हिराको अन्तर्राष्ट्रिय ब्राण्ड आजाया नेपालमा, ६६ लाख रुपैयाँसम्म पर्ने गहना दरबारमार्गको आउटलेटमा

बिजमाण्डू
२०८० माघ २३ गते १६:१६ | Feb 6, 2024
हिराको अन्तर्राष्ट्रिय ब्राण्ड आजाया नेपालमा, ६६ लाख रुपैयाँसम्म पर्ने गहना दरबारमार्गको आउटलेटमा

काठमाडौं। हिराको अन्तर्राष्ट्रिय ब्रान्ड अजायाले नेपालमा आउटलेट खोलेको छ। दुवईको अल अलि समूहसँग व्यवसायिक साझेदारी गर्दै अजायाको आउटलेट नेपालमा खुलेको हो।

Tata
GBIME
NLIC

अजाया नेपाल र अल अलिबीच मंगलबार व्यवसायिक साझेदारीको घोषणा भएको हो। अजाया नेपालले दरबारमार्गमा खोलेको आउटलेटमा ६६ लाख रुपैयाँसम्म पर्ने हिराको गहना बिक्रीका लागि राखेको छ।

अल अलि ग्रुपका कार्यकारी अध्यक्ष याकुब अल अलि र अजाया नेपालका राकेश कुमार अडुकिया समझदारीपत्रमा हस्ताक्षर गरे। अडुकियाले दुवईमा विभिन्न पर्यटकीय क्षेत्रमा लगानी गरेको समूहले नेपालमा पनि सम्भाब्यता अध्ययन गरिरहेको जानकारी दिए।

‘दुवईका विभिन्न पर्यटकीय क्षेत्रमा यो समूहको लगानी छ। यो समूहले यहाँ पनि लगानीको सम्भावना हेरिरहेको छ,’ उनले भने, ‘लगानीवाहेक पनि दुवईबाट हाइ इन्ड पर्यटक ल्याउनका लागि पनि सहजीकरण गर्न खोजेका छौं।’

‘अजाया हामीले डायमन्डमा हासिल गरेको विशेषज्ञताका आधारमा अघि बढाइएको ब्रान्ड हो । यसलाई नेपालमा मात्रै नभएर विश्व बजारमै स्थापित गर्ने लक्ष्य लिएका छौँ,’ उनले भने,’अल अलि ग्रुपसँगको यो साझेदारीले लगानी र विशेषज्ञतालाई एकै ठाउँमा ल्याउने काम गरेकको छ। यो नेपाली ब्रान्ड छोटो समयमै विश्व बजारमा स्थापित हुने अपेक्षा गरेका छौं।’

अल अलीका अध्यक्ष याकुबले नेपालको पर्यटन क्षेत्रमा लगानी गर्ने चाहनालाई मूर्त रुप दिन समझदारी कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे।

‘नेपालको पर्यटन क्षेत्रमा हामीले ठूलो सम्भावना देखेका छौं। हामी पर्यटन र अतिथि सत्कार क्षेत्रको लामो अनुभवलाई नेपालमा पनि लगानी गर्न चाहन्छौं, उनले भने,’आजको समझदारी र अजायासँगको हातेमालोले हामीलाई निकै उत्साहित बनाएको छ।’