सेयर बजारमा साना लगानीकर्तालाई फसाइँदै, खराब वित्तीय विवरणका कम्पनीको मूल्य कसले उचालिरहेको छ?

सुनिल कुँवर
२०८० माघ २८ गते १८:३३ | Feb 11, 2024
सेयर बजारमा साना लगानीकर्तालाई फसाइँदै, खराब वित्तीय विवरणका कम्पनीको मूल्य कसले उचालिरहेको छ?

काठमाडौं। सप्तकोशी विकास बैंकको सेयर मूल्य आइतबार १.८७ प्रतिशत बढेर प्रति कित्ता २६७ रुपैयाँ पुग्यो। नेप्से घटेको दिन पनि यो कम्पनीको मूल्य उकालो लाग्नुपर्ने कारण भने छैन।

Tata
GBIME

कम्पनीको वित्तीय विवरण खराब छ। चालु आर्थिक वर्ष दोस्रो त्रैमाससम्म कम्पनीको प्रति सेयर आम्दानी २८.५६ रुपैयाँ ऋणात्मक छ। ८३ करोड ४३ लाख चुक्ता पुँजी रहेको यो बैंकको रिजर्भ नै अहिले ३१ करोडभन्दा बढी ऋणात्मक छ।

वित्तीय अवस्था खराब भएपनि मूल्य बढेको सप्तकोशी विकास बैंकको मात्र होइन। घटेको बजारमा नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य प्रति कित्ता ३.९४ रुपैयाँले बढेर ४१९.९० रुपैयाँ पुग्यो।

यस कम्पनीको पनि वित्तीय विवरण राम्रो छैन। चालु वर्षको ६ महिनामा कम्पनी ६ करोड ३८ लाख रुपैयाँ घाटामा छ भने प्रति सेयर आम्दानी ४८.६६ रुपैयाँ ऋणात्मक छ। रिजर्भ पनि २२ करोड १८ लाख रुपैयाँ ऋणात्मक रहेको वित्तीय विवरणबाट देखिन्छ।

बाराही हाइड्रोपावरको सेयर प्रति कित्ता १३.९० रुपैयाँले बढ्यो। अन्तिम कारोबार मूल्य ५०९ रुपैयाँ कायम भएको छ। कम्पनीको वित्तीय अवस्था भने नाजुक छ। पुससम्म कम्पनी १२ लाख रुपैयाँ घाटामा छ। प्रति सेयर आम्दानी ०.९८ रुपैयाँ ऋणात्मक छ भने रिजर्भ पनि ऋणात्मक छ।

ङ्यादी हाइड्रोपावरको मूल्य पनि ०.१० रुपैयाँ बढेर प्रति कित्ता २८८ रुपैयाँ पुग्यो। डेढ अर्ब चुक्ता पुँजीको यो कम्पनीको रिजर्भ ४४ करोड ९४ लाख ९९ हजार रुपैयाँ ऋणात्मक छ।

चालु वर्ष दोस्रो त्रैमाससम्म कम्पनीको नाफा १० करोड ६४ लाख तथा प्रति सेयर आम्दानी १४.१८ रुपैयाँ ऋणात्मक छ। वित्तीय अवस्था नाजुक रहेपनि यो कम्पनीको सेयर भने पछिल्लो १ वर्षमा ३६६ रुपैयाँसम्म पुगेको देखिन्छ।

बलेफी हाइड्रोपावरको सेयर मूल्य आइतबार प्रति कित्ता ३ रुपैयाँ बढेर ३२६.५० रुपैयाँ पुग्यो। तर यसको वित्तीय विवरणबाट भने मूल्य बढ्नु पर्ने कारण देखिंदैन। बरु अहिलेको मूल्य नै धेरै हो भन्ने खालको विवरण छ।

१ अर्ब ८२ करोड चुक्ता पुँजीको कम्पनीको रिजर्भ ६० करोड २९ लाख र खुद नाफा १६ करोड ७२ लाख ऋणात्मक छ। प्रति सेयर आम्दानी १८.३ रुपैयाँ अणात्मक रहेको कम्पनीको सेयर मूल्य भने पछिल्लो १ वर्षमा प्रति कित्ता ३७० रुपैयाँसम्म पुगेको देखिन्छ।

प्रोग्रेसिभ फाइनान्स र समृद्धि फाइनान्स पनि वित्तीय विवरण हेर्दा लगानीकर्ताले पैसा खन्याउनुपर्ने कम्पनी होइनन्। तर यी दुवै कम्पनीको सेयर मूल्य स्वाभाविक खालको छैन। आइतबार मूल्यमा फेरबदल नभएको प्रोग्रेसिभ फाइनान्सको प्रति कित्ता भाउ ३१९ र समृद्धि फाइनान्सको ३०९ रुपैयाँ छ।

