्माण कम्पनीसँग सम्झौता गरिएको थियो। तर पटक-पटक म्याद थप्दा पनि काम सम्पन्न भएन। यो सडकमा गत महिना कार दुर्घटनामा परी एकै परिवारमा ४ जनाले ज्यान गुमाए।

यसपछि सरकारले ८ करोड रुपैयाँ बजेट विनियोजन गरी ठेक्का लगाउने तयारी थालेको छ। यसअघि विस्तारका लागि मात्र ठेक्का लगाइएकामा अब मर्मत र थानकोटबाट केही किलोमिटर कालोपत्रे गर्न ठेक्का लगाउन लागिएको सडक डिभिजन कार्यालय काठमाडौंले जनाएको छ।