काठमाडौं। राइड सेयरिङ एप मार्फत् ट्याक्सी सेवा दिँदै आएको ट्याक्सीमाण्डुले बाइक सेवा पनि थपेको छ। सञ्चालनमा आएको ४ वर्षपछि ट्याक्सीमाण्डुले बाइक सेवा पनि संचालनमा ल्याएको हो।
बाइक सेवा सुरु गरेपछि राइडर तथा प्यासेन्जरबाट सकारात्मक प्रतिक्रिया पाइरहेको ट्याक्सीमाण्डुका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अर्जुन केसीले बताए। बाइक सेवा पनि थप्न ट्याक्सीमाण्डुलाई लामो समयदेखि माग आएको उनले बताए।
हाल एपमार्फत बाइक सेवा लिन चाहनेहरुलाई आफैं आफ्नो भाडा तोक्न मिल्ने सुविधा दिइएको छ। सेवाग्राहीले आफू जाने गन्तव्यको आफैंले उचित मूल्यमा भाडादर निर्धारित गर्न सक्ने कम्पनीले जनाएको छ।
ट्याक्सीमाण्डुले राइडर र प्यासेन्जरको बीमाको व्यवस्था पनि गरेको जनाएको छ। अहिले राइडहरुले बिना शुल्क ट्याक्सीमाण्डुमा दर्ता हुने अवसर पाउनेछन्। त्यस्तै हाललाई सेवा बापत् कुनै पनि कमिसन राखिएको छैन। पछि पनि एकदमै कम कमिसन राखिने केसीले बताए।
ट्याक्सीमाण्डुले अन्य कम्पनीहरुको तुलनामा निकै कम कमिसन लिने केसीको प्रतिबद्धता छ। कम्पनीले बढीमा १० प्रतिशतमात्रै कमिसन लिने उनले बताए।
एपमा परिमार्जन गरेर केही थप फिचर्सहरु पनि समावेश गरिएको कम्पनीले जनाएको छ। जसमध्ये ‘इन एप कलिङ’ फिचर पनि एक हो। यो फिचरमार्फत् चालक तथा प्यासेन्जरले भ्वाइस वा च्याटबाट एकअर्कामा सम्पर्क गर्न सक्नेछन्। यो फिचरका कारण अब चालक र प्यासेन्जरले एक अर्कालाई फोन गरिराख्नु नपर्ने कम्पनीले जनाएको छ।
चालक र प्यासेन्जरलाई सुविधा दिने क्रममा ट्याक्सीमाण्डुले स्वास्थ्य सेवामा पनि ध्यान दिएको जनाएको छ। ट्याक्सीमाण्डु एप प्रयोग गर्नेहरुले एप देखाएकै आधारमा सुमेरु अस्पतालमा १५ प्रतिशत छुट पाउने केसीले बताए। यसबाट राइडर्सका परिवारले पनि १० प्रतिशत छुट पाउनेछन्।
यो सुविधा देशका अन्य सहरहरुमा पनि क्रमशः विस्तार गर्दै लग्ने कम्पनीले जनाएको छ।
सरकारले केही दिन अघिमात्रै राइड सेयरिङलाई सेवामूलक उद्योगको मान्यता दिएको थियो। औद्योगिक व्यवसाय ऐन, २०७६ मा संशोधन गर्दै सरकारले राइड सेयरिङलाई सेवामूलक उद्योगको मान्यता दिएको हो।