जबकि यो दुवै कम्पनीको प्रति सेयर आम्दानी ऋणात्मक छ। प्रोग्रेसिभको २४.९२ रुपैयाँ र समृद्धिको ५.२ रुपैयाँ ऋणात्मक रहेपनि भाउ उचाल्ने प्रयास भने रोकिएको छैन। आइतबार प्रोग्रेसिभको ३२६ र समृद्धिको ३१५ रुपैयाँसम्म पुर्‍याइएको थियो।

नेपाल वेयर हाउस, नेपाल रिपब्लिक मिडिया, द्धिव्यश्वरी हाइड्रोपावरको सेयर मूल्य पनि वित्तीय विवरण अनुसार स्वाभाविक खालको छैन। नेपाल वेयर हाउस सेयर अहिले प्रति कित्ता ७६५ रुपैयाँ छ जबकि यो कम्पनीको प्रति सेयर आम्दानी २६.७८ रुपैयाँ ऋणात्मक छ।

वित्तीय अवस्था खराब भएकैले यी दुवै कम्पनीको मूल्य विस्तारै ओरालो लाग्न थालेको छ। नेपाल वेयर हाउसको आइतबार प्रति कित्ता १२ र ११ रुपैयाँ भाउ घटेको छ। नेपाल रिपब्लिक मिडियाको सेयर मूल्य ४९२ रुपैयाँ पुगेकामा अहिले ३७४ रुपैयाँ छ।

रिर्जभ २७ करोड ३० लाख रुपैयाँ ऋणात्मक रहेको द्धिव्यश्वरी हाइड्रोपावरको सेयर चल्तीका वाणिज्य बैंकको भन्दा बढी रकममा कारोबार भइरहेको छ। यो कम्पनीको सेयर मूल्य अहिले २११ रुपैयाँ छ।

पछिल्लो डेढ वर्षयता सेयर बजार १८००–२२०० को विन्दुमाथि उक्लिन सकिरहेको छैन। वित्तीय अवस्था राम्रो भएका कम्पनीमा लगानीकर्ता आकर्षित देखिंदैनन्। तर, कमजोर वित्तीय विवरण भएकै कम्पनीको सर्वाधिक कारोबार भइरहेको छ। मूल्य पनि यी कम्पनीहरुको नै वृद्धि भइरहेको छ।

वाणिज्य बैंककै सेयर मूल्य डेढ सयसम्म झर्दा वित्तीय अवस्था नै नाजुक भएका कम्पनी बजारमा चम्किएको देखेर विश्लेषकहरु नै चकित छन् । ब्रोकरहरु पनि घटेको बजारमा खराब वित्तीय अवस्था भएका कम्पनीकै सेयर मूल्य उच्च हुनुलाई अस्वाभाविक भन्छन्।

वित्तीय विवरण खराब भएपनि सेयर भाउ चाहिं किन महँगो छ त? सेयर बजारका जानकार र ब्रोकरहरुका अनुसार सेयर सप्लाइ कम हुनु मूल्य महँगो हुनुको कारण हो।

सेयर सप्लाइ कम भएका कम्पनीको भाउ चलखेल गरेर बढाउने गरिएको उनीहरु बताउँछन्। ‘पब्लिकमा थोरै सेयर भएका सानो स्टक कम्पनीमा कहाँ प्ले गर्न सकिन्छ भनेर चलखेल भइरहेको छ,’ एक ब्रोकरले भने, ‘ती कम्पनीहरु हाइड्रोपावर, फाइनान्स, डेभलपमेन्ट बैंक लगायत केही अन्य सेक्टरका पनि छन्।’

उनका अनुसार कम्पनीको सेयर मूल्य एक दिन बढाउने र अर्को दिन बेच्ने ट्रेन्ड देखिएको छ। ‘कम्पनीको सेयर किनेपछि मूल्य बढ्ने नै भयो। आज किन्ने अनि त्यसलाई सर्किट लगाएर भोलि मूल्य बढाइ बेच्ने ट्रेन्ड देखियो,’ उनले भने ।

ब्रोकरको भनाइमा विश्लेषकहरु पनि सहमत छन्। कम्पनीको वित्तीय विवरण हेरेर लगानी गर्नेभन्दा ग्रुप बनाएर खेल्ने काम भइरहेको ती विश्लेषकले बताए।

‘थोरै सेयर भएका कम्पनीको सेयर मूल्य कसरी पोजेटिभ सर्किट लगाउने भनेर अचेल बजारमा ग्रुप बनाएरै लागिरहेको देखिन्छ। बजारमा खेल्ने काम धेरै भयो,’ उनले भने, ‘सेयरका खेलाडीहरुले थोरै सप्लाई भएको कम्पनीको सेयर किनेर माथि पुर्‍याउने काम गरिरहेका छन्। तर यसमा नियामक निकायले चासो दिएको देखिंदैन। जसका कारण सिधासाधा लगानीकर्ता फसिरहेका छन्।’