
काठमाडौं। हट एयर बेलुन सेवा प्रदायक कम्पनी बेलुन नेपाललाई पर्यटन मन्त्रालयले थप ६ हजार फिट उचाईमा उडानका लागि स्वीकृति दिएको छ।
यसअघि ३ हजार फिट माथिसम्म मात्रै उडान गर्दै आएको कम्पनीलाई मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट ९ हजार फिट उचाईमा उडान गर्न स्वीकृति दिएको हो।
उचाई विस्तारसँगै पोखराको लौरुकदेखि चंखपुर क्षेत्रमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टावर फ्रिक्वेन्सी निरन्तर अनुगमन गर्दै संचालनका लागि स्वीकृति दिइएको मन्त्रालयका एटीसी अधिकृत मुकेश डंगोलले जानकारी दिए।
कम्पनीका अध्यक्ष विक्रम बादेले अन्नपूर्ण हिमशृङ्खला, पोखरा आसपासका दृश्य तथा सूर्योदय र सूर्यास्तको दृश्यावलोकनमा अब पर्यटक अझै रमाउन सक्ने बताए।
‘उडान स्थलको प्राविधिक जाँच र हाल उडानमा रहेको बेलुनको उत्पादक कम्पनीको फ्लाइट म्यानुअल समेतको अध्ययन पछि अनुमति पाएका छौं,’ बादेले भने, ‘अब पर्यटकका लागि यो उडान थप प्रभावकारी हुने आशा लिएका छौं।’
हाल पोखरामा मात्र यो साहसिक खेल संचालित छ। २१ मिटर अग्लो बेलुनको तल्लो भागमा ३२ वर्गमिटरको बास्केट जडित छ। एक पटकमा आठ जनाले सेवा लिन सक्ने यो खेल आधा घण्टाको हो।
नेपाली पर्यटकका लागि जनही ९ हजार ५०० सय रुपैयाँ मूल्य निर्धारण गरिएको छ।